वीरगञ्ज । नेपाली काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानको म्याद अर्को सूचना जारी नभएसम्मका लागि थप गरेको छ । यसअघि बिहीबार राति १२ बजेसम्म समयसीमा तोकिएको थियो ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार नयाँ क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक कार्य अब अर्को सूचना नआएसम्म खुला रहनेछ ।
काँग्रेसका अनुसार अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका छन् । त्यस्तै, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयं अद्यावधिक फाराम पेस गरिसकेका छन् र उनीहरूको विवरण वडा सभापतिमार्फत प्रणालीमा अद्यावधिक हुने प्रक्रियामा रहेको जनाइएको छ ।
इन्टरनेट पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने काँग्रेसले जनाएको छ ।
काँग्रेसले सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यसहित अनलाइन माध्यमबाट अद्यावधिक अभियान सञ्चालन गर्दै आएको छ । विगतमा सदस्यहरूको नामबाहेक अन्य विवरण व्यवस्थित रूपमा अभिलेखीकरण नभएको अवस्थामा अब डिजिटल प्रणालीमार्फत आधारभूत विवरण सङ्कलन र अद्यावधिक गर्ने कार्य अघि बढाइएको पार्टीले जनाएको छ ।
अभियानले पार्टीको सदस्यता व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र आधुनिक बनाउने अपेक्षा गरिएको छ ।