×

वीरगञ्ज । नेकपा (एमाले)बाट निर्वाचित भई दल परित्याग गरेर अन्य राजनीतिक दलमा प्रवेश गरेका ८ जना वडाध्यक्ष पदमुक्त भएका छन्।

निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम उनीहरूको पद रिक्त भएको जानकारी दिएको हो। उक्त व्यवस्थाअनुसार निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको राजनीतिक दल त्यागेमा उसको पद स्वतः रिक्त हुने प्रावधान रहेको छ।

पदमुक्त हुनेमा ओखलढुंगाको मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमलबहादुर बानिया, मोलुङ गाउँपालिका–६ का कमल तामाङ, चम्पादेवी गाउँपालिका–७ का सुरेशकुमार थापा तथा पाल्पाको माथागढी गाउँपालिका–१ का राजकुमार पन्थी रहेका छन्।

त्यसैगरी ललितपुरको बागमती गाउँपालिका–७ का होमप्रसाद बजगाईं, मोरङको लेटाङ नगरपालिका–४ का रामकुमार श्रेष्ठ, रंगेली नगरपालिका–१ का महेशकुमार खनाल तथा दाङको घोराही उपमहानगरपालिका–४ का मधुसूदन शर्मा पनि पदमुक्त भएका छन्।

निर्वाचन आयोगका अनुसार नेकपा (एमाले) केन्द्रीय सचिवालयको निर्णय तथा सिफारिसका आधारमा आयोगले मंगलबार नै सम्बन्धित जनप्रतिनिधिहरूको पद रिक्त गर्ने निर्णय गरिसकेको थियो। सोही निर्णयअनुसार बुधबार औपचारिक सूचना प्रकाशित गरी उनीहरू पदमुक्त भएको जानकारी सार्वजनिक गरिएको हो।

राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार दल परिवर्तन गर्ने निर्वाचित जनप्रतिनिधिको पद स्वतः रिक्त हुने प्रावधान कार्यान्वयनमा ल्याइएकाले सम्बन्धित स्थानीय तहमा अब कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।

Back to top