×

वीरगञ्ज ।  नेपाली काँग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई क्रियाशील सदस्यता समयमै अद्यावधिक गर्न आग्रह गरेका छन् । उनले बुधवार विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद आज राति १२ बजे समाप्त हुने जानकारी दिएका हुन् ।

पौडेलका अनुसार अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ जना सदस्यमध्ये बुधवारसम्म ४ लाख ५७ हजार ३६६ जनाले सदस्यता अद्यावधिक गरिसकेका छन् । त्यस्तै, १ लाख २४ हजार ७४८ जना सदस्यले अद्यावधिक फारम पेस गरी प्रक्रियामा रहेका छन् ।

काँग्रेसले पार्टीको आन्तरिक प्रणालीलाई प्रविधिमैत्री बनाउँदै वास्तविक सदस्यहरूको तथ्याङ्क एकीकृत गर्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेको जनाएको छ ।

महामन्त्री पौडेलले निर्धारित समयभित्रै सदस्यता अद्यावधिक गरी पार्टीको सङ्गठनात्मक व्यवस्थापनलाई सुदृढ बनाउन सबैलाई सहयोग गर्न अपिल गरेका छन् ।

Back to top