×

वीरगञ्ज । वर्षौँदेखि व्यक्तिको कब्जामा रहेको वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित ७ कट्ठा १५ धुर जग्गा सार्वजनिक कायम गर्न पर्सा जिल्ला अदालतले आदेश दिएको छ ।

रामजानकी मठ परिसरभित्र रहेको कित्ता नम्बर ३७ को उक्त जग्गालाई सार्वजनिक कायम गर्न न्यायाधीश माधव प्रसाद घिमिरेको एकल इजलासले निर्णय गरेको हो ।

प्रदीप कुमार रौनियारले सो जग्गा आफ्नो भएको दाबी गर्दै दायर गरेका पाँच वटा मुद्दामा वादीको दाबी नपुगेको ठहर गर्दै अदालतले ती मुद्दा खारेज गरेको छ । साथै, जग्गा सार्वजनिक कायम गर्न माग गर्दै दायर गरिएका नौ वटा मुद्दामा दाबी पुग्ने ठहर गर्दै अदालतले जग्गा तत्काल सार्वजनिक कायम गर्न आदेश दिएको अधिवक्ता दिननाथ प्रसाद साहले जानकारी दिए ।

उनका अनुसार जग्गा खिचलो लगायत विभिन्न शीर्षकमा दायर गरिएका कुल १४ वटा मुद्दाको एकैसाथ सुनुवाइ गर्दै अदालतले उक्त निर्णय सुनाएको हो ।

रौनियारका तर्फबाट अधिवक्ता मोहम्मद नौसाद, पन्नालाल गुप्ता, जोगिन्द्र यादव र सन्तोष श्रीवास्तवले बहस गरेका थिए भने सार्वजनिक कायम गर्नुपर्ने पक्षका तर्फबाट अधिवक्ता दिननाथ प्रसाद साहले बहस गरेका थिए ।

मुद्दाको लिखित फैसला आउन करिब एक महिना लाग्ने स्रोतले जनाएको छ । फैसला सार्वजनिक भएपछि रौनियारले चाहेमा उच्च अदालत वीरगञ्ज इजलासमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था रहेको बताइएको छ ।

Back to top