वीरगञ्ज । पर्साका ग्रामीण भेगमा रहेका सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्या उल्लेखनीय रूपमा घट्दै गएको पाइएको छ। शिक्षा क्षेत्रमा सक्रिय व्यक्तिहरूका अनुसार गुणस्तरीय शिक्षाको अभाव, निजी विद्यालयप्रतिको बढ्दो आकर्षण, बसाइँसराइ, जन्मदरमा कमी तथा विद्यालय व्यवस्थापनका कमजोरीहरू विद्यार्थी सङ्ख्या घट्नुका प्रमुख कारण बनेका छन्।
पूर्वशिक्षक नागेन्द्र कुर्मीका अनुसार विगतको तुलनामा अभिभावकहरूमा शैक्षिक चेतना बढेको छ। अभिभावकहरूले आफ्ना बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीसहित विद्यालय पठाउने प्रवृत्ति बढेको छ भने शिक्षकहरू पनि शिक्षक सेवा आयोगमार्फत छनोट भई आएकाले विद्यालयमा नयाँ उत्साह देखिएको छ।
तर, पर्साका ग्रामीण क्षेत्रका माध्यमिक विद्यालयहरूको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा अपेक्षित सुधार नदेखिएकाले चिन्ता थपिएको उनले बताए। शिक्षाविद्हरूले समयमै सुधारका कार्यक्रम लागू नगरिए कतिपय विद्यालय विद्यार्थी अभावकै कारण अस्तित्व सङ्कटमा पर्न सक्ने चेतावनी दिएका छन्।
शिक्षक राजनारायणका अनुसार अझै पनि धेरै अभिभावकले बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीविना विद्यालय पठाउने गरेका छन्। “कापी, किताब तथा गृहकार्यका सामग्री नियमित रूपमा नल्याउँदा शिक्षण–सिकाइ प्रक्रियामा समस्या भइरहेको छ। यस विषयमा अभिभावकहरू अझ जिम्मेवार बन्न आवश्यक छ,” उनले बताए।
अभिभावकहरू आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउने उद्देश्यले निजी विद्यालयतर्फ आकर्षित भइरहेका छन्। अङ्ग्रेजी माध्यम, नियमित पठनपाठन, अनुशासन तथा प्रभावकारी व्यवस्थापनका कारण निजी विद्यालय रोज्ने क्रम बढ्दै गएको छ। निजी विद्यालयमा शिक्षकहरू नियमित र अनुशासित रूपमा शिक्षण कार्यमा संलग्न हुने गरेका कारण अभिभावकहरूको विश्वास बढेको देखिन्छ।
धेरै सामुदायिक विद्यालयमा शिक्षकको नियमित उपस्थिति, सिकाइ उपलब्धि तथा शैक्षिक वातावरणप्रति अभिभावक सन्तुष्ट छैनन्। कतिपय स्थानमा शिक्षक समयमै विद्यालय नआउने वा चाँडै फर्किने गुनासोसमेत रहेकाले अभिभावकको विश्वास कमजोर बन्दै गएको छ।
ग्रामीण क्षेत्रका परिवारहरू रोजगार, व्यापार तथा राम्रो शिक्षाको खोजीमा वीरगञ्ज, काठमाडौंलगायतका शहरी क्षेत्रमा बसाइँसराइ गरिरहेका छन्। यसका कारण गाउँका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या निरन्तर घटिरहेको स्थानीयवासीहरू बताउँछन्। गाउँमा अवसरको अभाव र विभिन्न सामाजिक समस्याले पनि बसाइँसराइलाई बढावा दिएको उनीहरूको भनाइ छ।
पछिल्ला वर्षहरूमा परिवार नियोजनप्रतिको बढ्दो सचेतना र जनसङ्ख्या वृद्धिदरमा आएको कमीका कारण विद्यालय जाने उमेर समूहका बालबालिकाको सङ्ख्या पनि घट्दै गएको छ। यसले विद्यालय भर्नादरमा प्रत्यक्ष असर पारेको छ।
शिक्षा क्षेत्रमा सुधारका लागि विद्यालय व्यवस्थापन र शिक्षक दुवै पक्षको भूमिका प्रभावकारी हुनुपर्ने सरोकारवालाहरूको भनाइ छ। कतिपय विद्यालयमा राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, शिक्षक अभाव तथा जिम्मेवारीबोधको कमीले विद्यालयप्रतिको विश्वास कमजोर बनाएको उनीहरू बताउँछन्।
त्यसैगरी, धेरै विद्यालयमा कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय, खेलकुद सामग्रीलगायतका आधारभूत शैक्षिक सुविधाको अभाव रहेको छ। कतिपय विद्यालयमा पर्याप्त भवन भए पनि शौचालय, खानेपानी, विद्युत् तथा गर्मी मौसममा आवश्यक पङ्खाजस्ता सुविधाको कमी रहेको स्थानीयहरूको गुनासो छ।
विद्यालय समायोजन, विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी निर्धारण तथा केही विद्यालयलाई गाभ्ने सरकारी नीतिले पनि विद्यार्थी सङ्ख्या घट्दै गएको तथ्याङ्कले देखाउन थालेको छ। साथै भारतसँग सीमा जोडिएका पर्साका केही क्षेत्रमा अभिभावकहरूले आफ्ना बालबालिकालाई भारतीय विद्यालयमा अध्ययनका लागि पठाउने गरेका कारण पनि स्थानीय सामुदायिक विद्यालय प्रभावित भएका छन्।
शिक्षाविद्हरूका अनुसार सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा, प्रभावकारी व्यवस्थापन, आधुनिक शैक्षिक सुविधा तथा अभिभावकको विश्वास बढाउने कार्यक्रम लागू गर्न सकिए विद्यार्थी आकर्षण पुनः बढाउन सकिनेछ। अन्यथा विद्यार्थी अभावकै कारण कतिपय विद्यालयको भविष्य नै सङ्कटमा पर्न सक्ने चेतावनी उनीहरूले दिएका छन्।