वीरगञ्ज । रौतहटमा एक नेपाली र चार भारतीय नागरिकविरुद्ध जबरजस्ती सामूहिक करणी (बलात्कार) गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
एक २२ वर्षीय युवतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार पाँच जनाविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएको हो ।
प्रहरी स्रोतका अनुसार गौरस्थित होटेल सुषमा प्यालेसबाट पक्राउ परेका स्थानीय २५ वर्षीय सन्तोषकुमार राउत तथा भारतीय नागरिक मोहम्मद ताजुदिन, जितेन्द्र कुमार, हसमिन आलमसहित पाँच जनाविरुद्ध अनुसन्धान भइरहेको छ । जिल्ला अदालत रौतहटले उनीहरूलाई अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।
हाल पाँचै जना जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार दिउँसो गौरस्थित होटेल सुषमा प्यालेसमा एक युवतीलाई बन्धक बनाई सामूहिक रूपमा जबरजस्ती करणी भइरहेको भन्ने सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यस क्रममा घटनामा संलग्न रहेको आरोपमा पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पीडित युवतीको प्रादेशिक अस्पताल गौरमा स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ । घटनासम्बन्धी थप तथ्य तथा प्रमाण अनुसन्धानका क्रममा खुल्ने प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै निष्पक्ष र गहन अनुसन्धान भइरहेको तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही अघि बढाइने जनाएको छ ।