×

वीरगञ्ज । श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा आगामी असार ३२ गते हुने मधेस प्रदेशकै ऐतिहासिक तथा जनआस्थाको केन्द्र श्री गहवा माईको चौथो विशाल रथ यात्रालाई लक्षित गर्दै तयार पारिएको भक्तिमय भजन ‘सोनवा के रथ गहवा माई के’ को डिजिटल भिडियो मङ्गलवार वीरगञ्जस्थित माईस्थान मन्दिर परिसरमा आयोजित विशेष समारोहबिच सार्वजनिक गरिएको छ ।

गहवा माईप्रतिको आस्था, श्रद्धा र भक्ति भावलाई समेटेर तयार गरिएको उक्त भजनमा वीरगञ्जका उदयमान युवा गायक चन्दन पण्डितले आफ्नो स्वर दिएका छन् । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको भजनले गहवा माईको महिमा देश–विदेशसम्म फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

भजन सार्वजनिक कार्यक्रममा आयोजकहरूले सम्पूर्ण भक्तजनलाई ‘चन्दन पण्डित अफिसियल’युट्युब च्यानलमार्फत भजन हेर्न, सुन्न तथा सामाजिक सञ्जालमार्फत व्यापक रूपमा साझा गरी गहवा माईको धार्मिक महिमा फैलाउन आग्रह गरेका छन् ।

भजन विमोचन कार्यक्रम श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलको अध्यक्षतामा तथा समाजसेवी प्रकाश उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा श्री गहवा माई रथ यात्रा–२०८३ का संयोजक वसन्त कुमार गुप्ता, समितिका सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता), विद्वान पण्डित एवं ज्योतिषी राजीव रञ्जन भारद्वाज, समितिका पदाधिकारी, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले गहवा माईको रथ यात्रा वीरगञ्जको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण पर्व भएको उल्लेख गर्दै यसको संरक्षण, प्रवर्द्धन तथा सफल आयोजनाका लागि सम्पूर्ण समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

समितिका अनुसार आगामी असार ३२ गते आयोजना हुने चौथो विशाल रथ यात्रामा हजारौँ श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ । रथ यात्रालाई सभ्य, भव्य र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारीलाई तीव्रता दिइएको समितिले जनाएको छ ।

Back to top