क्रोएसिया विश्वकप २०२६ का लागि छनोट भएको छ। युरोपेली छनोटको समूह ‘एल’ अन्तर्गत फारो आयरल्याण्डलाई ३-१ ले हराउँदै क्रोएसिया विश्वकपका लागि छनोट भएको हो।
फारोले जेजा डेविडको गोलले अप्रत्याशित अग्रता लिएयता पनि क्रोएसियाका लागि जोस्को ग्वार्डिओल, पिटर मुसा र निकोला भ्लासिचले गोल गर्दै जित निश्चित गरे। यसै समूहमा मोन्टेनेग्रोले जिब्राल्टरलाई ३-१ ले हरायो। आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा स्थान पक्का गर्न टोलीको संख्या ३० पुगिसकेको छ। एसिया ८ टोलीले विश्वकपमा स्थान पक्क गरिसकेका छन् भने अफ्रिकाबाट पनि ९ टोली विश्वकपमा पुगेका छन्। दक्षिण अमेरिकाबाट ६ टोलीले विश्वकपमा स्थान बनाउँदा युरोप २ र ओसिनियाबाट १ टोली विश्वकपमा पुगेका छन्।
आयोजक ३ टोलीले स्वतः विश्वकपमा स्थान बनाएका थिए। अब उत्तर अमेरिकाबाट ३ टोली, युरोपबाट १४ टोली र अन्तरमहादेशी प्ले अफबाट २ टोली छनोट हुन बाँकी छ। प्लेअफमा युरोपबाहेक एसिया, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र ओसिनियाबाट १–१ टोली पुग्नेछन्। विश्वकपमा एसियाबाट ८ टिम छनोट हुने प्रावधान छ। अफ्रिकाबाट ९ टिम, उत्तर अमेरिकाबाट ६ टिम, दक्षिण अमेरिकाबाट ६ टिम, ओसिनियाबाट १ टिम र युरोपबाट १६ टिम गरी कुल ४६ टिम छनोट हुनेछन्। यस्तै युरोपबाहेक अरु क्षेत्रका लागि प्लेअफ कोटा पनि हुनेछ। दुई टिम अन्तरमहादेशीय प्लेअफबाट छनोट हुने प्रावधान छ।