×

वीरगञ्ज । वीरगञ्जमा आयोजित नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ। आइतबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै कोशी प्रदेशले उपाधिमाथि कब्जा जमाएको हो।

कोशी प्रदेशले दिएको ९९ रनको लक्ष्य पछ्याएको एपीएफ क्लब १९ दशमलव ५ ओभरमा सबै खेलाडी गुमाउँदै ८७ रनमै समेटियो। एपीएफका लागि कविता जोशीले सर्वाधिक १४ रन बनाइन्। रेवती धामीले १२ तथा ममता चौधरीले ९ रनको योगदान दिइन्।

कोशी प्रदेशका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै एपीएफलाई लक्ष्यसम्म पुग्न दिएनन्। रुबिना चन्दले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन्। रिया शर्मा र निरु राजवंशीले समान २–२ विकेट लिएर टोलीको जित सुनिश्चित गरे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको थियो। टोलीका लागि काजल श्रेष्ठले सर्वाधिक ३८ रनको महत्वपूर्ण इनिङ्स खेलिन्। प्रिन्सा रानामगरले १६ तथा रुबिना क्षेत्रीले १२ रनको योगदान दिइन्।

एपीएफका तर्फबाट सबनम राई, सुमन विष्ट र सीता रानामगरले समान एक–एक विकेट लिए।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत कोशी प्रदेशकी काजल श्रेष्ठ खेलको उत्कृष्ट खेलाडी घोषित भइन्।

उपाधिसँगै कोशी प्रदेशले ट्रफी, पदक तथा नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

प्रतियोगिताको समापन समारोहमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादवले विजेता तथा उपविजेता टोलीका खेलाडीलाई ट्रफी, पदक र पुरस्कार वितरण गरेका थिए।

Back to top