×

रौतहट । रौतहटको राजदेवी नगरपालिका–९, ब्रह्मपुरीस्थित बागमती नदी किनारमा पुनः गिट्टी–बालुवा उत्खनन गरिएको भन्दै स्थानीय समाजसेवी शैलेन्द्र सिंहले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले यस कार्यले नदी नियन्त्रण संरचना कमजोर हुने र वर्षायाममा ठूलो विपद् निम्तिन सक्ने चेतावनी दिनुभएको छ।

समाजसेवी सिंहका अनुसार असार ८ गते बागमती नदी किनारबाट पुनः गिट्टी–बालुवा उत्खनन गरिएको हो। यस विषयमा स्थानीय प्रशासन, राजदेवी नगरपालिका तथा नदी नियन्त्रण कार्यालय मौन बसेको आरोप लगाउँदै उहाँले सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठाउनुभएको छ।

उहाँले विगत करिब एक दशकदेखि ठोकर निर्माण तथा बाँध मर्मतका नाममा केही ठेकेदार, बिचौलिया र सम्बन्धित पक्षबीच मिलेमतो भई विकास बजेटको दुरुपयोग हुँदै आएको दाबी गर्नुभएको छ। नदीबाट जथाभावी गिट्टी–बालुवा उत्खनन गरिँदा बाँध कमजोर बन्ने र वर्षायाममा बागमती, लालबकैया तथा झाँझ नदीमा आउने बाढीका कारण बाँध भत्किने जोखिम बढ्ने उहाँको भनाइ छ।

समाजसेवी सिंहले बाँध क्षतिग्रस्त भए ब्रह्मपुरीसहित आधा दर्जनभन्दा बढी गाउँ तथा सदरमुकाम गौरसमेत डुबानको उच्च जोखिममा पर्न सक्ने उल्लेख गर्नुभएको छ। विशेषगरी आर्थिक तथा सामाजिक रूपमा कमजोर दलित समुदाय यसबाट सबैभन्दा बढी प्रभावित हुने उहाँले बताउनुभयो।

उहाँले संघीय सरकारसँग घटनाको निष्पक्ष छानबिन, नदी उत्खनन तत्काल रोक्न, संलग्न दोषीमाथि कानुनी कारबाही गर्न तथा नदी संरक्षणका लागि प्रभावकारी कदम चाल्न माग गर्नुभएको छ।

यद्यपि, यस विषयमा स्थानीय प्रशासन, राजदेवी नगरपालिका, नदी नियन्त्रण कार्यालय तथा अन्य सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। समाचार तयार पार्दासम्म सम्बन्धित निकायहरूले आरोपबारे कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

Back to top