जारी विश्वकप फुटबलमा तीनवटै आयोजक राष्ट्रसहित पूर्व विश्वविजेता ब्राजिल, जर्मनी, फ्रान्स र अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेका छन्।
स्पेन, उरुग्वे र इङल्याण्डजस्ता पूर्व विश्वविजेताहरू छनोटका सँघारमा छन्। स्पेनले उरुग्वेलाई हराएमा विश्वकपको जन्मदाता एवं पहिलो विश्वकप विजेता उरुग्वे समूहचरणबाटै बाहिरिनेछ।
समूह ‘ए’बाट विजेताका रूपमा सहआयोजक मेक्सिको नकआउट चरणमा पुग्दा समूह ‘ए’को उपविजेता दक्षिण अफ्रिका बन्यो।
यो समूहमा ३ अंक सहित तेस्रो स्थानमा रहेको दक्षिण कोरिया उत्कृष्ट तेस्रोको ८ वटाको सूचीमा अटाइन्छ कि भनेर प्रतीक्षा गरिहेको छ।
समूह ‘बी’बाट स्वीजरल्याण्ड ७ अंक जोड्दै पहिलो भयो भने दोस्रो स्थानको क्यानडाको ४ अंक रह्यो। क्यानडाकै जति समान ४ अंक भए पनि गोल अन्तरमा पछि परेको बोस्निया हर्जगोविना उत्कष्ट तेस्रोको सूचीमा रहँदै अन्तिम ३२ मा अटायो।
समूह ‘सी’बाट ५ पटकको विश्वकप विजेता ब्राजिल र मोरक्को अन्तिम ३२ मा प्रवेश गरे। समूह ‘सी’बाट स्कटल्याण्डको ३ अंक भएकाले उसको पनि झिनो सम्भावना अझै छ।
समूह ‘डी’बाट आयोजक अमेरिका लगातार २ खेल जित्दै पहिल्यै अन्तिम ३२ मा पुगिसकेको छ। अन्तिम खेल हारे पनि अमेरिका ६ अंक सहित समूह विजेता बन्यो। यो समूहमा अष्ट्रेलिया र पराग्वेको समान ४–४ अंक भए पनि गोल अन्तरका अष्ट्रेलिया समूह उपविजेता बन्दै अघि बढ्यो। गोल अन्तर बढी हुँदा पराग्वे उत्कृष्ट ८ तेस्रो स्थानका लागि बलियो दाबेदार हो।
समूह ‘ई’बाट जर्मनी र आइभरी कोष्ट अर्को चरणमा पुग्दा इक्वेडर पनि त्यही समूहबाट ४ अंक सहित उत्कृष्ट ८ तेस्रो हुने टोलीसँग मिसिने सँघारमा छ।
समूह ‘एफ’बाट नेदरल्याण्ड्स ७ अंक सहित पहिलो र जापान ५ अंक सहित दोस्रो स्थानमा रहँदै अन्तिम ३२ मा पुगे। समूह एफबाट ४ नै अंक जोडेको स्वीडेन उत्कृष्ट तेस्रो हुने टोली बन्दै विश्वकपको नकआउट राउण्डमा पुगेको छ।
समूह ‘जी’बाट अहिलेसम्म विश्वकपमा स्पष्ट रूपमा कुनै देश अर्को चरणमा पुगेका छैनन्। यद्यपि यो समूहमा इजिप्ट ४ अंक सहित शीर्ष स्थानमा छ । इरान र बेल्जियमको समान २–२ अंक छ भने न्युजिल्याण्डको मात्र १ अंक छ।
समूह ‘एच’बाट स्पेन ४ अंक सहित पहिला स्थानमा रहँदा उरुग्वे र केपे भेर्डेको २–२ अंक छ। साउदी अरेबियाको १ अंक छ। यो समूहबाट पनि कुन कुन टिम अर्को राउण्डमा जाने पूरै टुङ्गो लागेको छैन।
विश्वकप फुटबलको अन्तिम ३२ मा फ्रान्स र नर्वे प्रवेश गरेका छन्। उनीहरू एक खेलअगावै नकआउट चरणमा पुगेका हुन्। समूह ‘जे’बाट अर्जेन्टिना पनि एक खेल अघि नै नकआउट चरणमा प्रवेश गरेको छ।
यस्तै समूह ‘के’बाट लगातार २ खेल जित्दै कोलम्बिया पनि अन्तिम ३२ मा पुगेको छ।
हाइटी, टर्की, ट्युनेसिया, जोर्डन, पानामा, कतार, चेक गणतन्त्र र कुरासाओ पहिलो चरणबाटै बाहिरिसकेका छन्।