×

लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले हालै भएको व्यापार सम्झौताको फाइदा उठाउन भारत भ्रमण गर्नुअघि भारतीयहरूका लागि भिसा नियमहरू खुकुलो नपार्ने बताएका छन्। 

सुस्त अर्थतन्त्र सुधार गर्न र बेलायतमा लगानी बढाउने लक्ष्यका साथ उनी १०० भन्दा बढी उद्यमी, सांस्कृतिक नेता र विश्वविद्यालयका उपकुलपतिहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जाँदै छन्।

प्रधानमन्त्री स्टार्मरले भारतसँग व्यापारिक र सांस्कृतिक सम्बन्ध सुधार्ने ‘ठुलो अवसर’ रहेको बताए। तर उनले भारतीय कामदार वा विद्यार्थीहरूका लागि थप भिसा मार्गहरू खोल्ने कुनै योजना नभएको स्पष्ट पारे।

उनले भने, ‘मुद्दा भिसाको होइन। यो त व्यवसाय-व्यवसाय सहभागिता, लगानी, रोजगारी र बेलायतमा समृद्धि ल्याउने कुरा हो।’

जुलाईमा बेलायत र भारतबिच व्यापार सम्झौता भएको थियो, जसले बेलायतको कार र ह्विस्की भारत निर्यात गर्न सस्तो बनाउनेछ, भने भारतीय कपडा र गरगहना बेलायत निर्यात गर्न सस्तो हुनेछ। यद्यपि, लेबर सरकार अध्यागमनको स्तर घटाउन चाहन्छ।

प्रधानमन्त्री स्टार्मरले मुम्बई जाने क्रममा पत्रकारहरूसँग कुरा गर्दै भिसाको मुद्दाले व्यापार सम्झौतामा ‘कुनै भूमिका नखेलेको’ बताए। भ्रमणका क्रममा स्टार्मरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ। 
बीबीसी

Back to top