वीरगञ्ज । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी ट्युसन सेन्टरको छत भत्किँदा कम्तीमा १४ बालबालिकाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।
मङ्गलवार लाहोर नजिकैको काहना क्षेत्रमा उक्त दुर्घटना भएको हो । दुर्घटनाका बेला दर्जनौँ बालबालिका ट्युसन कक्षामा अध्ययनरत रहेका थिए । त्यही क्रममा भवनको छत अचानक भत्किएर उनीहरू भग्नावशेषमा पुरिएका थिए ।
उद्धार सेवा ‘रेस्क्यु ११२२’ का प्रवक्ता फारुक अहमदका अनुसार हालसम्म १४ जनाको शव निकालिएको छ । घटनास्थलमा अझै पनि उद्धार कार्य जारी रहेकाले भग्नावशेषमा अन्य व्यक्ति फसेको हुन सक्ने आशङ्का गरिएको छ ।
लाहोरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) फैसल कामरानका अनुसार प्रारम्भिक अनुसन्धानमा भवनको केही भाग निर्माणाधीन रहेको खुलेको छ । मजदुरहरूले काम गरिरहेकै बेला छत भत्किएको प्रारम्भिक विवरणमा उल्लेख छ । घटनापछि भवन निर्माणमा संलग्न ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
घटनाप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतक बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी र गुणस्तरीय उपचार सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
निर्दोष बालबालिकाको ज्यान जाने यस घटनाले निर्माणाधीन भवनमा सुरक्षा मापदण्डको पालना, निर्माण कार्यको गुणस्तर तथा शैक्षिक संस्थाको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ । यस्ता दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायले सुरक्षा व्यवस्थामा कडाइ गर्नुपर्ने आवश्यकता पुनः उजागर भएको छ ।