×

वीरगञ्ज । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अदालतले मृत्युदण्डको सजाय सुनाएको केही महिनापछि उनले यस्तो अभिव्यक्ति दिएकी हुन् ।

७८ वर्षीय हसिना सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको जनआन्दोलनपछि आफ्नो १५ वर्ष लामो शासन अन्त्य भएसँगै देश छोडेर भारत पुगेकी थिइन् । त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छन् । गत जनवरीमा नयाँ दिल्लीस्थित एक प्रेस क्लबबाट प्रसारित सम्बोधनबाहेक उनको सार्वजनिक उपस्थिति लगभग शून्यजस्तै रहेको छ ।

भारतीय टेलिभिजन च्यानल एनडीटीभीलाई दिएको अन्तर्वार्तामा हसिनाले आफूलाई मृत्युदण्डको कुनै डर नभएको बताएकी छन् । उनले आफूमाथि भएको अदालती कारबाहीलाई अवैध, असंवैधानिक तथा राजनीतिक रूपमा प्रेरित भएको दाबी गरिन् ।

“मविरुद्ध धेरै षड्यन्त्र गरिए । तर, हरेक षड्यन्त्रलाई पराजित गर्दै म जनताको मतबाट पाँच पटक प्रधानमन्त्री चुनिएँ र देशको अभूतपूर्व विकासका लागि काम गरेँ,” उनले भनिन् ।

मृत्युदण्डको सजायपछि स्वदेश फर्किने कि नफर्किने भन्ने प्रश्नमा उनले स्पष्ट शब्दमा भनिन्, “म स्पष्ट रूपमा भन्न चाहन्छु, हरेक बाधा र षड्यन्त्रलाई चिर्दै म यसै वर्ष आफ्नो देश फर्किनेछु ।”

गत वर्ष नोभेम्बरमा ढाकाको एक अदालतले हिंसा भड्काएको, हत्याको आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई दोषी ठहर गरेको थियो । अदालतले उनलाई झुन्ड्याएर मृत्युदण्ड दिने फैसला सुनाएको थियो ।

यसैबिच, उनको नेतृत्वको अवामी लिगका गतिविधिमाथि पनि प्रतिबन्ध लगाइएको छ । एक समय बङ्गलादेशकै सबैभन्दा प्रभावशाली राजनीतिक दल मानिने अवामी लिग हाल कानुनी प्रतिबन्धको सामना गरिरहेको छ ।

सन् २०२४ अगस्टको राजनीतिक परिवर्तनपछि हसिना भारत पुगेसँगै भारत–बङ्गलादेश सम्बन्धमा तनाव बढेको थियो । बङ्गलादेशले लगातार भारतसँग हसिनाको प्रत्यर्पणको माग गर्दै आएको छ ।

तर, फेब्रुअरी २०२६ मा सम्पन्न निर्वाचनपछि प्रधानमन्त्री तारिक रहमान नेतृत्वमा नयाँ सरकार गठन भएसँगै दुई देशबीचको सम्बन्ध सुधारतर्फ उन्मुख भएको बताइएको छ । १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा नयाँ सरकार गठनपछि द्विपक्षीय संवाद पुनः तीव्र भएको जनाइएको छ ।

यसै महिनादेखि भारतले बङ्गलादेशी नागरिकका लागि पर्यटक भिसा पुनः जारी गर्ने निर्णय गरेको छ । ढाकास्थित भारतका उच्चायुक्त दिनेश त्रिवेदीका अनुसार जुन २८ देखि पर्यटक भिसा सेवा पुनः सञ्चालनमा आएको छ ।

भारत र बङ्गलादेशबिच करिब चार हजार ९६ किलोमिटर लामो स्थल सीमा रहेको छ । दुई देशबिच ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध घनिष्ठ रहे पनि केही विषयमा मतभेद भने अझै कायम रहेका छन् ।

Back to top