एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–४ खतबैया टोलमा बिहेको रथको ब्रेक फेल हुँदा एक बालिकाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् ।
प्रहरीका अनुसार स्थानीय केश्वर मुखियाको छोरीको बिहेको अवसरमा सोमबार राति मटकोर विधि भइरहेका बेला बीआर ३२ पी ७४६८ नम्बरको रथको ब्रेक अचानक फेल भई दुर्घटना भएको हो ।
बिहेको खुशीयालीमा नाचिरहेको समूहमा रथ चढ्दा स्थानीय सञ्जय मुखियाकी अन्दाजी १३ वर्षीय छोरी सरस्वती मुखिया र बिकाऊ मुखियाकी ३५ वर्षीय श्रीमती कवितादेवी मुखियालाई किचेको थियो ।
दुवै घाइतेलाई तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको थियो। उपचारकै क्रममा सरस्वती मुखियाको मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले जानकारी दिएका छन् ।
घाइते कवितादेवी मुखियाको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकोले थप उपचारका लागि उनलाई न्युरो अस्पताल जनकपुरधाममा रेफर गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले रथ नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी कार्य तीव्र पारिएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।