×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले बुधवार काठमाडौँस्थित उनको निवासमा भेटघाट गरी उद्योग–व्यवसाय क्षेत्रले भोगिरहेका समसामयिक समस्याबारे विस्तृत छलफल गरेका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तको समन्वयमा सम्पन्न उक्त भेटमा सीमामा मौलाएको तस्करी, उधारो कानुन, भन्सार दर असन्तुलन, प्रतिबन्धित वस्तुको आयात, पूर्वाधार विकासलगायत विषयमा छलफल भएको थियो ।

भेटमा उद्योगी–व्यवसायीहरूले सीमावर्ती क्षेत्रमा बढ्दो तस्करीका कारण स्वदेशी उद्योग तथा वैधानिक आयात व्यवसाय प्रत्यक्ष प्रभावित भएको बताएका थिए । तस्करी नियन्त्रणका लागि करिब एक सय वस्तुको भन्सार दर पुनरावलोकन गरी भारतको जीएसटी दरसँग सन्तुलन कायम गर्नुपर्ने उनीहरूको माग थियो ।  

भन्सार दर उच्च हुँदा अवैध आयात प्रोत्साहित हुने भएकाले दर घटाएर मूल्य अन्तर न्यून गर्नुपर्ने धारणा उनीहरूले राखेका थिए ।

सांसद पन्तले उद्योगी–व्यवसायीको गुनासो प्रस्तुत गर्दै उधारो कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन उधारो कानुन छिटो ल्याउनुपर्ने आवश्यकता औँल्याए । उनले सीमामा हुने चोरी निकासी रोक्न नीति तथा संरचनागत सुधार आवश्यक रहेको उल्लेख गरे ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपालका अनुसार छलफलमा नेपालले प्रतिबन्ध लगाएका केही वस्तुहरू जस्तै पूजा सुपारी, छोकडा र कालो मरीचको आयात खुला गर्नुपर्ने विषय पनि उठाइएको थियो । यस्ता वस्तुमा प्रतिबन्ध कायम हुँदा तस्करी बढ्ने र राजस्व घाटा हुने भएकाले व्यवहारिक निर्णय आवश्यक रहेको सङ्घको धारणा छ ।

त्यस्तै, जितपुरसिमरा उपमहानगरपालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज) को डी र ई ब्लकलाई प्रभावकारी रूपमा औद्योगिक क्षेत्रका रूपमा विकास गर्न, वीरगञ्जस्थित सुक्खा बन्दरगाह (ड्राइपोर्ट) को स्तरोन्नति तथा पूर्वाधार सुधार गर्न, ४५० किलोग्राम क्षमताका एलपीजी ग्यास सिलिन्डर उद्योगीहरूलाई सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन तथा वीरगञ्ज महानगरको मुख्य सडक निर्माण कार्य न्यूनतम क्षतिमा छिटो सम्पन्न गर्न माग गरिएको वरिष्ठ उपाध्यक्ष राजपालले जानकारी दिए ।

जवाफमा सभापति लामिछानेले उद्योगी–व्यवसायीका समस्याप्रति सरकार र पार्टी दुवै सकारात्मक रहेको बताए । “उद्योग र व्यवसाय फस्टाए मात्र देशको अर्थतन्त्र सुदृढ हुन्छ,” उनले भने, “निजी क्षेत्रसँग सहकार्य गर्दै व्यवहारिक र दीर्घकालीन समाधान खोज्न हामी प्रतिबद्ध छौँ ।” उनले तस्करी नियन्त्रण, राजस्व प्रणाली सुधार र उद्योगमैत्री वातावरण निर्माणका विषयमा सम्बन्धित निकायसँग छलफल अघि बढाउने आश्वासनसमेत दिएका छन् ।

छलफलमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतम, पूर्व अध्यक्ष गोपाल केडिया, वीरगञ्जका पूर्व मेयर तथा सङ्घका पूर्व अध्यक्ष विजयकुमार सरावगी, उद्योगी मनोज दासलगायतको सहभागिता रहेको थियो ।

भेटघाटलाई निजी क्षेत्र र राजनीतिक नेतृत्वबिचको संवाद सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ । उद्योगी–व्यवसायीहरूले नियमित संवाद र नीतिगत स्पष्टताले मात्र अर्थतन्त्रमा देखिएको सुस्तता हट्न सक्ने बताएका छन् ।

 

Back to top