×

भारतले अमेरिकी दक्ष कामदार भिसा एच–१ बीका निम्ति आवेदन दिनेहरूलाई लाग्ने नयाँ एक लाख डलर शुल्कले जटिल मानवीय परिणाम ल्याउने चेतावनी दिएको छ।

भारतको परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त शुल्कले ‘परिवारहरूमा उत्पन्न हुने व्यवधानका कारण’ गम्भीर मानवीय परिणाम ल्याउने जनाएको हो। भारत सरकारले यी व्यवधानलाई अमेरिकी अधिकारीले उपयुक्त रूपमा सम्बोधन गर्ने अपेक्षा समेत गरेको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१ बी भिसा आवेदनका निम्ति नयाँ शुल्क लगाउने कार्यकारी आदेश शुक्रबार जारी गरेका थिए। यो शुल्क हालको भन्दा ६० गुणाभन्दा बढी हो।

यही सेप्टेम्बर २१ देखि यो कार्यान्वयनमा ल्याइनेछ। यो कार्यक्रमअन्तर्गत जारी हुने दक्ष भिसामध्ये ७० प्रतिशतभन्दा बढी भारतीय कामदारले प्राप्त गर्ने गरेका छन्। केही अमेरिकी प्रविधि कम्पनीले आफ्ना एच–१बी भिसा भएका कर्मचारीलाई अमेरिकाभित्रै बस्न वा विदेशमा भए तुरुन्त फर्कन सल्लाह दिएका जनाइएको छ।

यद्यपि, शनिबार ह्वाइट हाउसले नयाँ शुल्क हालका भिसा वा नवीकरण आवेदनमा लागु नहुने स्पष्ट पारेको थियो।

विज्ञप्तिमा दक्ष कामदारको आदानप्रदानले दुवै राष्ट्रलाई ‘अत्यधिक योगदान’ पुर्‍याएको उल्लेख छ। ट्रम्पले गएको महिना रुसी तेल खरिदका कारण भारतमाथि दण्डनात्मक शुल्क लगाएपछि दुई देशबीच तनावपूर्ण व्यापार वार्ता चलिरहेको छ।

अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका अनुसार, सन् २०२४ मा अमेरिकाले भारतमा ४१.५ अर्ब डलर बराबरको सामान निर्यात गरेको थियो। भारतबाट दोब्बरभन्दा बढी अर्थात् ८७.३ अर्ब डलरबराबरको सामान आयात गरेको थियो।

Back to top