×

वीरगञ्ज । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा बर्ड फ्लुको संक्रमण देखिएपछि कुखुराको मासु र अण्डा सेवन नगर्नुपर्ने भन्ने भ्रामक तथा कपोलकल्पित समाचार फैलिरहेको भन्दै वीरगञ्ज महानगरपालिकाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महानगरपालिकाको पशु सेवा शाखाले एक सूचना जारी गर्दै आम नगरवासीलाई अपुष्ट समाचार, अफवाह तथा भ्रमपूर्ण प्रचारप्रसारबाट प्रभावित नहुन आग्रह गरेको छ। 

शाखाका अनुसार वैज्ञानिक तथ्य तथा विश्व स्वास्थ्य संगठनको सिफारिसअनुसार राम्रोसँग पकाइएको कुखुराको मासु र अण्डा पूर्ण रूपमा सुरक्षित, पौष्टिक तथा स्वास्थ्यका लागि लाभदायक हुन्छ।

महानगरपालिकाले कुखुराको मासु र अण्डा प्रयोग गर्दा सरसफाइमा विशेष ध्यान दिन, राम्रोसँग पकाएर मात्र सेवन गर्न तथा यस सम्बन्धमा आधिकारिक निकायबाट जारी हुने सूचना र जानकारीमा मात्रै विश्वास गर्न सम्पूर्ण नगरवासीसँग अनुरोध गरेको छ।

पशु सेवा शाखाले बर्ड फ्लुसम्बन्धी अफवाह फैलाएर अनावश्यक त्रास सिर्जना नगर्न सबैमा आग्रह गर्दै ‘भ्रम होइन, तथ्यमा विश्वास गरौँ; सुरक्षित रूपमा पकाइएको कुखुरा र अण्डाको सेवन गरौँ’ भन्ने सन्देशसमेत दिएको छ।

Back to top