×

भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ३ सय नजिक पुगेको छ। 

विश्व स्वास्थ्य संगठन र स्थानीय अधिकारीहरूका अनुसार हालसम्म २ हजार २ सय ९५ जनाको मृत्यु भइसकेको छ भने ११ हजारभन्दा बढी घाइते भएका छन्। 

यसैबीच, भूकम्प गएको ८ दिनपछि एक जना सुरक्षा गार्डको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। तटीय सहर ला गुइरास्थित एउटा भत्किएको सपिङ सेन्टरको भूमिगत तलाबाट ४३ वर्षीय हेर्नान अल्बर्टो गिल फ्लोरेसलाई जीवितै निकालिएको हो। 

गत जुन २४ मा गएको ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उनी फर्निचर र कंक्रिटको चेपमा ओत लागेर जोगिएका थिए। उद्धार टोलीले लगातार एक सय घण्टाभन्दा बढीको कठिन प्रयासपछि उनलाई बाहिर निकाल्न सफल भएको हो। 

उद्धार टोलीले साना प्वालहरूबाट उनलाई सुई र पाइपको माध्यमबाट तरल खाना र पानी पु¥याएर जीवित राखेका थिए।  भूकम्पका कारण अझै पनि हजारौँ मानिस बेपत्ता छन् भने १६ हजारभन्दा बढी घरबारविहीन भएका छन्। प्रभावित क्षेत्रमा उद्धार कार्य अझै जारी छ।

Back to top