×

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारिक विमान एयर फोर्स वान मङ्गलवार ठुलो दूघर्टनाबाट बचेको छ । लन्डनको राजकीय भ्रमणमा जाँदै गरेको न्यूयोर्कको आकाशमा एयर फोर्स वान अर्को यात्रुवाहक विमान निकै नजिक आएको थियो । ट्राफिक नियन्त्रकहरूले समयमै यात्रुवाहक विमानको पाइलटलाई सचेत गराए र विमानले बाटो परिवर्तन गर्‍यो ।

ट्रम्प मङ्गलवार राजकीय भ्रमणका लागि लन्डन प्रस्थान गरेका थिए । एयरफोर्स वान न्यूयोर्कको आकाशमा थियो । फोर्ट लाउडरडेलबाट बोस्टनका लागि उडिरहेको स्पिरिट एयरलाइन्स एयरबस ए ३२१ न्यूयोर्कको लङ आइल्याण्ड माथि थियो । यतिबेला एयर वन फोर्स र स्पिरिट एयरलाइन्सको विमान दुवै एउटै उचाइमा र एउटै उडान मार्गमा थिए । हवाई ट्राफिक नियन्त्रकहरूले यो थाहा पाएपछि  तुरुन्तै स्पिरिट एयरलाइन्सको विमानको पाइलटलाई सचेत गराउने प्रयास गरे । 

यतिबेला दुई विमान एक अर्काबाट केही माइल मात्रै थिए । एयर ट्राफिक नियन्त्रकले दुई वा तीन पटक चेतावनी दिएपछि यात्रुवाहक विमानका पाइलटले त्यतिबेलाको अवस्था थाहा पाए र बाटो परिवर्तन गरिहाले । जसले गर्दा ठुलो दुर्घटना हुनबाट जोगियो । 

एयर ट्राफिक कन्ट्रोलर र यात्रुवाहक विमानका पाइलटबिच भएको कुराकानीको अडियो रेकर्डिङ सामाजिक सञ्जालमा प्रसारित भइरहेको छ । तर, त्यो अडियो सोही घटनाको हो भन्ने चाहिँ प्रमाणित हुन नसकेको बताइएको छ । 

अडियोमा नियन्त्रकले ‘स्पिरिट १३००, २० डिग्री दायाँ घुम्नुहोस्’ भन्छन् । यसमा एयरलाइन्सका चालक दलले कुनै प्रतिक्रिया दिँदैनन् । प्रारम्भिक सन्देशको जवाफ नआएपछि नियन्त्रकले सोही सन्देश दोहोर्‍याउँछन् । तेस्रो पटकको चेतावनी स्पिरिटका पाइलटहरूले सुन्छन् र बाटो परिवर्तन गर्छन् । त्यतिबेला दुई विमान ६/७ माइलको दूरीमा थिए । 

Back to top