नयाँदिल्ली । बिहार कांग्रेसले बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको एआई–जेनेरेटेड भिडियो सेयर गरेको थियो । भारतीय जनता पार्टी (भाजपा)का धेरै नेताहरूले यो भिडियोमा आपत्ति जनाइरहेका छन् । यसैबिच भाजपा सांसद अनुराग ठाकुरले भिडियोमा प्रतिक्रिया दिएका छन् ।
‘राजनीतिको स्तर कति हलुका हुनसक्छ भनेर राजद र कांग्रेसले देखाएका छन् । कसैको आमालाई गाली गर्नु अनि जब यो बिहारको भूमिबाट हुन्छ, तब बिहारका जनतालाई पनि थाहा छ कि अपशब्द बोल्नेहरू केवल आरजेडी र कांग्रेससँग सम्बन्धित हुन सक्छन्’ अनुराग ठाकुरले भनेका छन् ।
गणतन्त्र पनि बिहारको भूमिबाट जन्मिएको र कांग्रेसको आपतकालको विरुद्धमा आवाज पनि यहीँबाट उठेको भन्ने कुरा आफूले उनीहरूका नेताहरूलाई भन्न चाहेको उनले बताए । ‘जब यस भूमिबाट कसैले प्रधानमन्त्रीकी आमाको बारेमा अपशब्द प्रयोग गर्छ, तब बिहारका जनताले कांग्रेस र राजदलाई उचित जवाफ दिनेछन्’ उनले भनेका छन् ।
के छ भिडियोमा ?
बिहार कांग्रेसको आधिकारिक ह्यान्डलबाट एउटा पोस्ट गरिएको थियो । जसको क्याप्सनमा ‘साहेबको सपनामा आमा आउनुभयो’ लेखिएको थियो । ३६ सेकेन्डको यो भिडियोमा दुई जनालाई देखाइएको छ । एक जना प्रधानमन्त्री मोदी हुन् भने अर्की उनकी स्वर्गीय आमा हिराबेन जस्तो देखिने वृद्ध महिला छिन् ।
भिडियोको सुरुमा मोदीजीले आजको भोट चोरी भयो, अब म सुत्न जान्छु भनेको सुनिन्छ । मोदी निदाउने बित्तिकै स्क्रिन परिवर्तन हुन्छ र उनकी आमा सपनामा आउँछिन् र भन्छिन्, ‘हे छोरा, पहिले तिमीले मलाई नोटबन्दीको लागि लाइनमा उभ्याइदियौ, तिमीले मेरो खुट्टा धोएको रिल पनि बनायौ र अब तिमी बिहारमा मेरो नाममा राजनीति गरिरहेका छौँ ।’
‘अब तिमी मेरो अपमानको ब्यानर र पोस्टर छाप्दैछौ, तिमी फेरि बिहारमा नौटंकी गर्न खोजिरहेका छौ, राजनीतिको नाममा तिमी अझै कति तल झर्छौ’ भिडियोमा वृद्धाले अझ अगाडि भनेको सुनिन्छ । त्यसपछि मोदीजी सपनाबाट उठ्छन् ।