×

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मणिपुर भ्रमणअघि राज्यमा फेरि हिंसा भड्किएको छ । बिहीबार राति चुराचन्दपुरमा मोदीको स्वागतका लागि राखेको पोस्टर, ब्यानर च्यात्नुका साथै ब्यारिकेड भत्काएर आगजनी गरिएको हो ।

घटना चुराचन्दपुर प्रहरी चौकीबाट करिब ५ किलोमिटर टाढा पिसोनामुन गाउँमा भएको छ । प्रहरीले दङ्गाकारीलाई धपाएको छ। लाठीचार्ज पनि भएको छ। तर कति जना घाइते भए भन्ने जानकारी प्राप्त भएको छैन ।

समाचार एजेन्सी पीटीआईले अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘मोदीले सेप्टेम्बर १३ मा मणिपुर भ्रमण गर्नेछन् । ८ हजार ५०० करोड रुपैयाँ (भारु) को उपहार दिनेछन् ।’

मोदीले चुराचन्दपुरको शान्ति मैदानबाट ७ हजार ३०० करोड रुपैयाँ (भारु) को परियोजनाको शिलान्यास गर्नेछन् । यो क्षेत्रमा कुकी समुदायको बाहुल्य छ। साथै उनले मेइती बहुल क्षेत्र इम्फालबाट १ हजार २०० करोड रुपैयाँ ९भारु० को परियोजनाको उद्घाटन गर्नेछन् ।

मणिपुर हिंसापछि मोदीको यो पहिलो मणिपुर भ्रमण हो । मणिपुरमा मे २०२३ मा मेइती र कुकी समुदायबिच जातीय हिंसा सुरु भएको थियो । यो हिंसामा हालसम्म २६० भन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घरबारविहीन भएका छन् । फेब्रुअरी १३ देखि मणिपुरमा राष्ट्रपति शासन लगाइएको छ ।

Back to top