दोहा । इजरायलले मंगलबार कतारको राजधानी दोहामा गरेको आक्रमणलाई कतारले आतङ्कवाद भनेको छ । हमासका वरिष्ठ नेताहरूलाई निशाना बनाएर सो आक्रमण भएको थियो । आफूहरूले अझै पनि बेपत्ता भएका दुई व्यक्तिहरूको खोजी गरिरहेको कतारको भनाइ छ । मानव अवशेषहरू पहिचान गरिरहेको बताइएको छ ।
इजरायली सेना भित्र यो आक्रमण सफल नभएकोमा चिन्ता भएको र यो निकै विवादको विषय बनेको भन्दै इजरायली मिडियाले समाचार छापिरहेकै समयमा कतारको यो प्रतिक्रिया आएको हो । कतारको गृह मन्त्रालयले पाँच तल्लो स्तरका हमास सदस्यहरू मध्ये तीन जनाको पहिचान गरेको छ ।
तिनीहरू एक कतारी सुरक्षा अधिकारीसँगै मारिएको हमासले भनेको छ । आफ्नो वार्ता टोलीको हत्या गर्ने इजरायली प्रयास असफल भएको दाबी पनि हमासले गरेको छ । सीएनएनलाई दिएको अन्तर्वार्तामा कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले हमासका प्रमुख वार्ताकार खलील अल–हय्याको अवस्थाको बारेमा कुरा भने गरेका छैनन् ।
‘अहिलेसम्म कुनै आधिकारिक घोषणा भएको छैन ।’ अल थानीले बुधबार साँझ भने । इजरायलको कार्य आतङ्कवाद सरह भएको र कतारका क्षेत्रीय साझेदारहरूले सामूहिक प्रतिक्रिया दिने आशा उनले व्यक्त गरे ।