×

रौतहट । गौर राइस मिलको जग्गा भूमाफियाबाट जोगाउन तथा दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।

पूर्वगौर नगरपालिकाका मेयरसमेत रहेका एमाले नेता गुप्ताले भूमाफियाले गौर नगरपालिकाको मिलेमतोमा सार्वजनिक प्रयोगमा रहेको गौर राइस मिलको जग्गा बिक्री गर्न लागेको दाबी गर्दै त्यसलाई तत्काल रोक्का गरी सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

गौर राइस मिलको जग्गा वर्षौंदेखि सार्वजनिक प्रयोगमा रहँदै आएको छ। उक्त जग्गामा विभिन्न मेला-महोत्सव, राजनीतिक सभा-समारोह तथा क्रिकेट खेलाडीहरूको लागि खेल मैदानको रूपमा उपयोग हुँदै आएको छ। गुप्ताले भूमाफियाले आर्थिक चलखेल गर्दै उक्त जग्गालाई व्यक्तिगत स्वार्थका लागि बिक्री गर्न खोजिरहेको आरोप लगाउँदै खेल मैदानको अस्तित्व समाप्त गर्ने षड्यन्त्र रोक्न माग गरेका छन्।

ज्ञापनपत्रमा भूमाफियाले गौर नगरपालिकासँगको मिलेमतोमा ठूलो आर्थिक चलखेल गर्दै खेलमैदानको जग्गा भागबन्डा गर्न लागेको उल्लेख छ। यसले रौतहटवासीको सपना धमिलो पार्ने भएकाले तत्काल रोक लगाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ।

गुप्ताद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा साबिक गौर गाविस वडा नम्बर ७ का विभिन्न कित्ताका जग्गा— कित्ता नम्बर १३९ (०-४-१५), १४० (०.१६-०), १६३ (४-१०-०) र ८०३ (०.९.०) जग्गा गौर नगरको महत्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षणका लागि अविलम्ब कदम चाल्नुपर्ने उल्लेख गरिएको छ।

ज्ञापनपत्रमार्फत गुप्ताले उक्त जग्गा बिक्री गर्ने प्रक्रियालाई तत्काल रोक्दै, सत्यतथ्य छानबिन गरी दोषीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन्। साथै, सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न र गौर नगरवासीका लागि आवश्यक पर्ने पूर्वाधार जोगाउन सरकारलाई सक्रिय भूमिका खेल्न अनुरोध गरिएको छ।

Back to top