×

वीरगञ्ज । रौतहट प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रमा विशेष अपरेसन सञ्चालन गर्दै ९० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध फर्सीको बिउ बरामद गरेको छ । भारततर्फ अवैध रूपमा निकासी गर्न तयारी अवस्थामा राखिएको उक्त सामग्री बुधवार साँझ फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्त गौतमका अनुसार विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधवार साँझ करिब साढे ७ बजे बौधीमाई नगरपालिका–७, बाडका बंकुल टोल क्षेत्रमा छापा मारेको थियो ।

सीमावर्ती बाटो नजिक त्रिपालले ढाकेर लुकाइछिपाइ राखिएको अवस्थामा ३२२ बोरा फर्सीको बिउ (जम्मा १२ हजार ८८० किलोग्राम) बरामद गरिएको उनले जानकारी दिए ।

बरामद बिउको अनुमानित बजार मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । उक्त सामग्री आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको डिएसपी गौतमले बताए ।

बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीय व्यक्तिहरूले अवरोध गर्दै ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड अश्रुग्याँस प्रहार गरेको जनाएको छ । घटनामा ढुंगामुढाबाट तीन जना स्थानीय र तीन जना प्रहरी कर्मचारी गरी ६ जना सामान्य घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालका अनुसार सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्न निगरानी र कारबाहीलाई थप कडाइ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि एक महिनाअघि पनि नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब ७० लाख रुपैयाँ बराबरको फर्सीको बिउ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले घोडासहन थानाक्षेत्रबाट बरामद गरेको थियो । तस्करहरूले रौतहट र बाराका विभिन्न चोर नाकामार्फत चाइनिज फर्सीको बिउ भारतका विभिन्न प्रान्तमा पुर्‍याउने गरेको प्रहरी स्रोतले जनाएको छ । पछिल्लो समय भारतमा फर्सीको बिउलाई डाइटका रूपमा प्रयोग गर्ने चलन बढेकाले तस्करी बढेको अनुमान गरिएको छ ।

Back to top