रौतहट । पर्यटन विकास कार्यालय रौतहटकी कार्यालय प्रमुख बबिता जैसवालले आफू पूर्ण रूपमा सरकारी नीति, नियम र कानुनी परिधिभित्र रहेर कार्यसम्पादन गरिरहेको स्पष्ट पारेकी छन्। कार्यालयका गतिविधि तथा योजनाहरूलाई लिएर पछिल्लो समय भइरहेका विभिन्न चर्चा–परिचर्चाका बीच उनले आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
प्रमुख जैसवालले आफू कार्यालयमा हाजिर भएदेखि नै रौतहट र सर्लाही जिल्लाको पर्यटन पूर्वाधार विकासका लागि मन्त्रालयबाट प्राप्त निर्देशन, बजेट तथा स्वीकृत कार्यक्रमअनुसार इमानदारितापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको बताइन्।
उनका अनुसार रौतहट र सर्लाही जिल्लामा सञ्चालित पर्यटनसम्बन्धी पूर्वाधार विकासका योजनाहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन कार्यालय प्रशासन निरन्तर सक्रिय रहेको छ। मन्त्रालयबाट स्वीकृत भई आएका योजना तथा कार्यक्रमहरूलाई विभिन्न प्राविधिक र प्रशासनिक चुनौतीका बाबजुद पनि नियमसंगत रूपमा कार्यान्वयन गरिँदै आएको उनले दाबी गरिन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख जैसवालले सरकारी मापदण्ड र कानुनी प्रक्रियाभन्दा बाहिर गएर कुनै पनि काम नगरेको बताइन्।
“हामी सरकारी नीति, नियम र कानुनी परिधिभन्दा बाहिर गएर एक कदम पनि चल्न सक्दैनौँ। मन्त्रालयले जुन उद्देश्य र आदेशका साथ बजेट तथा योजनाहरू पठाएको छ, त्यसलाई नागरिकको हित र पर्यटन विकासमा सदुपयोग गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो,” उनले भनिन्।
पर्यटन विकास कार्यालय रौतहटको कार्यक्षेत्रभित्र रौतहट र सर्लाही दुवै जिल्ला पर्ने भएकाले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरूको पूर्वाधार विकासमा सन्तुलित रूपमा काम भइरहेको कार्यालयले जनाएको छ।
प्रमुख जैसवालले विकास निर्माणका कार्यहरूमा पारदर्शिता, गुणस्तर र जवाफदेहिता कायम राख्न नियमित अनुगमन तथा समन्वय भइरहेको बताउँदै पर्यटन क्षेत्रको विकासलाई अझ प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि, नागरिक समाज तथा सरोकारवाला निकायसँग सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।
उनले पर्यटन पूर्वाधार निर्माणका कार्यक्रमहरूलाई अझ जनमुखी र प्रभावकारी बनाउन सबै पक्षबाट रचनात्मक सुझाव तथा सहयोगको अपेक्षा समेत व्यक्त गरेकी छन्।