वीरगञ्ज । वीरगञ्जकी साना प्रवीण आगामी सातादेखि युगान्डामा सुरु हुने महिला टी–२० आई शृङ्खलाका लागि नेपालको अन्तिम टोलीमा छनौट भएकी छन् ।
साना पहिलो पटक नेपालको सिनियर टिममा पर्न सफल भएकी हुन् । उनको छनौटको खबरले वीरगञ्जवासीमा खुसीको लहर छाएको छ । कप्तान इन्दु वर्माको नेतृत्वमा घोषणा भएको टोलीमा सानासँगै रिया शर्मा पनि पहिलो पटक टोलीमा परेकी छन् । दुवैले यु–१९ विश्वकपमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।
वीरगञ्जको मुर्ली टोलीकी निवासी साना प्रवीणले मलेसियामा आयोजित यु–१९ महिला विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्व स्तरमा चिनाएकी थिइन् । साना टिमका लागि ओपनर ब्याटर हुन् ।
नेपाललाई यु–१९ विश्वकपसम्म पुर्याउन पनि उनको योगदान उल्लेखनीय थियो । सामान्य परिवारबाट आएकी सानाको सफलताले उनको मेहनत र लगन दर्साएको छ । “सानाको छनौट हाम्रा लागि गर्वको कुरा हो, उनले वीरगञ्जको नाम उज्ज्वल बनाएकी छन्,” पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले खुसी साट्दै भने ।
सानाको यात्रा नेपाली महिला क्रिकेटका लागि पनि प्रेरणादायी बन्ने विश्वास गरिएको छ । उनको छनौटले वीरगञ्जका युवा खेलाडीहरूलाई पनि एउटा सकारात्मक सन्देश दिएको छ ।
मार्च ८ देखि १६ सम्म युगान्डा क्रिकेट एसोसिएसनको आयोजनामा हुने शृङ्खलामा नेपाल, युगान्डा, हङकङ र नामिबियाबिच डबल राउन्ड रोबिन र फाइनल खेल हुनेछ ।
गत महिना थाइल्यान्ड र नेदरल्यान्ड्ससँग घरेलु मैदानमा जितविहीन रहेको नेपाली महिला टोलीले युगान्डामा हुने शृङ्खलाबाट नयाँ आशा बोकेको छ । सानाको छनौटले टोलीमा ताजा जोस थपिएको छ ।
युगान्डा र हङकङसँग यसअघि खेलेको अनुभव बोकेको नेपालले नामिबियासँग पहिलो पटक प्रतिस्पर्धा गर्नेछ ।