वीरगञ्ज । जापानमा हुने एसियन गेम्सका क्रिकेटतर्फ छनौट हुने चार देशको टुङ्गो लागेको छ । सिंगापुरमा जारी एसियन गेम्स छनौट अन्तर्गत नेपालसहित मलेसिया, ओमान र हङकङ एसियन गेम्समा छनौट भएका हुन् ।
नेपाल र मलेसिया समूह ए बाट र हङकङ र ओमान समूह बी बाट छनौट भएका हुन् । एसियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिँदै छन् । जसमा जापान आयोजकको रूपमा सहभागी हुँदै छन् भने आइसिसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान स्वतः छनौट भएका छन् ।
एसियन गेम्सको छनौट खेल अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दै छ । नेपाली समय अनुसार अपराह्न सवा १२ बजेदेखि सुरु हुने यस खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्ने छ र सेमिफाइनलको समीकरण तय हुने छ ।
यस प्रतियोगितामा दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टिम खेलिरहेको छ । नेपाली टिममा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन् ।