×

वीरगञ्ज । खेलकुदमार्फत युवाहरूको स्वास्थ्य, अनुशासन र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले वीरगञ्जमा “प्रथम वीरगञ्ज अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ। वीरगञ्ज यूथ एकेडेमीको आयोजनामा तथा मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलको सह–आयोजनामा प्रतियोगिता आगामी जेठ १८ गतेदेखि २५ गतेसम्म आदर्शनगर फुटबल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।

विद्यालयस्तरदेखि नै फुटबल प्रतिभाको खोजी, विकास र प्रोत्साहन गर्ने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगितामा वीरगञ्जका विभिन्न विद्यालयका टोलीहरूको सहभागिता रहनेछ। खेलकुदले विद्यार्थीहरूलाई शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा सबल तथा अनुशासित नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको रहेको छ।

प्रतियोगिताको उद्घाटन खेल जेठ १८ गते मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल र सफल विद्यालयबीच हुनेछ। त्यसपछि जेठ १९ गते बिकन र लिटल फ्लावर, जेठ २० गते मोडर्न र नवदीप तथा जेठ २१ गते साउथ जोन, काभेरी र अल्पाइन विद्यालयका टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ। विजेता टोलीहरू सेमिफाइनल हुँदै फाइनल चरणमा प्रवेश गर्नेछन् भने प्रतियोगिताको फाइनल खेल जेठ २५ गते सम्पन्न हुनेछ।

प्रतियोगितालाई थप आकर्षक र उत्साहजनक बनाउन समाजसेवी, अधिवक्ता तथा प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्यायले विशेष सहयोगको घोषणा गरेका छन्। उनले प्रतियोगिताभर प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई जनही नगद एक हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने बताएका छन्।

उपाध्यायले विद्यालयस्तरबाटै खेलाडी उत्पादन र प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउँदै खेलकुदले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने बताए। उनले फुटबलजस्ता खेलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरी नेपाललाई विश्वमाझ चिनाउन सकिने धारणा व्यक्त गरे।

आयोजक वीरगञ्ज यूथ एकेडेमीका अनुसार वीरगञ्जमा फुटबलको लोकप्रियता कायम राख्नुका साथै नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय खेल गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई स्वस्थ जीवनशैली, सामाजिक एकता, अनुशासन र राष्ट्रिय गौरवको आधारसमेत भएकाले यस्ता प्रतियोगिताहरूको नियमित आयोजनाले भविष्यमा राष्ट्रिय टोलीका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Back to top