×

सिरहा । सिरहा जिल्लाको नरहा गाउँपालिका–३ बाट एक भारतीय नागरिकले प्रशासनिक निकायसँगको मिलेमतोमा नेपाली नागरिकता लिएको खुलासा भएको छ। बिहार राज्यको मधुबनी जिल्लाको जयनगर ग्रामपञ्चायत देउधा टोलका मोस्ताक मियाँले नेपाली नागरिकता प्राप्त गरेको विषय अहिले चर्चाको विषय बनेको छ।

उनले पाएका कागजातअनुसार उनको जन्म मिति २०५५ साउन १५ उल्लेख गरिएको छ भने नागरिकता नम्बर १५०१८०–४३६२ छ। नागरिकता कागजातमा उनका बुवा अमानत मियाँ र आमा रजिना खातुनको नाम समावेश गरिएको छ। तर, स्थानीयवासीले भने मोस्ताक मियाँ अमानत मियाँका छोरा नभएको दाबी गरेका छन्।

स्थानीय स्रोतका अनुसार मोस्ताक मियाँले नरहा गाउँपालिकाका वडाध्यक्ष रुस्तम अन्सारी र वडासचिव रामदेव मण्डलसँग मिलेर नागरिकता बनाएको आशंका गरिएको छ। आरोपअनुसार मोस्ताकले नागरिकता प्राप्त गर्नका लागि ठूलो रकम खर्च गरेको खुलासा भएको छ।

यस विषयमा उजुरी परेपछि मोस्ताक मियाँ अहिले सम्पर्कविहीन भएका छन्। उनका कथित पिता अमानत मियाँले मोस्ताकसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्।

वडासचिव रामदेव मण्डलले आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन्। उनका अनुसार अमानत मियाँ र उनकी श्रीमती रजिना खातुनले एकैपटक तीन छोराको जन्म दर्ता गरेका थिए, जसकै आधारमा नागरिकता सिफारिस गरिएको थियो। वडाध्यक्ष रुस्तम अन्सारीले भने भीडभाडका कारण गल्ती भएको स्विकार्दै मोस्ताकको नागरिकता खारेज गर्न सिफारिस गरिसकेको बताए।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले मोस्ताकको नागरिकता सम्बन्धी विषयबारे जानकारी प्राप्त भएको र यसबारे आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइने बताएका छन्।

यस घटनाले नेपालमा नागरिकता वितरण प्रक्रियामा हुने मिलेमतो र बेथितिलाई पुनः सतहमा ल्याएको छ। प्रशासनले उचित अनुसन्धान गरी दोषीमाथि कारबाही गर्छ वा यो प्रकरण पनि अन्य विवादजस्तै सेलाएर जान्छ भन्ने चासो बढेको छ।

Back to top