जनकपुरधाम । मधेश सरकारले २०७५ सालदेखि सञ्चालन गर्दै आएको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै महिलाको सीप, स्वरोजगार र आर्थिक सशक्तीकरणमा केन्द्रित नयाँ कार्यक्रम लागू गर्ने घोषणा गरेको छ।
सोमबार अर्थमन्त्री युवराज भट्टराईले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै ‘शिक्षित छोरीः सुरक्षित मधेश, उद्यमशील नारीः समृद्ध प्रदेश’ भन्ने संकल्पका साथ ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याइने जानकारी दिएका हुन्।
नयाँ कार्यक्रमअन्तर्गत महिलाहरूलाई विभिन्न प्राविधिक सीपमूलक तालिम प्रदान गरिने तथा स्वरोजगार र उद्यमशीलता प्रवर्द्धनका लागि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानको व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ।
त्यसैगरी, सामुदायिक विद्यालयबाट अध्ययन पूरा गरी प्राविधिक शिक्षा हासिल गर्न चाहने छात्राहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिने घोषणा पनि सरकारले गरेको छ। यस कदमले विपन्न तथा ग्रामीण क्षेत्रका छात्राहरूलाई उच्च तथा प्राविधिक शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मधेश प्रदेशमा तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले २०७५ साल भदौ १५ गते ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको औपचारिक शुभारम्भ गरेका थिए। बालिका शिक्षाको प्रवर्द्धन, लैङ्गिक समानता र छोरीप्रतिको सकारात्मक सोच विकास गर्ने उद्देश्यका साथ सुरु गरिएको उक्त कार्यक्रम प्रदेश सरकारको चर्चित योजनामध्ये एक मानिँदै आएको थियो।
अब भने बदलिँदो आवश्यकता र महिलाको आर्थिक आत्मनिर्भरताको लक्ष्यलाई केन्द्रमा राख्दै उक्त कार्यक्रमलाई परिमार्जन गरी ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ का रूपमा अघि बढाउने नीति मधेश सरकारले लिएको छ।