नेपालजस्तो विकासशील देशबाट मस्तिष्क (ब्रेन ड्रेन) र श्रम (लेबर ड्रेन) पलायन हुनु एउटा गम्भीर समस्या बनेको छ । हरेक वर्ष हजारौँ युवा विदेश पलायन भइरहेका छन्, उच्च शिक्षाका लागि होस् वा रोजगारको खोजीमा । यसले नेपालको आर्थिक, सामाजिक, र बौद्धिक क्षमतामा ठूलो असर पारिरहेको छ ।
१. रोजगारको अवसरको अभाव
नेपालमा शिक्षित युवाहरूका लागि योग्यता अनुरूप रोजगार पाउन गाह्रो छ । अधिकांश युवा बेरोजगारी रहनुपर्ने वा न्यून पारिश्रमिकमा सन्तुष्ट हुनुपर्ने बाध्यता छ । विदेशमा तुलनात्मक रूपमा राम्रो आम्दानी हुने भएकोले रोजगारका लागि बाहिरिनु बाध्यता बनेको छ ।
२. कम पारिश्रमिक र अस्थिर रोजगार
नेपालमा श्रम बजार सीमित छ, र यहाँ काम गर्नेले विदेशजस्तो सम्मानजनक पारिश्रमिक पाउँदैनन् । प्रायः श्रमिकहरू न्यून तलब र अस्थायी रोजगारका कारण विदेश जान बाध्य छन् ।
३. अस्थिर राजनीतिक अवस्था
नेपालको राजनीतिक अस्थिरता र नीतिगत अन्योलताका कारण लगानीको वातावरण राम्रो छैन । सरकार परिवर्तनसँगै नीति तथा कार्यक्रम परिवर्तन भइरहँदा दीर्घकालीन विकासका योजना प्रभावित हुन्छन् । यसले गर्दा युवाहरूमा निराशा उत्पन्न भई विदेश पलायन गर्ने सोच बढ्छ ।
४. उच्च शिक्षाको अवसरको अभाव
नेपालमा उच्च गुणस्तरीय शिक्षा प्राप्त गर्न गाह्रो छ, विशेष गरी प्राविधिक र विज्ञानसम्बन्धी क्षेत्रमा । सीमित स्रोत र अवसरका कारण विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश जान बाध्य हुन्छन् । विदेशमा शिक्षा लिएर नेपाल फर्किनुको साटो त्यहीँ अवसर खोज्ने प्रवृत्ति बढ्दै गएको छ ।
५. जीवनस्तर सुधार्ने चाहना
विकसित देशहरूमा उपलब्ध उत्कृष्ट सुविधा, जीवनशैली, स्वास्थ्य सेवा, सुरक्षाका कारण पनि धेरै नेपाली विदेश पलायन हुन्छन् । नेपालमा आधारभूत सेवा सुविधा कमजोर भएकोले मानिसहरू राम्रो भविष्यको खोजीमा विदेश जान्छन् ।
६. सीपको सम्मानको अभाव
नेपालमा सीपमूलक कामलाई त्यति सम्मान दिइँदैन । विदेशी भूमिमा नेपाली श्रमिकहरूले राम्रो अवसर पाउने, उच्च आम्दानी गर्ने र श्रमको उचित सम्मान पाउने भएकाले बिदेसिन रुचाउँछन् ।
यस पलायनको जिम्मेवार को ?
नेपालबाट मस्तिष्क (ब्रेन ड्रेन) र श्रम (लेबर ड्रेन) पलायन हुनु गम्भीर समस्या बनेको छ । तर यसको जिम्मेवार को हो ? मुख्य रूपमा सरकार, शिक्षा प्रणाली, निजी क्षेत्र र समाजका विभिन्न पक्षलाई जिम्मेवार मान्न सकिन्छ ।
१. सरकारको भूमिका
नेपाल सरकार नै मस्तिष्क र श्रम पलायनको प्रमुख जिम्मेवार हो । किनभने रोजगार सिर्जनामा असफलता । सरकारले दीर्घकालीन योजना बनाएर रोजगार सिर्जना गर्न सकेको छैन ।
राजनीतिक अस्थिरता: बारम्बारको सरकार परिवर्तन, नीतिगत अन्योल र भ्रष्टाचारले लगानीको वातावरण बिग्रिएको छ ।
शिक्षा र अनुसन्धानमा लगानीको अभाव : सरकारले गुणस्तरीय शिक्षा, सीपमूलक कार्यक्रम तथा अनुसन्धानमा पर्याप्त लगानी नगर्दा विद्यार्थीहरू विदेश जान बाध्य छन् ।
२. निजी क्षेत्रको भूमिका
नेपालको निजी क्षेत्र पनि युवाहरूको विदेश पलायन रोक्न असफल भएको छ ।
कम तलब र अवसरको कमी: नेपालका धेरै कम्पनीहरू श्रमिकहरूलाई न्यून पारिश्रमिक दिन्छन्, जसले गर्दा उनीहरू विदेश जान बाध्य हुन्छन् ।
सीमित अवसर: प्रविधि, अनुसन्धान, र नवप्रवर्तनका लागि निजी क्षेत्रले उचित अवसर सिर्जना गर्न सकेको छैन ।
३. समाज र व्यक्तिगत सोचाइ
प्रवृत्ति र मानसिकता: नेपाली समाजमा विदेश जानु प्रतिष्ठाको विषय बनेको छ । परिवार र समाजले विदेश जान प्रेरित गर्ने प्रवृत्तिले पनि पलायन बढाइरहेको छ ।
सीपको अवमूल्यन: नेपालमा सीपयुक्त कामलाई सम्मान गरिँदैन, जसले गर्दा युवा विदेशमा अवसर खोज्न प्रेरित हुन्छन् ।
यसलाई अझ विस्तृत रूपमा भन्नुपर्दा “आफैँ खाऊँ, आफैँ लाऊँ र मैँ मात्र बाँचूँ” भन्ने खालका मान्छेहरू यहाँ अधि सङ्ख्य छन् । तिनलाई एक खालको स्वर्ग छ । कर छलौँ, गरिब लुटौँ, सहकारी ठगौँ, कमजोर आर्थिक अवस्था र कम पढाई लेखाइ भएकाहरूलाई मिटर ब्याजमा पैसा थोपरिदिएर घर वास उखेलौँ भन्नेहरूलाई पनि यो देश स्वर्ग नै हो । जनता झुक्क्याउने भाषण गर्न खप्पिस राजनीतिको झोला बोकी हिँड्नेहरू जसको कामधन्धा अरू केही देखिन्न, लाखौँको गाडी छ, घरको छानो कसैले हेर्न चाहे टोपी खस्ने खालको अग्लो छ तिनका लागि पनि नेपाल शीतल छ, मनतातो छ र मनोरम छ । तर जन्म दिने आमा र जन्मस्थान स्वर्गभन्दा प्यारो हुन्छ भन्ने बुझेकाहरूलाई यो देश देख्दा, देशको सबै खाले अवस्था हेर्दा पक्कै रुन मन लाग्छ । राष्ट्र प्रेमीहरूले आँसु रोक्न सक्दैनन् ।
यो देशमा बनाइएको गणतान्त्रिक संविधान २०७२ ले भुईँ मान्छेहरूलाई गज्जब–गज्जबका सपना बाँड्यो । शिक्षा मौलिक हक भन्यो तर पैसा नहुनेले कहिल्यै पढ्न पाएन । स्कूलमा भर्ना मात्रै गरेर अलपत्र पारियो । पैसा नहुनेले पनि निश्शुल्क उपचार पाउँछ भन्यो संविधानले तर उपचार खर्च बेहोर्न नसकेर अग्ला अस्पतालका कौसीबाट हाम फालेर मरे । चर्को शुल्क तिर्न नसकेर गरिबहरू आफ्नो बिरामी अस्पतालमै छाडेर भागे । पहिला पहिला अन्याय, अत्याचार भयो होला आइन्दा हुन्न भन्दै संविधानले मानव अधिकारको पूर्ण प्रत्याभूति दिने कुरा ग¥यो, तर प्रत्येक दिन मुलुकको वल्लो भित्तोदेखि पल्लो भित्तोसम्म हाकाहाकी मानव अधिकार हनन भए, तर लेखिएको मानव अधिकारले केही मदत गरेन । तर कमजोर वर्गले आँखाबाट रगत र आँसु मिसिएको पदेलो पानी झारेको झार्यै गर्यो । जनतालाई न्याय दिन नसक्ने खालको वा कार्यान्वयन गर्न कठिनाइ हुने खालको संविधानको मस्यौदा तयार गर्ने कानुनका विज्ञहरू, त्यसमाथि छलफल गरेर “ठिक छ, ठिक छ, बहुत बढिया छ” भन्नेहरू जिउँदै छन् । अरू जनतालाई त कष्ट भयो भयो, आफैँलाई पनि पश्चात्ताप भएर मुन्टो लुकाएर हिँड्नेहरू पनि जिउँदै छन्, त्यतिकै काठमाडौँको गल्ली र सडकतिर घुमिहिँडेका छन् । तर, उदेकलाग्दो कुरो के भने हचुवाका भरमा बनाएको संविधानले गतिलो काम गर्न सकेन, तिनीहरू भन्दैनन् ।
मुलुक एक दिनमै बिग्रिने होइन, बिग्रिएको होइन । कुनै शासकको पालामा अलिकति बिग्रियो । अर्को शासकको पालामा थप बिग्रियो । बिस्तारै–बिस्तारै मुलुक तल खस्कियो । कुनै एक मात्र शासक मुलुकको बिग्रँदो अवस्थाप्रति जिम्मेवार छ भन्नु सोह्र आना गलत हुन्छ । कसैले बिग्रायो तर कसैले सपार्न सकेन । तर देश रहेसम्म सप्रिने सम्भावना सधैँभरि रहन्छ, यथेष्ट रहन्छ । सन् १९७० सम्म नेपाल अन्नमा आत्मनिर्भर थियो मात्रै होइन, भोकमरीको चपेटमा परेका मुलुकका जनतालाई सहयोग स्वरूप अन्न दान दिने हैसियत पनि थियो । अहिले अन्य मुलुकबाट नकिने नेपालीको पेट भरिन्न । अर्बौँ रुपियाँको चामल मात्रै छिमेकी मुलुक भारतबाट आयात हुन्छ ।
केही दिन अघि मात्रै एउटा रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टले भन्छ– “नेपालमा उत्पादन भएको गहुँले तीन महिना मात्रै माग धान्छ ।” केही दिनभित्रै भारतबाट २ लाख टन गहुँ किनिँदै छ । यसो गर्नु पछाडिको कारण गहुँको मूल्यवृद्धि रोक्नु हो भनिएको छ । गहुँ कम हुने बित्तिकै पचास रुपियाँ किलोको गहुँ सय रुपियाँ पुग्छ । जनता महँगीको मारमा पर्छ । यो समस्याबाट मुक्ति पाउन सरकार भारतसँग गहुँ किन्ने तरखरमा लागेको छ । यो त एउटा उदाहरण मात्रै हो । जब गहुँ कम भयो भने यसको अर्थ अरू अन्न, फलफूल र तरकारीसमेत कम भएको सहजै अनुमान गर्न सकिन्छ । यसको कारण खोतल्दा पत्ता लाग्छ, नेपालीले गरी खानभन्दा मागी खान सिक्यो । गरी खान सिकेको भए बाँच्ने प्रमुख आधार अन्न, तरकारी र फलफूलको कमी हुने थिएन । हुन त जनता आफैँले मागी खान सिकेको होइन । पुराना सरकारहरूले विदेशीसँग हात थापेर जनता पाल्ने बानी नबसालेको भए आज यो दुर्दशा हुने थिएन ।
नजानेको कुरा बेग्लै हो, काम गर्न जान्नेहरू पनि कम्मरमा हात लगाएर दिनैभरि ठन्डाराम बस्ने भए । खेतबारी घाँस उम्रिएर ढाकिए, तर खेतबारीमा कुटो, कोदालो र मान्छेको पाइलो पुगेन । काम नगरे पनि भान्छामा चामल, पीठो, नुन, तेल र खिस्रिङमिस्रिङ सबै पुगे । खानाको खाँचो भएन । काम गर्न जरुरी भएन । काम नगर्दा बिहान–बेलुकाको छाक टार्न मुस्किल हुँदो हो त आज बिहानदेखि बेलुकासम्म क्यारम बोर्डमा झुल्ने युवाहरू खेतबारीमा भेटिन्थे । मोबाइल र टेलिसिरियलमा समय खेर फाल्ने महिलाहरूको ढाडमा डोको, डालो र ती डोका डालामा अन्न, फलफूल र तरकारी देखिन्थे । त्यो अवस्था आज छैन । “विना काम, मुखमा माम” को अवस्था छ । यस्तो परावलम्बी अवस्थामा नेपाली समाज बाँचेको छ । तर यस्तो दिन सधैँभरि रहन्छ भनेर कसैले नसोचोस् । आज अन्न, फलफूल र तरकारी उत्पादन गरेर हामीलाई बेच्नेहरूलाई नै ती चीज नपुग हुन सक्छ । त्यस्तो अवस्थामा जीवन धान्ने चीज हामीलाई नदिन सक्छन् । अनि हाम्रो जीवन सङ्कटमा पर्न सक्छ भन्ने कुरा खोइ सोच्न सकेको ? उदाहरण त छ नै । केही समय अघि छिमेकी भारतले नेपालमा प्याज निर्यात गर्न बन्दै गरेको थियो । आफ्नो देशमा प्याज उत्पादन कम हुँदा जनताको माग धान्न नसकेको अवस्थालाई कारण बताइएको थियो ।
अन्न र खानेकुरा कम हुनु नेपालका लागि ठूलो समस्या त हो नै, अहिले झनै डरलाग्दो समाचार त के आयो भने झन्डै झन्डै देशै रित्तिने गरी डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरू नेपाल छाडेर विदेश पलायन हुन लागे । यस्तो महँगी बेहोर्न परिरहेको अवस्थामा एउटा डाक्टरको मासिक तलब १ लाख रुपियाँ पनि छैन । यस्तो दयनीय अवस्था झेलेर डाक्टरहरू कति दिन बस्लान् ? बाध्यताकै बिच डाक्टर पलायन भएका हुन्, हुने क्रम बढेको हो । यिनलाई दोष दिन सकिन्न । अब नेपाल सरकारले चुहावट र आर्थिक भ्रष्टाचार पूरै नियन्त्रण गरेर वा अन्य उपाय रचेर, जेसुकै उपाय अपनाएर भए पनि स्वास्थ्यकर्मीलाई पुग्ने सम्मको तलब सुविधा दिनुपर्छ । होइन भने विदेश पलायन हुनबाट कसैले रोक्न सक्ने छैन । डाक्टर र नर्सको कमी हुँदा यो मुलुकमा केसम्म हुन सक्छ त्यो अहिले कल्पना नगर्दा कल्याण हुन्छ ।
अब उसै त विदेश पलायनले खोक्रो बन्दै गएको मुलुकमा फेरि साउदी अरेबियाले नेपालबाट हजारौँ कामदार लैजाने खबर आएको छ । अब बचेखुचेका दह्रा हात र बलिया पाखुराहरूसमेत खाडीतिर भविष्य खोज्न हिँडे भने त्यसपछिका दिनहरू नेपाल र नेपालीका लागि अझै कष्टकर हुने निश्चित छ । यस्ता समस्या समाधानका लागि वर्तमान सरकारले दीर्घकालीन योजना बनाएरै अघि बढ्नु मनासिब हुन्छ । तर, पटक पटक प्रधानमन्त्री भएकाहरूलाई फेरि फेरि प्रधानमन्त्री बनाएर समस्या समाधान होला वा पटक पटक राष्ट्रपति भएको व्यक्तिलाई फेरि राजनीतिमा ल्याएर प्रधानमन्त्री बनाएर यो देशको समस्या समाधान होला भनेर कल्पना गर्नु चाहिँ मुर्ख्याइँसिवाय केही हुने छैन ।
निष्कर्ष
मस्तिष्क र श्रम पलायन गम्भीर विषय हो, जसले राष्ट्रको समग्र विकासमा असर पारिरहेको छ । सरकार तथा सम्बन्धित निकायहरूले दीर्घकालीन रणनीति बनाएर रोजगार सिर्जना, पारिश्रमिक वृद्धि, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा सुधार तथा राजनीतिक स्थिरता कायम गर्न जरुरी छ । अन्यथा, योग्य जनशक्ति गुम्दै जानेछ र राष्ट्रको दीर्घकालीन विकासमा असर पर्नेछ ।
मस्तिष्क र श्रम पलायनको मुख्य जिम्मेवारी सरकार, निजी क्षेत्र, र समाज सबैले लिनुपर्छ । सरकारले दीर्घकालीन रोजगार नीति बनाउनुपर्ने, निजी क्षेत्रले राम्रो अवसर सिर्जना गर्नुपर्ने र समाजले विदेश मोह कम गर्नुपर्ने आवश्यकता छ । यदि यी पक्षहरूले सुधार नगरे, नेपालबाट योग्य जनशक्ति पलायन भइरहने छ, जसले राष्ट्रको विकासमा गम्भीर असर पार्नेछ ।
(लेखक शिक्षाविद् एवम् वीरगञ्जस्थित ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत हुन् ।)