×

वीरगञ्ज । “प्रकृतिको संरक्षण गरौं, भविष्य सुरक्षित बनाऔं” भन्ने मूल नारासहित जीवन ज्योती स्कुलको सहकार्यमा वातावरण दिवस २०८३ को अवसरमा आयोजित ५ दिने कार्यक्रम अन्तर्गत पाँचौँ तथा मुख्य दिन वीरगञ्ज महानगरपालिका–१५ भिस्वा डाँडा प्राङ्गणमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रम प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, समाजसेवी तथा अधिवक्ता प्रकाशकुमार उपाध्याय, भगवान श्रेष्ठ, जीवन ज्योती स्कुलका प्रधानाध्यापक शिव गुप्ता, एशियन लाइफ इन्स्योरेन्स वीरगञ्ज शाखा प्रमुख सोनालाल सहनी, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, भिस्वा गुम्बाका सुन्दर श्रेष्ठ, युवा अभियन्ता दिलिप कार्की, भिस्वा प्रहरी पोस्ट प्रमुख प्रहरी सहायक निरीक्षक आर.पी. सिंह, प्रतिष्ठानका सदस्य भोला प्रसाद, केदार गुप्ता, रिम खबर नेपालका सञ्चालक आकाश पटेल लगायत विद्यालयका शिक्षक दिपा थापा तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको शुभारम्भ अध्यक्ष सिंह र विद्यार्थीहरूले संयुक्त रूपमा रुखबिरुवा रोपेर गरेका थिए। सो अवसरमा निम, बेल, अमला, गोल्डमोहर, अम्बा, जकरन्डा, रजनिगन्धा, बेरीलगायत विभिन्न प्रजातिका २५ वटा बिरुवा रोपिएको प्रकृति सेवा प्रतिष्ठानका सहसचिव अभिनाश झाले जानकारी दिए।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवालले वातावरण संरक्षणलाई मानव जीवनसँग प्रत्यक्ष जोडिएको विषय बताउँदै हरियाली संरक्षण अपरिहार्य रहेको उल्लेख गरे। उनले वीरगञ्ज नजिकै पथलैयामा घना जङ्गलका कारण वर्षा बढी हुने उदाहरण दिँदै वनजंगलले वातावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

त्यसैगरी समाजसेवी अधिवक्ता प्रकाशकुमार उपाध्यायले पछिल्ला वर्षहरूमा वीरगञ्जमा पानीको समस्या बढ्नुको प्रमुख कारण वातावरणीय असन्तुलन भएको उल्लेख गर्दै वृक्षारोपण र सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रमका अध्यक्ष सरदार जसपाल सिंहले “हरियो, सफा र स्वस्थ वीरगञ्ज, प्लास्टिक झोला तथा प्रदूषणमुक्त वीरगञ्ज” भन्ने लक्ष्यसहित प्रतिष्ठानले वर्षभर विभिन्न जनचेतनामूलक तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले वातावरण दिवसको अवसरमा मात्रै नभई वर्षभर निरन्तर अभियान सञ्चालन गरी वातावरण संरक्षणमा योगदान पुर्‍याउँदै आएको जानकारी दिए।

कार्यक्रममा सहभागी अतिथि, विद्यार्थी, शिक्षक तथा सहयोगी संस्थाका प्रतिनिधिहरूलाई प्रतिष्ठानले प्रमाणपत्र प्रदान गरी सम्मान समेत गरेको थियो। आयोजकका अनुसार यस किसिमका कार्यक्रमले विद्यार्थी तथा समुदायमा वातावरण संरक्षणप्रति सचेतना बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Back to top