×

दमास्कस । सिरियाको राजधानी दमास्कसमा स्थानीयले खुसी मनाइरहेका वेला इजरायलले हवाई आक्रमण गरेको छ ।

इजरायलले लडाकु जहाजमार्फत सिरियाली सेनाको चौथो डिभिजन र दमास्कस आसपासको क्षेत्रमा रहेका राडारमा आक्रमण गरेको अल जजिराले जनाएको छ ।

इजरायली सेनाको चौथो डिभिजनले तत्कालीन राष्ट्रपति बसर अल असदका भाइ महेर अल–असदको सुरक्षा गर्दै आएको थियो ।

त्यस्तै राडार रहेको क्षेत्रमा सिरियाली हवाई सुरक्षा प्रणाली जडित छ । यसका कारण इजरायली सेनाले यी दुवै संवेदनशील क्षेत्रमा आक्रमण गरेको दाबी गरिएको छ ।

बेलायतमा आधारित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार, इजरायली लडाकु विमानहरूले दमास्कसको कासिउन क्षेत्रमा रहेका विभिन्न रक्षा प्रणाली र अनुसन्धान क्षेत्रमा आक्रमण गरिरहेका छन् ।

यसअघि शुक्रवार, इजरायली हवाई आक्रमणले दमास्कस र स्वीदा जिल्लाका ६ वटा सैन्य क्षेत्रमा आक्रमण गरेको सिरियन अब्जरभेटरीले जनाएको छ ।

यसैबिच सिरियामा विद्रोहीको नियन्त्रण भएपछि रुसी सेना फर्किन थालेको छ । रुसी सेनाका गाडीहरू दमास्कस-होम्स राजमार्ग हुँदै बन्दरगाह तर्फ जान थालेका छन् ।

साथै हवाई अड्डाहरूमा रुसका सैन्य जहाजहरू रुस फर्किन तयारीमा देखिएका गुगल तस्बिरले पुष्टि गरेका छन् ।

Back to top