×

सिधे नुन (रक साल्ट) सेतो नुनभन्दा बढी स्वास्थ्यकर हुन्छ भन्ने धारणा धेरै मानिसमा पाइन्छ। 

तर चिकित्सकहरू कुन नुन खाने भन्नेभन्दा पनि कति मात्रामा खाने भन्ने कुरा स्वास्थ्यका लागि धेरै महत्त्वपूर्ण हुने बताउँछन्।

सेतो नुनलाई प्रशोधन गरी त्यसमा आयोडिन मिसाइन्छ। आयोडिन थाइराइड ग्रन्थिको कार्य र मस्तिष्कको विकासका लागि आवश्यक पोषक तत्त्व हो। विशेषगरी गर्भवती महिला र बालबालिकाका लागि पर्याप्त आयोडिन अत्यन्त आवश्यक छ।

तर सिधे नुनमा आयोडिन हुँदैन। यसमा केही प्राकृतिक खनिज तत्त्व भए पनि तिनको मात्रा निकै कम हुने भएकाले त्यसबाट विशेष स्वास्थ्य लाभ नहुने चिकित्सकहरू भन्छन्। सिधे नुन र सेतो नुन दुवैको मुख्य रासायनिक तत्त्व सोडियम क्लोराइड नै हो। सिधे नुन कम नुनिलो हुने भएकाले स्वाद मिलाउन धेरै हालिन्छ। यसले शरीरमा सोडियमको कुल मात्रा झन् बढ्न सक्ने उनीहरू बताउँछन्।

चिकित्सकहरूले दैनिक खानपानमा आयोडिनयुक्त सेतो नुन प्रयोग गर्न र यसको मात्रा भने नियन्त्रणमा राख्न सुझाव दिएका छन्। साथै अचार, चटनी, साम्बार तथा धेरै नुन प्रयोग गरिएका प्रशोधित खाद्य पदार्थको सेवन सकेसम्म कम गर्न भन्छन्।

  • के हो सिधे नुन?

सिधे नुनलाई हिमालयन रक साल्ट वा पिंक साल्ट पनि भनिन्छ। यो सामान्यतया प्रशोधन नगरी प्राकृतिक रूपमा बिक्री गरिन्छ। यद्यपि लामो समयसम्म सेतो नुनको सट्टा सिधे नुन मात्र प्रयोग गर्दा शरीरमा आयोडिनको कमी हुन सक्छ, जसले थाइराइडसम्बन्धी समस्या बढाउने जोखिम रहने चिकित्सकहरू बताउँछन्।

(अस्वीकरण: सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ। थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस्।)

Back to top