×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज। पर्साको पोखरियास्थित पशु सेवा कार्यालयमा कार्यरत एकमात्र पशु चिकित्सक कौशलकुमार झा विगत तीन महिनादेखि कार्यालयमा नियमित रूपमा उपस्थित नभएको पाइएको छ। चिकित्सकको लामो अनुपस्थितिका कारण कार्यालयबाट प्रदान गरिने पशु उपचार सेवा प्रभावित बनेको छ भने सेवाग्राही किसान तथा पशुपालकहरू प्रत्यक्ष रूपमा मारमा परेका छन्।

स्थानीयका अनुसार पशु चिकित्सक झा लामो समयदेखि कार्यालयमा हाजिर नभए पनि उनी बिदामा छन्, काजमा छन् वा अन्य कुनै कारणले अनुपस्थित छन् भन्ने विषयमा कार्यालयले स्पष्ट जानकारी दिन चाहेको छैन। जिम्मेवार निकायबाट आधिकारिक धारणा सार्वजनिक नभएपछि स्थानीय कृषक तथा पशुपालकहरू अन्योलमा परेका छन्।

पोखरिया क्षेत्रका किसानहरू बिरामी गाई, भैंसी, बाख्रा, बङ्गुर, कुखुरालगायतका पशुको उपचार गराउन कार्यालय पुग्ने गरे पनि चिकित्सक उपलब्ध नहुँदा उपचार सेवा पाउन नसकी निराश भएर फर्किन बाध्य भएको गुनासो गरेका छन्। समयमै उपचार नपाउँदा कतिपय पशुको स्वास्थ्य अवस्था थप जटिल बन्ने जोखिम बढेको उनीहरूको भनाइ छ।

स्थानीय पशुपालकहरूले पशु सेवा कार्यालयमा चिकित्सकको नियमित उपस्थितिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार पशुपालन किसानहरूको आम्दानीको प्रमुख आधार भएकाले पशु स्वास्थ्य सेवा नियमित, सहज र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने आवश्यकता छ।

यता पशु सेवा कार्यालयले चिकित्सकको अनुपस्थितिबारे स्पष्ट जानकारी दिन अस्वीकार गरेको छ। कार्यालयले सेवा निरन्तरताका लागि आवश्यक पहल भइरहेको जनाएको भए पनि सेवा कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भन्नेबारे कुनै निश्चित समयसीमा भने सार्वजनिक गरेको छैन।

सरोकारवालाहरूले एकमात्र पशु चिकित्सक लामो समयसम्म अनुपस्थित रहँदा सरकारी सेवा प्रवाह नै प्रभावित भएको भन्दै सम्बन्धित निकायले तत्काल आवश्यक व्यवस्था मिलाई पशु उपचार सेवा नियमित गर्न माग गरेका छन्।

Back to top