वीरगञ्ज। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले अहिले सडक र संसद् दुवै मोर्चाबाट संघर्ष गरिरहेको बताएका छन्। आइतबार एमाले सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दुवै मोर्चालाई थप सशक्त बनाएर अघि बढ्ने बताएका हुन्।
‘हामी दुई मोर्चाको संघर्षमा छौं। एउटा सडक संघर्षको मोर्चा र अर्को संसद् संघर्षको मोर्चा,’ ओलीले भने।
उनले वर्तमान अवस्थामा सडक संघर्षको मोर्चामा केही धक्का लागेको स्वीकार गर्दै त्यसले कार्यकर्ताको मनोबलमा असर पारेको बताए। ‘अलिकति खस्किएको अवस्था छ। धक्का खाएको अवस्थामा कसैको मनोबल बुलन्द हुँदैन। धक्का खाएपछि अलिकति पीर त पर्ने भयो नै,’ उनले भने।
यद्यपि सडक आन्दोलनलाई पुनः प्रभावकारी बनाउने दिशामा पार्टीले काम गरिरहेको उल्लेख गर्दै उनले सडक संघर्ष र संसदीय संघर्ष एकअर्काका परिपूरक रहेको बताए।
अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीति परिभाषाविहीन, नीतिविहीन, दिशाविहीन र थितिविहीन बन्दै गएको दाबी गर्दै त्यसलाई सही दिशामा ल्याउन एमालेले संघर्ष जारी राख्ने बताए।
सरकार परिवर्तनका लागि लोकतान्त्रिक प्रणालीमा संवैधानिक, कानुनी तथा संसदीय प्रक्रिया नै अपनाउनुपर्ने उल्लेख गर्दै उनले हिंसा, आगजनी, तोडफोड, बलजफ्ती र कब्जाजस्ता गतिविधि असंवैधानिक हुने धारणा राखे।
उनले वर्तमान सरकार गठनको प्रक्रिया नै षड्यन्त्र र हिंसात्मक घटनाबाट सुरु भएको आरोप लगाउँदै देशमा बेलगाम अराजकता बढिरहेको बताए। ‘यहाँ प्रश्न लोकप्रियताको मात्र होइन, त्योभन्दा पनि ठूलो भद्दा प्रयास भइरहेको छ,’ उनले भने।
अध्यक्ष ओलीले यस्ता गतिविधिविरुद्ध एमाले सडक र संसद् दुवै मोर्चाबाट सशक्त रूपमा संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।