×

तेलंगना । भारतको तेलुगु सिनेक्षेत्रका सुपरस्टार अल्लू अर्जुनलाई शुक्रवार साँझ हैदराबादको सन्ध्या थिएटरमा भएको दुर्घटनासँग सम्बन्धित मुद्दामा उच्च अदालतले चार हप्ताको अन्तरिम धरौटी प्रदान गरेको छ । धरौटी प्रदान भएसँगै उनि थुनामुक्त भएका छन् । यसअघि उनलाई स्थानीय एक अदालतले १४ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिइएको थियो ।

तेलंगाना उच्च अदालतले दिएको आदेशमा भनिएको छ, “उनी अभिनेता हुन् भन्ने आधारमा उनलाई जीवन र स्वतन्त्रताको अधिकारबाट वञ्चित गर्न सकिँदैन । प्रत्येक नागरिकले समान अधिकार प्राप्त गर्नुपर्छ ।”

डिसेम्बर ४ मा “पुष्पा २: द रूल” को प्रदर्शनका क्रममा सन्ध्या थिएटरमा भएको भीड नियन्त्रणको असफलताले एक महिलाको ज्यान गएको थियो । मृतककी श्रीमानले प्रहरीलाई दिएको उजुरीका आधारमा अल्लु अर्जुन, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनविरुद्ध ‘हत्या प्रयास नभएको गैर कानुनी हत्या’ को मुद्दा दर्ता भएको थियो ।

प्रहरीले अल्लु अर्जुनलाई शुक्रवार उनको जुबिली हिल्सस्थित निवासबाट नियन्त्रणमा लिएको थियो । गिरफ्तारीका क्रममा अभिनेता र उनका परिवारका सदस्य, जसमा पिता अल्लु अरविन्द पनि थिए, उपस्थित थिए । अर्जुनले प्रहरीमाथि आफ्नो शयन कक्षमा अनुमति बिना प्रवेश गरेको आरोप लगाएका छन् ।

गिरफ्तारीपछि अर्जुनलाई चिक्कडपल्ली प्रहरी चौकी लगिएको थियो । घटनापछि अर्जुनले आफ्नो गिरफ्तारीलाई रोक्न उच्च अदालतमा निवेदन दिएका थिए, जसलाई अदालतले अस्वीकार गर्दै १४ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो ।

अभिनेता र थिएटर व्यवस्थापनले आफ्नो उपस्थिति बारे स्थानीय प्रहरीलाई पूर्व सूचना दिएको दाबी गरेका छन् । यसबारे नयाँ प्रमाणले पनि यो कुरा पुष्टि गर्ने देखिएको छ ।

घटनापछि, अर्जुनले सामाजिक सञ्जालमार्फत मृतक परिवारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने र घाइते बालकको उपचार खर्च बेहोर्ने घोषणा गरेका थिए ।

“पुष्पा २: द रूल” हालसम्मको ठूलो व्यावसायिक सफलता हासिल गर्दै सात दिनमा १२५.८ मिलियन अमेरिकी डलरको कमाई गरिसकेको छ ।

Back to top