×

साङ्केतिक तस्बिर ।

तेलंगना । भारतीय साउथ अभिनेता अल्लू अर्जुनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश भएको छ । तेलंगनाको एक स्थानीय अदालतले शुक्रवार उनलाई १४ दिनका लागि हिरासतमा पठाउन आदेश दिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

पुष्पा-२ का चर्चित अभिनेता समेत रहेका अर्जुनलाई शुक्रवार बिहान उनको घरबाट प्रहरीले पक्राउ गरेको थियो । अहिले भारतसहित विभिन्न देशमा पुष्पा-२को प्रदर्शन भइरहेको छ । त्यसैबिच डिसेम्बर ४ तारिखमा सन्ध्या थिएटरमा प्रोमोशनका लागि जाँदा भागदौड मच्चिँदा २५ वर्षीय रेवतीको मृत्यु भएको थियो । त्यही सिलसिलामा अनुसन्धानका लागि अर्जुनलाई प्रहरीले पक्राउ गरेको हो । मृतक रेवतीका छोराको अझै उपचार भइरहेको छ ।

प्रोमोशन कार्यक्रम व्यवस्थित गर्न नसक्दा, भीड व्यवस्थापन गर्न नसक्दा उक्त घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्‍यस दिन प्रहरीले लाठी चार्ज समेत गरेको समाचारमा उल्लेख छ । ‘थिएटर व्यवस्थापकले अर्जुन आउँछन् भन्ने थाहा हुँदाहुँदै भीड व्यवस्थापन गर्न कुनै सुरक्षा योजना बनाएको देखिएन । त्यहाँ छुट्टै प्रवेशद्वार वा बाहिरिने द्वार बनाइएको थिएन,’ प्रहरीले भनेको थियो ।

यसअघि तीन जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्म ‘पुष्पा २’ मा अल्लू अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ । नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन् ।   

एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ ।

Back to top