×

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका कम्तीमा ६ वटा विद्यालयमा बम विस्फोटको धम्की दिइएको छ ।

समाचार एजेन्सी एएनआईले फायर सर्भिसलाई उद्धृत गर्दै खबर दिएको हो । विद्यालयहरूलाई इमेलमार्फत बमको धम्की दिइएको छ ।

सुरुमा यस्ता चार विद्यालयमा बमको धम्की आएको जानकारी प्राप्त भए पनि पछिल्लो जानकारी अनुसार यस्ता विद्यालयको संख्या ६ पुगेको छ ।

धम्कीपूर्ण इमेल आएपछि विद्यालय बन्द भएको भन्दै विद्यालय बन्द भएपछि फर्किएका एक अभिभावकले सञ्चारकर्मीसँग कुरा गरेका छन् ।

उनी भन्छन्, ‘विद्यालयबाट म्यासेज आएको थियो तर धेरै ढिलो देख्यौँ । असामान्य अवस्थाका कारण आज विद्यालय बन्द रहने भनिएको थियो । केही दिनअघि पनि यस्तै गरी विद्यालय बन्द गरिएको थियो । हामीलाई स्कुल किन बन्द भयो भनिएको थिएन, त्यसैले म्यासेज नदेखेको कारण हामी यहाँ आएका हौँ ।’

दिल्लीको श्रीनिवासपुरीस्थित क्याम्ब्रिज स्कुलकी प्रिन्सिपल माधवी गोस्वामीले बिहान करिब ६ बजे प्रहरीलाई बमको धम्की आएको इमेलबारे जानकारी गराएको बताइन् ।

यसअघि ९ डिसेम्बरमा पनि दिल्लीका केही विद्यालयमा बमको धम्की दिइएको थियो । दिल्ली प्रहरीका दक्षिण पश्चिम डीसीपी सुरेन्द्र चौधरीले ४० भन्दा बढी विद्यालयमा बमको धम्की आएको बताएका थिए ।

Back to top