×

स्वस्थ माटो मानव जीवनको मुख्य आधार हो । यो केवल खेतीपातीका लागि मात्र नभई, पर्यावरणीय सन्तुलन, स्वच्छ पानी र स्वच्छ हावा सुनिश्चित गर्न पनि महत्त्वपूर्ण छ । स्वस्थ माटोले पोषणयुक्त अन्न उत्पादन गर्न सहयोग गर्छ, जसले मानव स्वास्थ्यलाई प्रत्यक्ष रूपमा असर गर्छ । साथै माटोले कार्बनलाई अवशोषण गरेर जलवायु परिवर्तनलाई कम गर्न र जैविक विविधतालाई संरक्षण गर्न मदत गर्छ ।

तर, अत्यधिक रासायनिक मल र कीटनाशकको प्रयोग, वन विनाश र असन्तुलित कृषि अभ्यासले माटोको उर्वराशक्ति घटाउँदै छ । स्वस्थ माटोको संरक्षणका लागि जैविक मलको प्रयोग, माटो जाँच, वृक्षारोपण र दिगो कृषि अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ । 

अहिले स्थानीय तहमा मौलाएको नारा ‘सोइल टेस्ट’ अर्थात् माटोको परीक्षण । हरेक वर्ष स्थानीय तहले माटोको परीक्षणकै लागि भनेर लाखौँ रुपियाँ खर्च गर्छन् । माटो परीक्षणपछिको नतिजा कस्तो आयो भनेर सार्वजनिक चाहिँ गरिँदैन तर सत्य के हो भने प्रतिवर्ष नेपालमा माटोको अवस्था बिग्रिँदै गएको छ । मानिसले आफ्नो स्वास्थ्य जाँच नियमित रूपमा गराउँछन् होला तर आफूले दैनिक रूपमा उपभोग गर्ने खाद्यान्न, तरकारी बाली उमार्ने माटोको स्वास्थ्यका बारेमा भने त्यति धेरै ध्यान दिँदैनन् । हामीले माटोको स्वास्थ्यमा सामान्य कुरालाई मात्रै ध्यान दिने हो भने स्वस्थ माटोबाट स्वस्थ उत्पादन लिन सक्छौँ । माटो परीक्षणले मुख्यतया: बिरुवालाई चाहिने पोषक तत्त्वहरू प्रदान गर्ने माटोको क्षमतालाई मात्र केन्द्रित गरिएको हुन्छ । यसरी माटोको समग्र गुणस्तर चाहिँ थाहा हुँदैन । केवल बाली उत्पादन, पानीको गुणस्तर वा अन्य कुनै एकल परिणाम मापन गरेर माटोको गुणस्तर निर्धारण गर्न सकिँदैन । माटोको गुणस्तर हावा वा पानीको गुणस्तरभन्दा धेरै फरक छ । यो केवल माटो प्रदूषणको परिधिमा मात्र सीमित छैन । सामान्यतया माटोको गुणस्तरलाई माटोको भौतिक, रासायनिक र सूक्ष्म जीव विज्ञानी गुणहरूको अन्तर्क्रियाले निर्धारण गरेको हुन्छ ।

बाली उत्पादन, पानीको गुणस्तर वा अन्य कुनै एकल परिणाम मापन गरेर माटोको गुणस्तर निर्धारण गर्न सकिँदैन । माटोको गुणस्तर हावा वा पानीको गुणस्तरभन्दा धेरै फरक छ । माटोमा अन्तर्निहित क्षमतालाई समायोजन गर्ने हो भने यी गुणलाई किसानले व्यवस्थित गर्न सक्छन् । त्यसैले के भन्न सकिन्छ भने गुणस्तर माटो आंशिक रूपमा भए पनि स्वस्थ माटोको सङ्गते हो । माटोको गुणस्तर नै ‘माटोको स्वास्थ्य’ शब्दको उत्पत्ति भएको छ । मानिसको स्वास्थ्य जस्तै माटोको स्वस्थताको पनि जाँच गर्न सकिने कुरा गर्छन्, माटो विज्ञहरू । एउटा स्वस्थ मानिसका स्वास्थ्य सूचक तापमान, रक्तचाप, धड्कनको दर भए जस्तै माटोको स्वास्थ्य मापन गर्ने पनि धेरै सूचना छन् । मानिसले निरन्तर जानेर वा नजानेर माटोलाई अस्वस्थ बनाइरहेका छन् । आँखाले हेरेरै पनि माटोको स्वस्थता जाँच्न सकिन्छ । त्यसबारे हेर्न अन्य वैज्ञानिक आधार पनि छन् ।

माटोका बारेमा लामो समयदेखि अध्ययन गरिरहेका कृषि प्रचार अधिकृत कृष्ण धितालका अनुसार माटोको स्वस्थताका बारेमा जानकारी पाउने धेरै सूचक छन् । माटोको जैविक, रासायनिक र भौतिक गुणहरूबिचको सम्बन्धमा माटोको स्वास्थ्य निर्भर रहन्छ । स्वस्थ माटोले मात्रै स्वस्थ उत्पादन दिन सक्छ । लामो समयदेखि अर्ग्यानिक उत्पादनमा जोड दिइरहेका वरिष्ठ कृषि प्रचार अधिकृत दीपक पौडेल भन्छन्, “मानव स्वास्थ्यको स्थिति जनाउन अत्यावश्यक सङ्केतहरू प्रयोग गरे जस्तै माटोको अवस्था स्वस्थ भए–नभएको पत्ता लगाउन स्वास्थ्य सूचकहरू विकास गरिएका छन् ।”

जसरी रुघाखोकी लाग्नु फ्लुको सूचक हुन सक्छ, त्यसरी नै सुक्खा र पटपटी फुटेको देखिने पानीको मात्रा वा सङ्कलन कम हुनाले अस्वस्थ माटोको सङ्केत हुन सक्छ । यस्ता धेरै सङ्केतलाई माटोको स्वस्थताको सूचकका रूपमा प्रयोग गरिँदै आइएको छ । माटोको स्वास्थ्य मापन गर्ने कुनै पनि स्वीकृत, मानकीकृत तरीका भने छैन र यी सूचकले सधैँ एक रूप परिणाम प्रदान पनि गर्दैनन् । यद्यपि वैज्ञानिकहरूले माटोको स्वास्थ्य मापन बुझ्न र सुधार गर्न आफ्नो प्रयास निरन्तर गरिरहेकै छन् । नेपालमा त्यसअनुसार काम हुन सकेको छैन र आधुनिक खेती प्रणालीको नाममा माटोको स्वास्थ्य ह्रास गर्ने काम भइरहेको छ ।

माटोको बारेमा अनेकौँ अध्ययन र अनुसन्धानसमेत भएका छन् । अध्ययनले माटोको स्वास्थ्य मापन गर्नका लागि वैज्ञानिकद्वारा एउटा नयाँ तरीका खोजी गरेका छन् । जसलाई माटो स्वास्थ्य स्कोर कार्ड (नतिजा समेटिएको पत्र) भन्ने गरिएको छ । माटोको जैविक, रासायनिक र भौतिक गुणका बारेमा समग्र जानकारी प्रदान गरेपछि त्यसको स्वास्थ्य अवस्थाका बारेमा जानकारी मिल्ने भनाइ पौडेलको छ । कृषकले पनि आफ्नो माटो कति स्वस्थ र कति अस्वस्थ छ भनेर पत्ता लगाउने गर्छन् । किसानले आफूले खेती गरेको माटो खनेर गँड्यौलाको सङ्ख्या गणना गरी आफ्नो खेतमा माटोको स्वास्थ्य अवस्थाको द्रुत मूल्याङ्कन गर्न सक्छन् । लामो समयदेखि माटोको स्वास्थ्यका बारेमा काम गरिरहेका कृषक महेश्वर दाहालले आफ्नो खेतबारीमा खन्दा र गोडमेल गर्दा गँड्यौला धेरै देखियो भने त्यसले उत्पादन बढाउने र खेतबारीको स्वास्थ्य राम्रो हुने सङ्केत पाउँछन् । आफूले लगाएको बालीको जरा कति गहिरो जान्छ, माटोका डल्ला सजिलै फुट्छ कि फुट्दैन, माटोको रङ तुलना गर्दा पनि माटो स्वास्थ्यबारे बुझ्न सकिने उनको अनुभव छ । उनका अनुसार गाढा रङ हुनुले माटोमा अधिक जैविक पदार्थ वा जैविक कार्बन हुनुलाई जनाउँछ । अर्को शब्दमा भन्नुपर्दा यो माटोको स्वास्थ्यको राम्रो सङ्केत हो । यस्ता थुप्रै सूचकको प्रयोग गरी सामान्य किसानले पनि आफ्नो माटो स्वस्थ भए/नभएको, स्वस्थताको अवस्थामा परिवर्तन आएको कुरालाई सजिलैसँग केलाउन सक्छन् । माटोको सम्बन्ध सीधै मानव स्वास्थ्यसँग जोडिएको हुन्छ । स्वस्थ माटोले नै स्वस्थ खाना उत्पादन गर्छ । स्वस्थ खानाले मानिसलाई स्वस्थ बनाउँछ । पशु चिकित्सक मणिप्रसाद सापकोटाको भनाइमा माटो र पशुको सम्बन्ध सीधै मानव स्वास्थ्यसँग हुन्छ । यसर्थ स्वस्थ माटोका लागि चाहिने आवश्यक प्राविधिक र आर्थिक सहयोग जुटाउन पनि उत्तिकै जरुरी छ र हामी सबै एकजुट हुनुपर्छ । ‘माटोको स्वास्थ्य’ गएको दशकमा कृषि र वातावरणीय क्षेत्रमा अति उच्चारण गरिएको नारा हो ।

जसको प्रारम्भिक सन्दर्भ भने सय वर्ष अघिदेखि नै सुरु भइसकेको थियो । यसबिचमा माटोको स्वास्थ्य बुझ्न र बुझाउन धेरै मान्यता आएका छन् । त्यसबाट के बुझ्न सकिन्छ भने माटोको स्वास्थ्यका बारेमा चेतना बढ्दै गएको छ । कतिपयले माटोको स्वास्थ्यलाई माटोको गुणस्तरका रूपमा बुझ्ने गर्छन् । तपाईँका मनमा पनि यो प्रश्न उब्जन सक्ला तर माटोको स्वास्थ्य र माटोको गुणस्तरको तात्पर्य एउटै होइन । माटोको गुणस्तर एक विशिष्ट शब्द हो । जसले माटोको एक विशेष प्रकार्य वा सामूहिक कार्यहरू प्रदान गर्ने क्षमतालाई जनाउँछ । अर्को भाषामा भन्नुपर्दा माटोको गुणस्तर भनेको माटोले प्रदान गर्ने सेवाको क्षमता हो । जस्तै बाली उत्पादन गर्न सक्ने क्षमता, माटोका जीवलाई उचित वासस्थान प्रदान गर्ने क्षमता आदि ।

त्यसैले माटोले दिनुपर्ने सेवा (जसलाई कार्य पनि भन्न सकिन्छ), चाहे त्यो बिरुवाका लागि होस् या प्राणी जगत्का लागि होस्, त्यो सही अनुपातमा दिने क्षमता राख्छ भने त्यस्तो माटोलाई गुणस्तर माटोको संज्ञा दिन सकिन्छ । हामीले माटोको जैविक पदार्थ र बाली उत्पादनका लागि गुणस्तर थाहा पाउनु छ भने माटोको पोषक तत्त्वको स्थिति मापन गरेर माटोको गुणस्तर निर्धारण गर्न सकिन्छ । नाइट्रोजनले आफूसँगै भएको नाइट्रोजनको स्रोत गोठ मेललाई सही रूपमा प्रयोग गर्न नजान्दा नेपाली किसानले करोडौँ मूल्य बराबरको नाइट्रोजन र युरिया मल गुमाइरहेका छन् । यससँगै रासायनिक मल खरिदका लागि बर्सेनि ठूलो परिमाणमा नेपाली पैसा बिदेसिने गरेको छ । गोठे मलको स्रोतमा गोबरलाई बढी लिने प्रचलन किसानमा छ तर गोठे मलबारे अनुसन्धान गरिरहेका कृषि प्रचार अधिकृत धितालले पशुको गाई भैँसीलाई खुवाएको दाना र घाँसमा रहेको नाइट्रोजनमध्ये २० प्रतिशत मात्रै उसको शरीरमा प्रयोग हुने र बाँकी पिसाब र गोबरबाट बाहिर आउने गर्छ । त्यसमध्ये ५२ प्रतिशत भने पिसाबबाट बाहिर आउँछ । एउटा गाई भैँसीले दैनिक कम्तीमा छ लिटर पिसाब गर्छ । एउटा किसानको घरमा दुई वटा ठूला पशु छन् भने तिनबाट वार्षिक चार हजार ३८० लिटर पिसाब निस्कन्छ । एक वर्षमा त्यो पिसाब प्रयोग गर्दा १३६ किलो युरिया र ८० किलो नाइट्रोजन पाउन सकिन्छ । यो अहिलेको बजार भाउमा छ हजार रुपियाँभन्दा धेरै हुन्छ ।

एकै पटक धेरै आम्दानी बढाउन रासायनिक विषादी तथा मलको जथाभाबी प्रयोगले माटोको गुणस्तरमा समेत ह्रास ल्याइरहेको छ । गाईबस्तुको मलमूत्र, घाँसपात, सोत्तरलाई गोठको नजिकै बनाइएको खाल्डो वा अन्य जग्गामा जम्मा गरी कुहाएर तयार पारिएको मल नै गोठे मल भए पनि त्यसको प्रयोग राम्रोसँग हुन भने सकेको छैन । नेपालमा जैविक मलको मुख्य स्रोतका रूपमा सोही मलको प्रयोग गरिन्छ ।

गोबर, मूत्र, सोत्तर तथा झारपातको प्रयोग हुने हुँदा बाहिरी सामग्री किन्नका लागि थप खर्च लाग्दैन । गोठे मलको प्रयोगबाट माटोको बनोटमा सुधार ल्याउने मात्र नभएर माटोको पानी धारण शक्तिसमेत बढ्छ । यो मलको प्रयोगपछि माटोमा रहने सूक्ष्म जीवको सङ्ख्या र सक्रियतामा समेत हुन्छ ।

रासायनिक मलको प्रयोगले केवल एक वा दुई खाद्य तत्त्व छोटो समयका लागि परिपूर्ति गर्छ । जबकि एक बिरुवाको वृत्ति विकासका लागि करिब १६ विभिन्न खाद्य तत्त्व आवश्यकता पर्ने भएकाले रासायनिक मलको सट्टामा गोठे मलकै प्रयोग बढाउन आवश्यक रहेको कृषि विशेषज्ञहरू बताउँछन् ।

अन्त्यमा,

अत्यधिक रासायनिक मल र कीटनाशकको प्रयोग, वन विनाश, र असन्तुलित कृषि अभ्यासले माटोको उर्वराशक्ति घटाउँदै छ। स्वस्थ माटोको संरक्षणका लागि जैविक मलको प्रयोग, माटो जाँच, वृक्षारोपण, र दिगो कृषि अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ ।

माटोको स्वास्थ्य संरक्षण गर्नका लागि हाम्रा प्रयासले मात्र मानव जीवनलाई स्वस्थ र भविष्यलाई सुरक्षित बनाउन सक्छ ।

(लेखक शिक्षाविद् एवम् वीरगञ्जस्थित ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत हुन् ।)

Back to top