×

"Religion is the sigh of the oppressed creature, the heart of a heartless world, and the soul of soulless conditions. It is the opium of the people." — Karl Marx 

धर्म एउटा गहिरो र व्यापक दृष्टिले परिभाषित हुनु पर्छ । धर्म एउटा व्यक्तिगत अनुभव हो, न कि कुनै बाहिरबाट लादिएको सिद्धान्त, परम्परा या पद्धति । धर्म भनेको आफूले आफूमा रहेको भित्री गुणलाई खोज्नु हो, यो एक आत्म-जागरूकता र अस्तित्व को गहिराइलाई बुझ्न सक्ने क्षमताको विकास गरी अघि बढ्नु हो ।

युग अर्थात् २० औँ शताब्दीका अद्भुत दार्शनिक ओशो भन्नुहुन्छ, “धर्मको सम्बन्ध कुनै कर्मकाण्ड, ग्रन्थ या कुनै सङ्गठित धार्मिक सस्ताहरूसँग त छदै छैन । यो त हाम्रो अन्तर्ह्रिदयको यात्रा पो हो । धर्मको अर्थ हो,” आफूले आफूलाई बुझुन् हो, आफूले आफूलाई नै हेर्नु हो । आफ्नो बुद्धि र विवेकलाई प्रयोग गरी कुनै नयाँ खोज गर्न आफू अग्रसर हुनु हो ।

ओशोको भनाइमा दमदार तर्क छ । उहाँ भन्नुहुन्छ, “जति पनि सङ्गठित धर्महरू छन्, मानिसको मनमा त्यसले भय सृजना गर्छ - पापको डर, नर्कको डर, ईश्वर रिसाउनुहुन्छ भन्ने डर आदी । यही भयले गर्दा व्यक्ती थाहै नपाई आज्ञाकारी हुन जान्छ र उसको आफ्नो मौलिकता विलीन भएर जान्छ ।

ओशो अगाडि भन्नुहुन्छ, “सङ्गठित धर्मले हाम्रो रचनात्मकतालाई प्रस्फुटित हुनै दिँदैन : धर्मले हामीलाई बच्चै देखी हाम्रो आफ्नो सोच्ने शक्ति र सृजनाशीलतालाई ध्वस्त पारिदिन्छ । जे भए पनि ईश्वरको कृपा भन्ने जुन मानसिकता हाम्रो बन्छ त्यसले हाम्रो आफ्नो मौलिकतालाई कहिल्यै पनि फल्न र फुल्न दिँदैन, र हामी सङ्गठित धर्मको दास बनी हाल्छौ । धर्मले एउटा व्यक्तिको प्रश्न गर्न सक्ने स्वतन्त्रतालाई वञ्चित गरिदिन्छ । भन्नुको मतलब के हो भने अतार्किक आज्ञाकारिताले हाम्रो अन्तरङ्ग क्षमतालाई मारिदिन्छ र लाग्छ यो नै संसार हो जुन हामीलाई धर्मले या ईश्वरले बताएका छन् । धर्मले हामीलाई प्रश्न गर्न सक्ने साहसलाई नै मारिदिन्छ र हामीलाई डरपोक बनाउँछ । अझ दक्षिण एसियाका केही देशहरूमा त धर्म को ठुलो व्यापार छ जसको व्याख्या “पिके, ओ माई गड” जस्ता  हिन्दी चलचित्रहरूमा प्रस्तुत गरिएको छ । धार्मिक संस्थाहरूले विशेष गरेर कुतर्कमा आधारित कडा नियम र परम्परालाई हामीमाथि थोपरेको हुन्छ जसलाई हामीलाई अपाङ्ग बनाइदिन्छ । फलस्वरूप आफ्नो विचार र दृष्टिकोणको हत्या हुन्छ ।      

ओशो भन्नुहुन्छ, “धर्मलाई पुनः परिभाषित गरिनु ज्यादै जरुरी छ । यदि धर्मलाई तर्कसङ्गत तरिकाले व्याख्या गरिने हो भने, यो हाम्रो रचनात्मकताको ठुलो श्रोत बन्न सक्छ । तर यसलाई धर्मका ठेकेदारहरूले व्यक्तिमा भ्रम सृजना गरेर आफ्नो व्यापार चलाई रहेका छन् । पूँजीवादको विकास सङ्गै धर्मलाई पनि पूँजीवादीकरण गरियो । र समयको गतिसँगै यसलाई जब राजनीतिको रङ्ग दिन थालियो, समाज धर्मको नाममा धूर्विकरण  हुन थाल्यो । समाजलाई विकृति बनाउन थालियो । धर्म त प्रयोग र अनुसन्धानमा आधारित हुनु पर्छ न की व्यक्तिलाई अन्धविश्वासमा धकेलिओस् । धर्मले त आत्म-जागरूकताको विकास गर्न मद्दत गर्नु पर्ने हो । जब व्यक्तिले आफूले आफूलाई चिन्न थाल्छ, सृजनाशीलता र रचनात्मकता आपसे-आफ विकसित हुन थाल्छ र समाजलाई समृद्धिको बाटो तर्फ डोर्‍याउन समय नै लाग्दैन ।

धर्मले एउटा व्यक्तिलाई स्वतन्त्रता दिनु पर्ने हो, यसले त व्यक्तिलाई नयाँ खोज गरी नयाँ दिशामा आफूलाई उड्ने शक्ति दिनु पर्ने हैन र ! तर जुन धर्म हामीमाथि थोपरिएको छ, यसले त हामीलाई मानसिक दास बनाउँछ। हो, यही कारणले हामीले विज्ञान र प्रविधिको विकास गर्न सकेनौ र आज पनि हामी त्यही आडम्बर र अन्धविश्वासमा बाच्न बाध्य भएका छौ ।

जो व्यक्ती आफूलाई सबैभन्दा ज्यादा धार्मिक भन्ने गर्छन्, उनीहरू नै सबैभन्दा बढी धार्मिक हुन्छन् जुन कुरा भारतमा र नेपालमा पनि  समयको गति सँगै पुष्टि हुँदै गयो । धार्मिक गुरुहरू जो अहिले जेलमा छन्: राम रहिम, स्वामी परमानन्द, आसाराम बापु, स्वामी अमृत चैतन्य अर्थात् सन्तोष माधवन, स्वामी सदाचरी साइ बाबा ॐ जि, सन्त् रामपाल, परमहम्स निथ्यानन्द, इच्चाधरी संत स्वामि भिमानन्द, राधे मा, चन्द्रस्वामी आदी ।

अहिले आएर धीरेन्द्र शास्त्री जस्ताले आफूलाई अलौकिक बाबा र भविष्य द्रष्टाको पगरी गुथेर भारत र नेपालका जनतालाई मूर्ख बनाइरहेका छन् । उनको बारेमा ब्लगर ध्रुव राठीले खोज मूलक जानकारी दिएका छन् आफ्नो युट्युब च्यानल मार्फत । राम बहादुर बम जस्ता लिटिल बुद्ध बनी मान्छेलाई मूर्ख बनाएका ध्यानी अहिले यौन दुराचारको अभियोग लागि जेलमा छन् । त्यस्तै सिद्धबाबा जसको खास नाम कृष्ण दास गिरी हो जस्ताले समाजमा एक किसिमको यौन आतङ्क नै मच्चाएका छन् ।

ठगी, यौन शोषण र शक्तिको दुरुपयोगका दस्ताबेज गरिएका घटनाहरूले आध्यात्मिक नेताहरूको प्रतिष्ठालाई धमिलो पारेको छ । धेरै बाबाहरू विरुद्ध अवैध गतिविधिमा संलग्न भएको र अन्धविश्वास फैलाउनेदेखि लिएर आर्थिक चोरी र यौन दुर्व्यवहारको आरोप छ । कतिपय बाबाहरूले आर्थिक र भावनात्मक रूपमा आफ्ना अनुयायीहरूलाई दुर्व्यवहार गरेको आरोपको सामना गर्नु परेको छ, आध्यात्मिक सान्त्वनाको खोजीमा उनीहरूको संवेदनशीलताको सिकार भएको छ । नाबालिगहरूको यौन शोषण र दुर्व्यवहार प्रायः उनीहरूको आश्रम वा आध्यात्मिक समुदायहरूमा हुने तथ्य नेपालमा केही बाबाहरूको अन्धकार पक्षको सबैभन्दा असन्तुष्ट विशेषताहरू मध्ये एक हो ।

आध्यात्मिक गतिविधिहरूको बहानामा  प्रायः महिला र बालबालिकाहरू यौन उत्पीडन र दुर्व्यवहारको सिकार भएका खबरहरू वर्गेल्ती छापाहरूमा आइरहेका छन् । विश्वासलाई आघात गर्दै यी धर्मानन्दहरुले  कमजोर अनुयायीहरूको शोषण गरेका छन्, उनीहरूलाई आघात र मनोवैज्ञानिक पीडा दिएर आफू उम्किन्छन् । विशेष गरी सांस्कृतिक लज्जाको कारणले गर्दा पीडितहरू अगाडि आउन नचाहेका कारण न्यायिक प्रक्रिया जटिल हुने गरेको पाइएको छ । यी जे जति भइरहेका छन् सबै धर्मका नाममा भइरहेका हुन्छन् ।

धर्मको बारेमा बुद्धले जस्तो तार्किक व्याख्या आजसम्म कसैले गरेको छैन । उहाँका अनुसार धर्म त सत्यता र आत्म-जागरणको मिश्रण हो। धर्म भनेको त जीवन जिउने एउटा वैज्ञानिक र व्यावहारिक मार्ग है । “अप्प दिपो भव” अर्थात् आफ्नो दिपक आफै बन्नु नै वास्तविक धर्म हो भनी बुद्धले व्याख्या गर्नु भएको छ । यसले त मानिसको दुःखलाई अन्त गरी अन्ततः : निर्वाण तिर डोर्‍याउनु हो ।

धर्मको बारेमा बुद्धको व्याख्या यस्तो छ : बाहिरी कर्मकाण्डबाट मुक्त, सत्यको खोज, आन्तरिक शान्ति र आत्मज्ञानको विकास ।

धर्मका बारेमा महावीरले पनि तार्किक व्याख्या गर्नु भएको छ । उहाँ भन्नु हुन्छ, “धर्म एक अत्यन्त सरल, व्यावहारिक, र आन्तरिक शुद्धिको मार्ग हुनु पर्छ न की कुनै आडम्बर । धर्म भनेको त आत्माको मुक्ति, अहिंसा, र  सत्य की खोज को एक  साधन हो । यो त आत्मानुशासन र नैतिकतासँग जोडिएको हुनु पर्छ । 

धर्म भनेको त त्यो तत्त्व हो जसले आत्मालाई उच्च मनोबल दिन्छ, पवित्र बनाउँछ र सबै किसिमको दुःख र कष्ट बाट मुक्त गर्छ न की धर्मले एक आपसमा लड्न र भिड्न प्रेरित गरोस् । संसारको कुनै पनि धर्मले एक आपसमा कटुता बढाउन प्रेरित गर्दैन । धर्म सधैँ सहिष्णु हुनु पर्छ । सबै धर्मले आफूभन्दा फरक दृष्टिकोण राख्ने धर्मलाई सम्मान गर्न सिकाउँछ । धर्मको साँचो अर्थात् “यसले आत्मालाई स्वतन्त्र गरोस् र सबैलाई समान दृष्टि राखोस् ।” 

अन्त्यमा, “Science can purify religion from error and superstition. Religion can purify science from idolatry and false absolutes.” — Pope John Paul II.

(लेखक शिक्षाविद् र वीरगञ्जस्थित ज्ञानदा एकेडेमीका प्रमुख हुन् ।)

Back to top