वीरगञ्ज । काँग्रेसका विश्लेषक पुरन्जन आचार्य भन्नुहुन्छ, “यी दुई ठुला दलले अब जसरी पनी कुनै कारण बिना पनि अब हिरासतमा राख्न सक्छ । भ्रष्टाचारको आवाजले अब हामी दुवै दललाई सिद्ध्याउने भो भनी उनीहरूको बिचको साठगाँठ हो र संसदीय समितिको नजिरले भोली यी दुई दललाई खाने छ र यो नितान्त प्रतिशोधको राजनीति हो ।” राज्य पक्ष लागो भने अब जसलाई पनि कुनै बेला पनि कसैलाई पनि जेल सडाउन सक्छ भन्ने घिनलाग्दो राजनीति यो देशमा सुरु भएको छ । आउँदो दिनमा यी दुवै दलले यसको ठुलो मूल्य चुकाउनु पर्ने हुन्छ ।
अनेक मुद्दा लगाएर आफ्नो दरिलो प्रतिपक्षलाई जुन बेला पनि सिद्ध्याउन सकिन्छ भनी जुन सत्ता र शक्तिको उन्मादमा यो काम भइरहेको छ, यो भोली उनीहरूकै लागि घातक हुने छ भन्नेमा कुनै दुई मत छैन ।
रविको आगमनले विशेष गरी काँग्रेस पङ्क्तिमा ठुलो भुईँचालो आएको कुरालाई हामीले नकार्न सक्दैनौ । दुई महिनासम्म गगन थापा एन्ड कम्पनीले जुन संसद् अवरुद्ध गरी संसदीय समितिको गठन गर्ने साह्रै अप्रजातान्त्रिक प्रक्रिया सुरु गर्यो, यसले भोली अख्तियार, सीआइबी, प्रहरी प्रशासन सबैलाई पङ्गु बनाउने छ । आखिर किन यसरी रबी लामिछानेलाई मात्र खेदो गरेको भन्दा यस दललाई गलाएर भोली आफ्नो वर्चस्व कायम गर्न सकिन्छ भन्ने मात्रा हो तर यही कदम उनीहरूको लागि दिनानुदिन प्रत्युत्पादक भइरहेको छ, हेक्का रहोस् यी काँग्रेसका भरौटेहरूलाई ।
यो देशलाई यिनीहरूले कसरी खोक्रो परेका रहेछन् भन्ने कुरा अधिकांश जनताले त्यत्तिखेरदेखि थाहा पाउन थाले जब देखी रास्वपाको उपस्थिति संसद्मा भयो । एक से एक घाघडान विद्वान्हरूको सम्मिश्रण बाट बनेको यो दलको आभाले निकै पोलेको छ, यी देशका ठुला कहलिएका दलहरूलाई । जसरी यिनीहरूले दुर्गा प्रसाईँलाई अस्पतालको अनुमतिको लागि सात वर्षसम्म दुःख दिए, त्यसै गरी रबी र बालेनलाई यिनीहरूले दुःख दिन खोजिरहेका छन् । काण्डै काण्डैले विभूषित भएको यी दलहरूले यो देशको लागि ३७ वर्ष देखी माखो मार्न सकेका छैनन् भन्ने कुरा जग जाहेर छ । जनताभन्दा ठुलो शक्तिशाली कुनै तन्त्र हुन सक्दैन र अहिले देश पुरै रबी लामिछानेमय भएको छ । अझ मधेस प्रदेशका भ्रष्टाचारका गाथाहरूको फेहरिस्त त कत्ती हो, कत्ती । अब आउँदो दिनमा मधेस पनि चाडै जाग्ने छ र जुरुक्कै उठ्ने छ भ्रष्टाचारीहरू विरुद्धमा ।
डाक्टर सुन्दर मणि दीक्षित, बाबुराम भट्टराई , सुरेन्द्र केसी, प्राध्यापक कृष्ण पराजुली, राम लोहनी आदी विद्वान्हरूको एउटै भनाइ छ, " जे रबी को विरुद्धमा भइरहेको छ त्यो रविलाई सिद्ध्याउने मेलो हो जुन उनीहरूकै लागि घातक हुनेवाला छ । रबी एक अङ्गार को अन्यायको विरुद्धको , यसले धेरै देशका कुपुत्रहरूलाई सिद्ध्याउने वाला छ ।
काँग्रेस र एमाले को नियोजित ग्र्याण्ड डिजाइनले अहिले रविलाई फसाइएको छ भन्ने कुरा धेरै एमाले र काँग्रेसका समर्थकहरूले पनि खुला रूपले भनी रहेका । न्यायालयमा अब जनताको विश्वास नै मरी सक्यो , यसको व्याख्या भूतपूर्व मुख्य न्यायाधीश सुशीला कार्कीले धेरै सार्वजनिक कार्यक्रममा भनी सक्नु भएको छ र कसरी राजनीतिक दलको आडमा न्यायालयमा न्यायाधीशहरू नियुक्ति हुन्छन् र उनीहरूबाट निष्पक्ष न्यायको आशा गर्नै सकिँदैन ।
रवि लामिछाने देशका एक होनहार युवा हुन् र उनमा राजनीतिक चेतना पनि उच्चस्तरको रहेको छ, यसमा कुनै कसैको दुई मत छैन । उनी संसारभर नै आफ्नो वाककलाका लागि प्रख्यात र गिनिज बुकमा नाम लेखाउन पनि सफल भएका युवा हुन् । उनको विगतको इतिहास सञ्चारकर्मीबाट उदाएको देखिन्छ ।
त्यसो त उनले देश विदेशमा विभिन्न कामहरू पनि गरे । उनको स्वभाव पहिलादेखि नै आफू चर्चामा आउन जेजस्ता परिस्थितिको सामना पनि गर्न तयार हुने खालको थियो । उनले टेलिभिजनमा लामो समय काम गरे र त्यहाँ काम गर्दा प्रत्यक्षता जनतासँग सरोकार राख्ने विषयवस्तुलाई कोट्याउँदै राम्रा वा नराम्रा जेजस्ता गतिविधि गरेर भए पनि अधिकांश जनताको नजरमा राम्रो काम गर्ने छाप पारेका व्यक्ति हुन् । यही कारणले उनको जनमत बलियो भयो र सामाजिक सञ्जालमा समेत उनको चर्चा भाइरल भयो । फलस्वरूप रविलाई पनि सबै काम छाडेर राजनीतिमा आएमा भलो हुने सोच आयो र उनी राजनीतिमा हाम फाले । दलहरूप्रतिको वितृष्णाले ग्रस्त भएको समाजमा केही जन पक्षीय काम गर्ने र जनतालाई समेत आश्वासन दिएपछि उनले आफूले नै पार्टी खोल्ने निर्णय गरे त्यो पनि निर्वाचनको मुखैमा र जनताको विश्वास आर्जन गर्न सफल भए । निर्वाचनमा जाँदा जनताबाट तिरस्कृत प्रदेश सरकारको चुनावमा भाग नलिने बरु आफू सरकारमा गए प्रदेश संरचनाविरुद्धका लागि लड्ने लोकप्रिय कुरा बताएर चुनावमा गए ।
चुनावमा रविलाई नसोचेकै परिणाम आयो । उनको पार्टीले कल्पना पनि नगरेजस्तो सफलता हात पार्दै संसद्मा छिर्न सफल भयो, त्यो पनि चौथो ठूलो शक्तिका साथ । सरकार गठनको क्रममा पनि उनले चासो राखे र छिटै आफ्नो बार्गेनिङ पावरको सदुपयोग गर्दै गृहमन्त्री बन्ने प्रस्ताव राखे । गृह मन्त्रालय प्रधानमन्त्रीपछि दोस्रो रोजाइको मन्त्रालय हो र उनले गृहमा आफ्नो दाबी छाडेनन् । फलस्वरूप उनले गृह मन्त्रालय लिएर सरकारमा पनि गए । एकाएक यसरी रवि चम्किए कि उनका फलोअर्सले समेत उनको निकै गुनगान गाए र थप हौसला दिने काम गरे । रवि यसरी चम्किएको विपक्षी दललाई मन पर्ने कुरै भएन र उनका विगतका कामकारबाही कोट्याउन कुनै कसर बाँकी राखेनन् । अब बिस्तारै रविका विगतका कर्तुतहरू देखिन थाले । जसरी उनी उदाएका थिए उनको विगतचाहिँ त्यति स्वच्छ र सुखद रहेनछ । उनको नागरिकता, पासपोर्ट र सहकारीसम्बन्धी काण्ड यति बलियो भएर प्रमाणसहित आयो कि यसले उनलाई क्रमशः गलाउँदै लैजान थाल्यो । यसलाई ढाकछोप गर्न प्रखर वाककला भएका रविलाई पनि धौधौ भयो र नागरिकताको केसमा चिप्लिए । यही काण्डले उनको सांसद पद पनि गयो र पुनः चुनाव लडेर जितेर संसद्मा छिर्नेसम्मका घटनाहरू घटे । यहाँ केही त्रुटि रविबाट भएकै हो, र उनी अलि बढी हौसिए ।
तत्पश्चात् पनि उनी पुनः गृहमन्त्री र उपप्रधानमन्त्री बनेर काम गर्न थाले भने उनको शक्ति यति भयो कि सरकार बनाउने र गिराउने खेलमा उनलाई प्रधानमन्त्रीको समेत अफर आएको चर्चा चल्यो । तैपनि सरकार, संसद्, छानबिनका निकायहरू र सुरक्षा निकायको शङ्कामा रहिरहेका उनी यति बेला अर्को फन्दामा परेका छन् । सर्वसाधारण जनताको सहकारी रकम ठगीमा उजुरी परेपछि र उनीमाथि छानबिन हुनुपर्ने तत्कालीन प्रतिपक्ष नेपाली काङ्ग्रेसको अडानपछि संसदीय छानबिन समिति नै बन्यो र उक्त समितिले रविलाई दोषी देखाउन सकेन । तथापि ठुला दलहरूको साठगाँठ बन्यो जसरी भए पनी यसलाई जेल कोच्नै पर्छ नत्र हाम्रो राजनीति नै स्वाहा नै हुन्छ । त्यसपछि भने नयाँ परिस्थिति देखा परिरहेको अवस्था विद्यमान छ । अन्ततः उनी पक्राउ परेपछि अहिले प्रहरी अनुसन्धान र अदालतको निर्देशनमा हिँडिरहेका छन् । तर उनी स्वयम्, उनको पार्टी, विपक्षी दल तथा शुभेच्छुकहरूले रविको पक्राउलाई राम्रो मानिरहेका छैनन् र उनको पक्षमा बोलिरहेका छन् । रास्वपाले त आधिकारिक निर्देशन नै जारी गरेर सम्पूर्ण शक्ति पहिला पोखरा र अहिले काठमाडौँमा केन्द्रित गरेको छ । २२ दिनको म्याद थप पछि फेरी १३ दिनको म्याद थपी उनलाई गलाउने कोसिस हुँदै छ तर उनी झन् शक्तिशाली हुँदै गइरहेका छन् । जसरी अरविन्द केजरीवाललाई गोदी मिडियाको कोप भजनमा पारी उनलाई जेल हालियो , ठिक त्यसै गरी रविलाई दुःख दिई रहेका छन् । सरकार जब तानासाही हुँदै जान्छ , उसले गर्ने नै यस्तो हो ।
पोखरामा दिनहुँ आन्दोलन, धर्ना, कोणसभा र दबाबमूलक विभिन्न कार्यक्रमहरू गरेर निर्दोष रविलाई छाड्नुपर्ने र ओली सरकार ढल्नुपर्ने जिद्दी कसिरहँदा त्यसको निरन्तरता अहिले काठमाडौँले समेत देखेको छ । रवि निर्दोष हुन् तर उनलाई फसाउन सरकार, सत्तापक्षका दलहरू, अदालत, सुरक्षा निकाय सबै कसिएर लागेका छन् भनेर उनका समर्थकहरूले नियमित भाषण गरिरहेका पनि छन् । तर, सबैले यस्ता गतिविधिलाई राम्रो मानेका छैनन् । कुनै पनि व्यक्ति यदि दोषी हो भने उसले सजाय पाउनुपर्छ र दोषी भए÷नभएको अन्तिम फैसला न्यायालयले गर्छ, यो केस पनि अदालती केस भएकाले अब अदालतको फैसला कुर्नुबाहेक अन्य कुनै पनि उपाय नभएकाले अनावश्यकको रोइलो बेकार रहेको पनि बताउँछन् ।
सहकारी ठगीमा रवि प्रत्यक्ष होलान् वा नहोलान्, जुन सुरक्षा निकायको अनुसन्धानपछि पत्ता लाग्ने र अन्तिम टुङ्गो अदालतले लगाउने नै छ । तर, यसरी प्रक्रियागत तरिकाले केस अघि बढ्नुपर्ने नियममा भाँजो हाल्न, अदालतका र स्वतन्त्र छानबिनका प्रक्रियामा अवरोध गर्न, प्रभाव पार्न र सर्वसाधारणलाई अन्योलमा राख्न रास्वपाले गरेको प्रदर्शन ठिक होइन भन्ने मठाधिसहरूको पनि यहाँ कमी छैन । विभिन्न दलका ठुलाबडा नेताहरूलाई पनि यस्ता आरोप लाग्ने गर्छन् र त्यस्ता आरोपमाथि छानबिन हुँदा दोषी भएमा नियमानुसार सजाय पाउने गरेको र दोषी नभए सफाइ पाउने गरेका उदाहरण प्रशस्तै छन् । तर, रविको केसमा यो प्रदर्शन किन भएको होला भन्नेमा अन्यौलता छाइरहेको अवस्था छ ।
रविका समर्थकहरूले आफ्ना भ्रष्टाचारका विषय लुकाउन, आफूहरू फस्न लागेको अवस्था छल्न, उदाउँदै गरेका युवा शक्तिलाई शक्तिहीन बनाई आफैँले रजगज गर्न र प्रतिशोध साँध्न मात्र रविलाई आरोप लगाइएको हो, तर रवि निर्दोष छन् भन्ने दाबी गर्छन् । यो प्रपञ्च देशका दुई ठूला दलहरू र अदालतसमेत मिलेर गरिएको हो भनेर आरोप लगाइरहेका छन् । के वास्तवमा यो आरोप सही हो त ? रविको केसमा के रवि निर्दोष नै हुन् त ? के रविलाई फसाएर उनी र उनको उदाउँदै गरेको वैकल्पिक शक्तियुक्त दललाई नामेट बनाउन चालिएको चाल हो त ? के यसमा अदालत र सबै निकायहरू रविका विरुद्ध जाइलाग्न र उनलाई फसाउन मिलेका छन् त ? बडो सोचनीय विषय बनेको छ र अहिले यसमा बहस पनि चलिरहेको छ । यसमा शङ्का, उपशङ्का गर्ने थुप्रै चरहरू पनि देखिन्छन् ।
एकातिर सरकार ढल्नुमा भ्रष्टाचारका फाइलहरू रविले धमाधम खोल्दै व्यक्ति पक्राउ गर्ने अभियान चलाउनु, ठूला–ठूला काण्डमा ठूला–ठूला नेताकै नाम आउन थाल्नु, ठूला नेताहरू नै पक्राउ पर्ने सम्भावना बढ्नु र अर्कातिर संसद्मै रविलाई सहकारी ठगको आरोप लगाई नाङ्गे झार पार्नु, प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिन समितिको माग राखेर महिनौँ संसद् अवरुद्ध पार्नु, रविलाई जेलमा नहाली नछाड्ने अभिव्यक्ति दिनु दुवै शङ्काको घेराभित्र रहेको मान्न सकिन्छ । यस क्रममा सहकारी रकम अपचलनमा रविको नाममा किटानी जाहेरी पर्नु, उनीहरूले आरोप लगाएका दुई ठूला दलहरू साँठगाँठ गरी सरकार गठनको प्रक्रियामा जानु, संसदीय समिति बन्नु, समितिले छानबिन गरी रविलाई दोषी ठहर गर्नु, प्रतिवेदन प्राप्त हुनासाथ कार्यान्वयन गर्ने हतारो निर्णय गर्नु, लगत्तै रविलाई पक्राउ आदेश जारी गरी पक्राउ गर्नु मुख्य उदाहरण हुन् ।
तथापि, रवि पक्षबाट पनि अदालतबाट फैसलाको प्रतीक्षा गर्नुपर्नेमा सरकारविरुद्ध विषवमन गर्दै सम्पूर्ण शक्ति प्रदर्शन गर्नुजस्ता गतिविधि त्यति सुपाच्य छैनन् । यस्ता गतिविधिले गर्दा दुवै पक्षलाई शङ्काको घेरामा राख्न सकिन्छ । आखिर यो केसमा दोषी को होला, रवि वा सरकार पक्ष ? यदि रवि दोषी होइनन् भने अहिलेको प्रक्रियाले त उनलाई जीवनभरका लागि उनका पक्षमा अदालतले सकारात्मक फैसला गर्छ र उनले सधैँका लागि सफाइ लिन्छन् नि । यदि रवि दोषी नै रहेछन् भने उनले आफूले गरेको कर्तुतको सजाय पाउनेछन् र साथसाथै उनी सधैँका लागि राजनीतिबाट हात धोएर जानेछन् । यसरी यो अन्योलपूर्ण तनावको अवस्था अहिले रास्वपाले नगरेको भए राम्रो हुने थियो । यो त एउटा अवसरको रूपमा रास्वपालाई आएको हो, जहाँ रविलाई लागेका सबै आरोप समाधान गर्ने माध्यम यो हुन सक्थ्यो । रास्वपाले त यति बेला सरकारलाई, सुरक्षा निकायलाई र अदालतलाई सहयोग गर्ने समय हो । किनकि, रास्वपालाई रविले कुनै गल्ती नगरेको भन्ने पूर्ण विश्वास भए जतिसुकै र जसले छानबिन गरे पनि त त्यो सत्य नै रहन्छ नि । उनलाई कतै फसाउन लागेकै रहेछ भने पनि त्यो एक दिन छर्लङ्ग हुने नै थियो, नबिराउनु नडराउनु भन्ने उखान चरितार्थ हुने थियो नि । यसमा दोषी को हो, सरकार पक्ष वा रवि ? यसको निष्पक्ष छानबिन गरी यथाशीघ्र सत्य तथ्य जान्न जनता आतुर छन् ।
अन्त्यमा,
जसले जे सुकै भनोस् , रवि एक जनताको आशा र भरोसा हो, जनताले प्रचुर बहुमतले जिताएको एक हिम्मत्तिलो छोरो हो, अझै पनि जनताको झिनो आशा छ कि न्यायालयले अन्याय गर्ने छैन नत्र भोली को कहाँ पुग्ने हुन त्यो त भविष्यले नै बताउने छ ।