×

नेपाल विविध र अनुपमा भुगोल र  समृद्ध जैविक विविधताले भरिपूर्ण प्राकृतिक सौन्दर्यले भरी भराउ भएको मुलुक हो। समृद्ध संस्कृति र परम्पराको आशीर्वाद प्राप्त मुलुक हो नेपाल । अर्थात नेपाल चार जात छत्तिस वर्णको साझा फुलवारी हो। 
 
नेपाल हिन्दू, बौद्ध, मुस्लिम, इसाई, सिख र किराँती लगायतका धेरै धर्म समूहहरूको घर हो। यी प्रमुख धार्मिक समूहहरू मात्र हुन्; नेपालका ३६ विभिन्न जातजातिले आ-आफ्नो विशिष्ट रीतिरिवाज र संस्कृतिलाई अपनाएका छन  र आ-आफ्नै  जातीय भाषा बोल्छन्। 

नेपालमा पनि फरक फरक जातजातिले आ–आफ्नो तरिकाले चाडपर्व मनाउने गरेका छन् । जनै पूर्णिमा हिन्दू, बौद्ध र जैन धर्मावलम्बीहरूले मनाउने पवित्र धागो पर्वको रूपमा प्रख्यात पर्वहरूमध्ये एक हो। जनै पूर्णिमा अर्थात क्वाटी खाने दिन  नेपालका प्रायः सबै परिवारले मनाउने हिन्दू चाड हो। नेपाली क्यालेन्डर अनुसार यो पर्व श्रावण वा भाद्र शुक्ल पूर्णिमाका दिन पर्छ ।  विभिन्न क्षेत्रका विभिन्न जातजातिले यो  चाडपर्वलाई आ–आफ्नै तरिकाले मनाउने गर्दछन । 

ब्राह्मण र क्षेत्री जातिले जनै पूर्णिमा मनाउँछन्। तराई क्षेत्रमा बसोबास गर्ने मानिसहरूले यो पर्वलाई रक्षाबन्धन वा राखी बाध्ने दिनको  रूपमा मनाउने गर्छन्। त्यसैगरी नेपालका नेवार समुदायले यो दिनलाई क्वाटी  पूर्णिमाका रुपमा मनाउने गर्दछन् । 

जनै पूर्णिमा कसरी मनाइन्छ ? 

जनै पूर्णिमा हिन्दू धर्मको सबैभन्दा पवित्र र महत्वपूर्ण चाड हो। यस्  पर्वले पवित्रता र सुरक्षाको बन्धनलाई जनाउछ  । जनै  भनेको पवित्र धागो र पूर्णिमा भनेको पूर्णिमाको जुन हो। 

यस दिन ब्राह्मण र क्षेत्री समुहका हिन्दू नेपाली पुरुषहरूले वार्षिक रूपमा जनै परिवर्तन गर्ने अनुष्ठान गर्छन्। जनाई हिन्दू पुरुषहरू, विशेष गरी ब्राह्मण र क्षेत्रीहरूले छातीमा लगाउने कपासबाट बनेको पवित्र धागो हो। वाग्मती वा विष्णुमती वा नजिकैका नदीहरूमा स्नान गरेपछि उनिहरुले  यो पवित्र धागो परिवर्तन गर्छन्। यो धागो ब्रतबन्ध नामक धार्मिक समारोह गर्ने पुरुषहरूले मात्र लगाउँछन्। ब्रतबन्ध एक हिन्दू समारोह हो जुन प्रतीकात्मक प्रतिनिधित्वको रूपमा प्रदर्शन गरिन्छ कि केटा पुरुषत्वको उमेरमा पुगेको छ र विश्वासपूर्वक धर्मको पालना गर्न तयार छ।  

जनैलाई हरेक दिन जीवनभर लगाउनु पर्छ र धर्मको अपमान गर्नु हुँदैन। जनैमा  शरीर, वाणी र मनको प्रतीक हुने गरी तीनवटा डोरीहरू हुन्छन् र तीनवटा गाँठोले बाँधेर लगाउनेले प्रत्येक प्रतीकमाथि पूर्ण नियन्त्रण प्राप्त गरेको हुनु पर्छ भन्ने मान्यता परापुर्वकालदेखी रहदै आएको छ। उनिहरुले  स्नान गरी सप्तऋषिहरू (सात पौराणिक ऋषिहरू)  र तिनीहरूका दिवंगत पितृहरू र पुर्खाहरूलाई प्रसाद चढाउँछन्, त्यसपछि तागधारीहरू (जनाई लगाउने हिन्दू पुरुषहरू) शरीर, वाणी र मनमा पूर्ण नियन्त्रण  भएको विश्वासका साथ नयाँ जनै लगाउछन ।

जनै नलगाउने अन्य समुदायका  मानिसहरूले पण्डितहरू (पुजारी) बाट नाडीको वरिपरि “डोरो” नामक पवित्र रंगीन धागो लगाउँछन्। पवित्र धागो  सुरक्षाको लागि लगाइन्छ भन्ने विश्वास छ। केही महिनापछि तिहारको तेस्रो दिन त्यो धागो गाईको पुच्छरमा बाँधिने चलन छ। यो अनुष्ठान मृत्यु पछि स्वर्गमा सुरक्षित मार्गको लागि गरिन्छ। मानिसको मृत्यु भएपछि गाईले बैतरनी नदीमा तारेपछी गाईको पुच्छर समात्ने जनविश्वास छ । 

जनै पूर्णिमाको अवसरमा ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा हजारौं भक्तजनको घुइँचो लाग्ने गर्छ  । मन्दिर एउटा कम्प्लेक्समा अवस्थित छ जसमा अन्य संरचनाहरू जस्तै बंगलामुखी, उल्मन्त भैरव, र दुई हिटी पोखरीहरू समावेश छन्। पोखरीमा आउने  पानीको मुहान गोसाइकुण्डको पवित्र तालबाट निस्कने जनविश्वास रहेको छ ।  गोसाइँकुण्ड काठमाडौंबाट ४३ किलोमिटर उत्तरमा अवस्थित छ । जनै पूर्णिमामा सो पोखरीमा नुहाउनु भनेको गोसाइकुण्डमा नुहाउनु जस्तै हो भन्ने जनविश्वास छ । विरगन्जको कुरा गर्दा , यहाँको प्रशिद्ध गहवा माइ अर्थात माइस्थान मन्दिरमा भक्तजनको भिड लाग्ने गर्छ। 

ईतिहासकार महेश राज पन्त भन्नुहुन्छ , " मेरो अध्ययनमा मैले के पाएको छु भने ऋग्वेदी अर्थात् ऋग्वेदलाई मान्ने, यजुर्वेदी अर्थात् यजुर्वेदलाई मान्ने र अथर्ववेदी अर्थात् अथर्ववेदलाई मान्नेले खासगरी श्रावणशुक्लपूर्णिमालाई मान्छन्। सामवेदी अर्थात् सामवेद मान्नेहरूको चलन भने अलि फरक छ। उनीहरूको चाहिँ भाद्रशुक्लतृतीया अर्थात् तीजका दिनमा हस्तनक्षत्र परेका दिन जनै मन्त्रने, लगाउने र डोरो बाँध्ने चलन छ। अहिले पनि केही त्रिपाठी ब्राह्मण परिवारले त्यसलाई निरन्तरता दिएका होलान् भन्ने मलाई लाग्छ। नेपाली साहित्य क्षेत्रका एकजना चर्चित व्यक्तित्व वासुदेव त्रिपाठीज्यू र उहाँको परिवार पनि सामवेदी हुनुहुन्छ। 

ईतिहासकार महेश राज पन्त भन्नुहुन्छ , " मेरो अध्ययनमा मैले के पाएको छु भने ऋग्वेदी अर्थात् ऋग्वेदलाई मान्ने, यजुर्वेदी अर्थात् यजुर्वेदलाई मान्ने र अथर्ववेदी अर्थात् अथर्ववेदलाई मान्नेले खासगरी श्रावणशुक्लपूर्णिमालाई मान्छन्। सामवेदी अर्थात् सामवेद मान्नेहरूको चलन भने अलि फरक छ। उनीहरूको चाहिँ भाद्रशुक्लतृतीया अर्थात् तीजका दिनमा हस्तनक्षत्र परेका दिन जनै मन्त्रने, लगाउने र डोरो बाँध्ने चलन छ। अहिले पनि केही त्रिपाठी ब्राह्मण परिवारले त्यसलाई निरन्तरता दिएका होलान् भन्ने मलाई लाग्छ। नेपाली साहित्य क्षेत्रका एकजना चर्चित व्यक्तित्व वासुदेव त्रिपाठीज्यू र उहाँको परिवार पनि सामवेदी हुनुहुन्छ। 

पढाइसँग जोडिएको चाड

महेशराज पन्त फेरी भन्नुहुन्छ" अहिले भन्दा धेरैलाई अचम्म लाग्ने कुरा के हो भने जनैपूर्णिमा भनेको जनै लगाउने वा डोरो बाँध्ने पर्वभन्दा पनि बढी पढाइसँग जोडिएको चाड हो।  'उपाकर्म'लाई 'उपाकरण' पनि भनिन्थ्यो। यसलाई पूरा रूपमा भन्दा 'छन्दसामुपाकर्म' भनिन्छ। 

'उपाकर्म'को अर्थ कुनै पनि कामको 'थालनी गर्नु' भन्ने हुन्छ। शास्त्रहरूमा 'अध्यायोपाकर्म' र 'स्वाध्यायोपाकर्म'जस्ता शब्दहरू पनि प्रचलनमा छन्। 'छन्दसामुपाकर्म'को अर्थ 'वेदहरूको अध्ययनको थालनी' हुन जान्छ।

शास्त्रहरूमा यसबारे उल्लेख भएको देख्दा 'उपाकर्म' वैदिक कालमै सुरु भएको जस्तो लाग्छ। 'उपाकर्म' र 'उत्सर्जन' अर्थात् पढाइ रोक्ने काम कहिले गर्ने भन्ने विभिन्न शास्त्रमा उल्लेख गरिएको पाइन्छ। उदाहरणका लागि श्रावणशुक्लपूर्णिमामा श्रवणनक्षत्र परेका बेला 'उपाकर्म' गर्नू भनेर 'पारस्करगृह्यसूत्र'मा लेखिएको छ।

अन्य 'गृह्यसूत्र'हरूमा पनि 'उपाकर्म' र 'उत्सर्जन'बारे उल्लेख भएको छ र धेरैमा कि त श्रावणशुक्लपूर्णिमा वा भाद्रशुक्लपूर्णिमामा निश्चित नक्षत्र परेको अवस्थालाई उपयुक्त ठहर गरिएको छ। ती ग्रन्थहरूमा बढीमा ६ महिनासम्म वेद पढाएर त्यसपछि 'उत्सर्जन' गर्न भनिएको छ र त्यसका लागि पनि कुन तिथि र कुन नक्षत्र परेको अवस्था उपयुक्त हुन्छ भन्ने कुरा उल्लेख गरेको पाइन्छ। 

वहाँ फेरी थप्नुहुन्छ" विशेषगरी हाम्रो पूर्वीय पद्धति भनेको गुरुकुल शिक्षा प्रणाली हो। यो चलन वैदिक कालदेखि नै चलेर आएको देखिन्छ। 'उपाकर्म'का बेलामा नयाँ विद्यार्थीहरू गुरुकुलमा गएर आफ्नो पढाइ आरम्भ गर्थे। पुराना विद्यार्थी चाहिँ अहिलेको भाषामा वा अङ्ग्रेजीमा भन्नुपर्दा 'रिफ्रेसर कोर्स' लिन्थे। त्यस्तो 'रिफ्रेसर कोर्स' दुई महिनासम्म चल्थ्यो।

गुरुकुल शिक्षामा आफूले पढेको कुरा आजन्म स्मरणमा रहनुपर्छ भन्ने मान्यता थियो। सोही मान्यता अनुरूप पुराना विद्यार्थी पनि यसै दिनदेखि पढिसकेको कुरा 'दोहोर्याउन' जान्थे। 'दोहोर्याएर पढ्नु' भन्ने बुझाउनका लागि नेपाली भाषामा ‘उध्रनु’ भन्ने शब्द भएकोले पनि पढेको कुरा उपस्थित राख्नुको कति महत्त्व थियो भन्ने स्पष्ट हुन्छ ।

त्यस बेला पढेको कुरा सम्झनु पर्ने बाध्यता किन पनि थियो भने वारंवार शास्त्रार्थ हुन्थे र त्यसका लागि विद्वान्हरू तयार भएर बस्नु पर्थ्यो। शास्त्रार्थ भनेको कुनै शास्त्रका विषयमा गरिने तर्कवितर्क हो। त्यसमा कमजोर परियो भने आफूलाई कसैले विद्वान् मान्दैनन् भन्ने मान्यता थियो।

कतिसम्म हुन्थ्यो भने कुनै सहरमा कोही चर्चित छ भने त्यहाँ अन्यत्रबाट कोही आएर 'ल म तपाईँसँग शास्त्रार्थ गर्छु' भन्यो भने त्यसका लागि तयार हुनुपर्थ्यो। कुनै पनि व्यक्तिले कति शास्त्रार्थ गर्न सक्यो भन्ने आधारमा उसको मान बढ्ने वा घट्ने हुन्थ्यो।

कुनै पनि व्यक्तिले आफूलाई सधैँ तयार अवस्थामा राख्नुपर्ने भएकाले जनैपूर्णिमाका दिन गुरुकहाँ गएर पहिले लिएको शिक्षालाई पनि दोहोर्याउने चलन उसबेला रहेछ भन्ने मलाइ लाग्छ।

'उपाकर्म'को विधि गर्दा ऋग्वेदीको सङ्कल्पले पनि त्यो सङ्केत गर्छ। उनीहरूले गर्ने सङ्कल्प यस्तो छ:  'मम अध्याप्यानां च अधीतानाम् अध्येष्यमाणानां च छन्दसां यातयामनिरासेना' 
यसको भावार्थ हो- 'मलाई पढाइने, मैले पढेका र मैले पढ्न खोजेका वेदका मन्त्रहरूको बासीपना हटाएर'

रक्षाबन्धनको चलन 

जनै त तीन/तीन महिनामा फेर्ने चलन छ। त्यस्तै जुठो पर्यो वा सूतक पर्यो भने पनि जनै फेर्ने चलन छ। रक्षाबन्धन पनि घरमा पूजाआजा गर्दा अथवा रुद्री पाठ गर्दा वा न्वारान आदी कर्ममा यस्तो डोरो बाँध्ने चलन छ। अचेल मानिसहरूले डोरो बाँध्ने भनेको जनैपूर्णिमाका दिनमा मात्र भन्ने बुझ्न थालेका छन्। यो बिलकुलै आंशिक बुझाइ मात्र हो। जनै फेर्ने र रक्षाबन्धन गर्ने भन्ने कुरा त 'उपाकर्म'मा गौण हो भन्दा पनि हुन्छ।

 रक्षा बाँध्ने प्रसङ्ग १७औँ शताब्दीभन्दा अगाडिका ग्रन्थमा पाइएको छैन। त्यसले गर्दा जनै लगाउने चलन जति पुरानो हो, रक्षा बाँध्ने चलन त्यति पुरानो होइन। जनैको चर्चा पनि पहिलो पटक बौधायन धर्मसूत्रमा र वसिष्ठ धर्मसूत्रमा आउँछ। डोरो बाँध्दा भनिने मन्त्र 'येन बद्धो बली राजा दानवेन्द्रो महाबलः, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल' वैदिक संस्कृतमा नलेखी लौकिक संस्कृतमा लेखिएकाले पनि यो चलन पौराणिक हो, वैदिक होइन भन्ने देखाउँछ। अब हाम्रै कालमा रक्षा बाँध्ने चलनसँगै 'राखी' अर्थात् दिदीबहिनीले दाजुभाइलाई डोरो बाँध्ने चलन पनि आयो। त्यसैले जनैपूर्णिमामा डोरो बाँध्ने चलन पछि थपिएको हुनुपर्छ। 

महिलालाई महत्त्व

वहाँ फेरी थप्नुहुन्छ ," जनैपूर्णिमाका दिनमा मुख्य रूपले ब्रह्माको पूजा गर्ने चलन छ। त्यस दिनमा ब्रह्मापछि पूजा गरिने भनेको सप्तर्षिको हो। सप्तर्षिमा कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठ पर्छन्। वसिष्ठकी पत्नी अरुन्धतीको पनि त्यस क्रममा पूजा हुन्छ।  ब्रह्मा र सप्तर्षिका साथै अरुन्धतीको कुशको प्रतीक बनाएर पूजा गर्ने चलन छ। यी सबै प्रतीक बनाउन १२४ वटा कुशका डाँठ आवश्यक पर्छ। त्यसमा तलदेखि माथिसम्म काँचो धागोले बेर्ने काम गरिन्छ। हरेक डाँठमा तीनवटा सग्ला पात हुनुपर्छ । पचासवटा कुशले ब्रह्मा बनाएर तलदेखि शिखासम्म काँचो धागोले बेर्दै बाँध्ने गरिन्छ।

त्यसैगरी १३ वटा कुशले ब्रह्माको एउटा र १२ वटा कुशले अर्को हात बनाइन्छ भने २५ वटाले उनको आसन बनाएर प्रतीक तयार पारिन्छ। सातजना हरेक ऋषिको र अरुन्धतीको तीन/तीन वटा कुशले बनाउँदा २४ वटाले प्रतीक तयार हुन्छन्।

यो पूजा विधिमा एउटा रोचक कुरा के छ भने त्यसको अन्त्य ऋषि परम्पराका ७० पुस्ता ऋषिको नाम उच्चारण गर्दै गर्नुपर्छ। त्यसका लागि शुक्लयजुर्वेदका ५४ वटा मन्त्र एकएक गर्दै पढेर प्रत्येक मन्त्रपछि 'वेदोक्ता ऋषयस्तृप्यन्ताम्' भन्ने संकल्प गर्नुपर्छ। यसको अर्थ 'वेदमा कहिएका ऋषि तृप्त होऊन्' भन्ने हो। तर यहाँ ऋषिहरूको नाउँ अनौठो किसिमले लिइन्छ। उनीहरूलाई आमाको नामले पुकारिन्छ।

जस्तो 'फलानीको छोरो' भनेर पहिले पुकारिन्छ अनि 'तृप्यन्ताम्' भनिन्छ। यस्तो संकल्प गर्दा पिताको उल्लेख हुँदैन, माताको मात्र उल्लेख हुन्छ र ऋषिको नामको साटो 'फलानीको छोरो' भनिन्छ। यो हेर्दा जुन बेला यो चलन सुरु भयो त्यस बेला महिलालाई बढी महत्त्व दिइन्थ्यो होला जस्तो लाग्छ।" 
पढाइ र प्रकृति

वहाँको वाणी उद्धरण गर्दा"  पढाइ र प्रकृति पनि जोडिएका विषय भएको कतिपय ग्रन्थमा उल्लेख गरिएका कुराले देखाउँछन्। त्यस्ता कुरामा विशेष गरी वर्षासँग पढाइलाई जोडेको पनि पाइन्छ। जनैपूर्णिमा पनि बर्खामा पर्ने भएकाले त्यसलाई जोडेर कतिपयले हेर्ने गरेका छन्। ऋग्वेदको मण्डूकसूक्तमा यसबारे एउटा प्रसङ्ग रहेको छ। त्यसमा एक ठाउँमा 'वर्षा ऋतुमा भ्यागुताहरू टरटर गरेर कराउँछन्, जसरी बाहुनहरू वेद पढेर कराउँछन्' भनेर भनेको छ।

त्यस आधारमा 'उपाकर्म'लाई वर्षा ऋतुमा गर्ने कर्म र वैदिक अध्ययनसँग पनि जोड्न सकिन्छ। यसै प्रसंगमा नेवारहरूको एउटा परम्परा छ र त्यसलाई उनीहरू 'ब्याञ्चा नकेगु' भन्ने गर्छन्। त्यस दिन अर्थात् जनैपूर्णिमाका दिन उनीहरूले खेतमा गएर भ्यागुतालाई भात खुवाउछन्। त्यो परम्परालाई पनि हामीले वैदिक अध्ययनसँग जोडेर हेर्न सक्छौँ। नेवार समुदायले यो कार्य पनि जनैपूर्णिमाकै दिन गर्ने भएकाले कुनै न कुनै रूपमा यो पनि 'उपाकर्म'सँग जोडिएको हुनुपर्छ भन्ने मलाइ लाग्छ। " 

अन्त्यमा वहाँ थप्नुहुन्छ" जनैपूर्णिमामा पढाइ सुरु गरिने भए पनि यो अक्षरारम्भ भन्दा पनि वेदारम्भ वा वाङ्मयारम्भको दिन हो। अक्षरारम्भका लागि कुनै पनि लिपिको चलन चलेको हुनुपर्छ। 'उपाकर्म' त्यसरी लिपिसमेत नबन्दै श्रुति परम्पराकै बेलामा चलेको चलन जस्तो देखिन आउँछ। त्यसैले यो अति प्राचीन पर्व हो भन्न हामीले सक्छौँ। तर पछि त्यसमा अनेकौँ कुरा थपिँदै गए र पढाइको पर्वभन्दा यो अर्कै बन्न पुग्यो।

पुराना ग्रन्थको अध्ययनले यो पर्व पढाइसँग जोडिएको देखाए पनि अहिले त्यसको अंश पनि बाँकी छैन। वैदिक अध्ययनको परम्परा त ईसवी सन् सुरु हुनु अघिबाटै कमजोर बन्न थालेको सङ्केत विभिन्न शास्त्रमै उल्लेख भएका कुराबाट पाइन्छ। त्यसले गर्दा पढाइको पर्वमा पनि विद्यारम्भको कुरा गौण हुन पुग्यो र जनै लगाउने कुरा मात्र बाँकी रह्यो। त्यसमा पनि डोरो बाँध्नेजस्ता अरू कुरा थपिए, जसरी हाम्रै जीवनकालमा 'राखी' भनेर दिदीबहिनीले दाजुभाइलाई डोरो बाँध्ने चलन फैलियो। "

Back to top