×

वीरगञ्ज । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औँ वार्षिक उत्सवको अवसरमा आयोजित टी–१० क्रिकेट लिग प्रतियोगिताको उपाधि नेपाल मेडिकल एसोसिएसन पर्साले उचालेको छ ।

टी–१० क्रिकेट लिग प्रतियोगिताअन्तर्गत बुधवार भएको फाइनल खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले वीरगञ्ज महानगरपालिकालाई बल आउटमा १-० अन्तरले हराएको हो । वीरगञ्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा ८३ रनको लक्ष्य पाएको वीरगञ्ज महानगरपालिकाले १० ओभरमा ७ विकेटको क्षतिमा ८२ रन बनाएपछि खेल बराबरीमा पुगेको थियो ।

दुई टिमको खेल बराबरीमा पुगेपछि बल आउटको माध्यमले नतिजा निकालिएको नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए ।

यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपाल मेडिकल एसोसिएसन पर्साले १० ओभरमा ५ विकेटको क्षतिमा ८२ रन बनाएको थियो । टी-१० क्रिकेट लिग प्रतियोगिताका विजेता नेपाल मेडिकल एसोसिएसन पर्सालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

यस्तै उपविजेता बनेको वीरगञ्ज महानगरपालिकालाई नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक शरण कुमार अधिकारीले शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगिता भरीका वेस्ट ब्याटरमा नेपाल मेडिकल एसोसिएसन पर्साका खेलाडी डा. दीपेश झा, वेस्ट बलरमा डा. रुपेन्द्र मिश्र र वेस्ट फिल्डरमा नेपाल पत्रकार महासङ्घ पर्साका खेलाडी सद्दाम हुसेन चुनिए । उनीहरूलाई कार्यक्रममा सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुदिप ताम्राकार र वीरगञ्ज महानगरपालिका – २० का वडाध्यक्ष रामकिशोर सिंह (पराग) ले शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

यसअघि बुधवार बिहान नै भएको पहिलो खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले वीरगञ्ज बैंकर्स ग्रुपलाई हराएर फाइनलमा प्रवेश गरेको थियो भने मङ्गलवार आयोजक नेपाल राष्ट्र बैंकलाई हराएर वीरगञ्ज महानगरपालिका फाइनलमा पुगेको थियो ।

प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक, नेपाल पत्रकार महासङ्घ पर्सा, वीरगञ्ज बैंकर्स ग्रुप, नेपाल मेडिकल एसोसिएसन पर्सा, वीरगञ्ज महानगरपालिका कार्यालय र नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगञ्ज सहभागी भएका थिए ।

Back to top