×

वीरगञ्ज । व्यवसायमा आउने समस्या समाधान सम्बन्धी वीरगञ्जमा अन्तरक्रिया गरिएको छ । नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगञ्ज च्याप्टर र जानकी अटोमोबाईल एशोसिएशन अफ नेपाल मधेश प्रदेशको सयुँक्त आयोजनामा ‘सोल्भिंग ट्रेड हर्डल्स’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

एनवाइईएफ वीरगञ्जका अध्यक्ष सन्दिप अग्रवालले स्वागत मन्तव्य राख्दै व्यवसाय सम्बन्धी समस्याका बारेमा पनि अवगत गराएका थिए । उनले उद्यमीहरुले भोगीरहेका व्यवहारिक समस्यालाई समाधान गर्ने अभिप्रायले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए । व्यवसायीसँगै भन्सार प्रशासक र सरोकारवाला बीचको छलफलले समस्या समाधान हुने विश्वास पनि उनले व्यक्त गरे । 

वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि प्रसाद गौतमले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्दै व्यवसायीलाई व्यवसाय गर्ने वातावरणको सृजना गरिदिनुपर्नेमा जोड दिए । अर्थतन्त्र धराशायी भएको अवस्थामा व्यवसाय गर्ने वातावरण नहुँदा झनै समस्या पर्न सक्ने उनको संकेत छ । नाका क्षेत्रमा व्यवसायीलाई बिनाकारण दुःख दिने प्रवृति रोक्नुपर्ने आवश्यक्ता औँल्याउँदै उनले विधि र प्रक्रिया पुरा गरेर सहज वातावरण बनाईदिएमा राज्यको राजस्व पनि बृद्धि हुने बरिष्ठ उपाध्यक्ष गौतमको भनाई छ । 

कार्यक्रममा सहभागीहरुले विभिन्न किसिमका जिज्ञासाहरु राखेका थिए । भारतीय मालवाहक सवारी साधन ७२ घण्टाका लागि अनुमती लिएर आउने व्यवस्थालाई कम गरेर २४ घण्टामा झार्नुपर्ने सुझाव दिएका छन् । यसले गर्दा यहाँका नेपाली ढुवानी व्यवसायीले काम पाउने वक्ताहरुको भनाई थियो । 

वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्तीले भन्सार प्रक्रियाका बारेमा प्रष्ट पारे । भन्सार पास गराउने प्रक्रिया विपरित गएर कुनै पनि काम नगरेको उनको दाबी छ । सहभागीहरुले राखेका जिज्ञासा प्रति सकारात्मक प्रतिक्रिया दिँदै प्रमुख भन्सार प्रशासक पन्तीले व्यवहारिक समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले भन्सार मूल्यांकनका बारेमा अस्पष्ट विषयलाई पनि प्रस्ट पारे । 

कार्यक्रममा भन्सार अधिकृत बालकृषण् दाहाल, नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका पूर्व अध्यक्ष अनुप अग्रवालसँगै एनवाइईएफ वीरगञ्जका पदाधिकारी, सदस्य एवम् जानकी अटोमोवाईल एशोसिएशन संघ मधेश प्रदेशका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । 

जानकी अटोमोबाईल एशोसिएशन नेपाल मधेश प्रदेशका उपाध्यक्ष राहुल अग्रवालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण एनवाइईएफ वीरगञ्जका सदस्य आशु कुमार सर्राफले गरेका थिए ।
 

Back to top