×

वीरगञ्ज । वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपाल पराजित बनेको छ । 

जितका लागि पाएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका गुलशन झा २६, लोकेश बम १७,आरिफ शेख १२, आकाश चन्द ७, दीपेन्द्रसिंह ऐरी ३, सोमपाल कामी ३, कुशल भुर्तेल २, अनिल साह १ र कुशल मल्ल शून्यमा आउट भएका थिए । कप्तान रोहित पौडेल अविजित ७१ रन बनाए ।

टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले सात विकेट गुमाएर १६० रन बनाएको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मैत्रीपूर्ण टी-२० को दोस्रो शृङ्खलामा  आज दोस्रो खेल हो ।

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान दुई दुई विकेट लिएका थिए भने सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नै एकाएक विकेट लिए । यसअघि शनिवार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो ।

आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । आइसिसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदै छ । आगामी आइसिसी टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।

यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन् । वेस्ट इन्डिज भने टी-२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यूगिनी र युगाण्डा छन्।यसअघि नेपाल र वेस्ट इन्डिजले एक पटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । 

सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आइसिसी एक दिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

Back to top