×

पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी कम्तीमा १४३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अप्रिल महिनामा अचानक आएको बाढी, पहिरो र खराब मौसमका कारण केही क्षेत्रमा घरहरू भत्किएका थिए भने केहीमा बालीनाली नष्ट भएको थियो ।

अप्रिलमा पाकिस्तानमा सामान्य स्तरभन्दा १६४ प्रतिशत बढी वर्षा भएको छ । पाकिस्तान अप्रत्याशित मौसमको साथै सामान्यतया जुलाईमा हुने प्रायः विनाशकारी मनसुनी वर्षाको लागि बढ्दो जोखिममा छ ।

अप्रिलमा सबैभन्दा बढी मृत्यु उत्तरपश्चिमी खैबर पख्तुनख्वामा थियो । यस राज्यमा ३८ बालबालिकासहित ८३ जनाको मृत्यु भएको थियो भने तीन हजार ५०० भन्दा बढी घरहरू क्षतिग्रस्त भएका थिए ।

देशको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तको केही उत्तरी भागमा असिना र पानीले मुख्य खाद्यान्नमध्येको गहुँ बाली सखाप पारेको छ ।

यस महिनाको सुरुमा अधिकारीहरूले पञ्जाबमा गहुँ काट्ने किसानसहित कैयौँ व्यक्तिको चट्याङ लागेर मृत्यु भएको र वर्षासँग सम्बन्धित विभिन्न घटनामा २१ जनाको मृत्यु भएको बताएका थिए ।

गत अप्रिलमा बलुचिस्तान प्रान्तमा २१ जनाको मृत्यु भएको थियो । यी मध्ये चट्याङ लागेर सात जनाको मृत्यु भएको थियो भने वर्षाका कारण केही जिल्लामा जनजीवन अस्तव्यस्त हुनुका साथै विद्यालयहरू बन्द भएका थिए ।

पाकिस्तानको एक तिहाइ भूभाग अभूतपूर्व मनसुनी वर्षाका कारण डुबानमा परेको थियो जसका कारण लाखौं मानिस विस्थापित हुनुका साथै देशलाई ३० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको विश्व बैंकको अनुमान छ ।

Back to top