२१ औं शताब्दीको द्रुत गतिको विज्ञान र प्रविधिको भौतिक बिकासको निरन्तरता सँगै मानिसहरु निरन्तर आधुनिक जीवनका चुनौतीहरूसँग जुधिरहेका छन्। समाजमा अशान्ती र अराजकताको अवस्थाले संसारलाई गाजी रहेको छ । लडाईं , घ्रिणा , तिरस्कार, आपसी द्वन्दले आज संसारपाली पिरोलीरहेको छ । यि र यस्तै बिषय प्रवेशले आज अध्यातमताको अपरिहार्यता झन बढेर गएको छ ।
केही सामाजिक विकृतिका द्रिष्टान्तहरु म यहाँ प्रस्तुत गर्न चाह्न्छु :
सम्बन्धविच्छेदको सन्दर्भमा भएको विवादमा गत असार ३१ गते प्रहरी कार्यालयमा सहमति भए पनि घर पुगेपछि लोग्नेले श्रीमतीको हत्या गरेको थियो । गत आइतबार अनलाइनमार्फत केकमा गाँजा मिसाई लागू पदार्थ कारोबार गरेको आरोपमा काठमाडौँ–२९ का बिसन मानन्धरलाई पक्राउ गरियो । सम्पत्ति हडप्न र लोग्नेको पेन्सनबाट वञ्चित गर्न गरिएको जीवित मान्छेलाई मृत घोषणा गर्ने षड्यन्त्रमा बर्दिया अदालत र मधुवन नगरपालिकासमेत प्रयोगमा आएको कुरा छापामा पढन पाइयो । गत पौष १६ गते काठमाडौँको बालकुमारीमा कोरियाका लागि फाराम स्वीकृत गर्न गरिएको दबाबमा गोली चल्यो ।
त्यसमा दुई जना युवाहरुको ज्यान गयो । सर्लाहीको बथनाहामा स्वास्थ्यचौकीको गुणस्तर वृद्धि गर्ने कि नगर्ने भन्ने विषयमा विवाद चर्कंदा भएको भिडन्तमा प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गयो । पौष २३ गते राति इलामको माई नगरपालिका–६ का ३७ वर्षीय बाबु दिलबहादुर राईले १७ वर्षीय छोरा जीवनलाई सामान्य निहुँमा खुकुरी प्रहार गरी हत्या गरे । यि र यस्ता आततायी घटनाहरुको समाचारहरु आउँदा कसको मन अमिलो नहुदो हो र ।
बिहे गरी रोजगारीका लागि विदेश गएका केटाहरु स्वदेश फर्किए । फर्कंदा घरमा श्रीमती हुन्न । उसले पठाएको धनसम्पत्ति पनि हुँदैन । समाजका भद्र महिला तथा पुरूषहरुका खाता ह्याक गरिदिने र समाजमा उनीहरुको तेजोवध गर्ने, मनोबल गिराउने अनि बन्धुबान्धवहरुका अघि मुखै देखाउनै नसकिने परिस्थिति सृजना गर्ने काम भयो र हुँदै छ । सामाजिक सन्जालको दुरुपायोगले मानिसहरुको व्यक्तिगत जीवननै धारासायी भएको अवस्थाहरु हाम्रो अगाडि ब्रगेल्ती छरपस्ट भएका छन । शान्त, र शुखी जीवनमा भुइचालो आइरहेका परिस्थितीहरु परीद्रिश्यमा आईरहेका छन ।
काठमाडौँमा बर्दीधारी प्रहरीमाथि नै हातपात भएको छ । धर्म र धर्मान्तरणका विषयमा ठूला जुलुस भइरहेछन् । शासकले नै अमुक धर्म नमान्नेहरु संविधानविरोधी र देशद्रोही भनिरहेछन् । शासनसत्ता सम्हालेको १ वर्ष पुग्न नपाउँदै जातीय तथा धार्मिक युद्धको परिवेश सृजना गर्न खोजिँदै छ । पौष २३ गते नै काठमाडौँको विजुलीबजारस्थित चक्रवर्ती कलेजका सञ्चालकमाथि आफ्नै छोरासहितका समूहले पिताको टाउकामा खुकुरी प्रहार गरी हत्या गर्ने प्रयत्न गरे ।
पौष २४ गते सिराहा जिल्ला कल्याणपुर–३ का मिटरव्याज पीडित सञ्जय कामतीमाथि दुव्र्यवहारसहित खुकुरी प्रहार गर्ने प्रयत्न भएको भएको थियो। यस्ता घटनाक्रमले समाज कता गईरहेको छ भन्ने परीद्रिष्यलाई उजागर गरिरहेको छ । पैसा र शक्तीको बलमा जसले जे गर्दा पनी हुने र साम, दाम , दण्ड , भेदलाई प्रयोग गरी जसरी पनि भौतिकशुखको खोजिमा मानीसहरु लिप्त भईरहेका छन । दण्डहिनताले पराकाष्ठा नाघीसकेको छ ।
वैदेशिक रोजगारीले मानिसको आर्थिक पक्षमा जति सुधार गर्यो त्यो भन्दा ज्यादा सामाजिक विकृति पनि भित्र्यायो । एउटा बिराउने शाखा पिराउने भन्ने उक्ति अहिले भइरहेछ चरितार्थ । हुन पनि बिहेपछि पत्नीलाई राम्ररी नचिन्दै र उनको आनीबानी, स्वभाव, प्रवृत्ति आदि इत्यादि पनि केही नबुझ्दै बिदेसिने अनि उनका नाउँमा लाखौँ रकम पठाउने गरिरहँदा अधिकांश पतिव्रता चरित्र भएका पत्नीहरुले त्यसको सदुपयोग गरे र पारिवारिक जीवन पनि अब्बल तुल्याउन लोग्नेलाई पूर्ण सहयोग गरे ।
तर, केही केहीले आफुलाई जोगाउन सकेनन् । पतिव्रता धर्मलाई वा भनौँ सतीत्वलाई बजारमा राखेको आलुजत्तिको पनि सम्झिएनन् केहीले । त्यसलाई उन्मादमा स्वाहा तुल्याइदिए । त्यस्ता पात्रले लोग्नेले चर्को गर्मीमा कमाएर पठाएको पैसा परपुरूषलाई मात्रै पोसेनन् भएभरको सम्पत्ति लिएर फरार भए । यस्तै महिलाका कारण नै विदेश भएका अल्लारे युवाहरुले कल्कलाउँदो उमेरकी तर पवित्र मन भएकी स्वास्नीमाथि शङ्का गरिरहेका छन् ।
त्यसमा घिउ थपिदिन्छन् घरका सदस्यहरुले । विद्यालय वा कलेज जीवनमा परिचित साथीभाइ यदाकदा भेटघाट हुँदा र बस्दा त्यसलाई अतिरञ्जित गर्ने र लोग्नेसम्म पुर्याउने गर्दा पनि समस्या भइरहेको छ समाजमा । एउटा राम्रो र सुखी परिवारलाई मानवाधिकारको नाममा क्षत्तविक्षत पारीदिएको अवस्था छ । विदेश जाने नाममा आफ्नो घरवारलाई लथालिङ परेका छन ।
सामाजिक सन्जालका कतिपय अतिरन्जित समाचारहरुलाई विश्वास गरी आफ्नो परिवारको राम्रो सम्रचनालाई बजारमा लीलामी गरेको अवस्था छ ।
पैसाका मामलामा छिमेकीका बीच, दाजुभाइका बीच, यदाकदा लोग्नेस्वास्नी र साथीभाइका बीच पनि हुने गर्छ आन्तरिक द्वन्द्व र मारपिट, काटाकाट आदि इत्यादि हुन्थे पहिले पनि र बढ्दो क्रममा देखिन्छ यो पनि । तर, अहिले छोराले बाबु र बाबुले छोरा अनि छोराले आमा मार्ने घटना छिटपुट मात्र होइन कि बाक्लै भइरहेका छन् । जुन सामाजिक विकृतिको चरमोत्कर्ष हो ।
धनसम्पत्तिका मामलामा जिउँदा मान्छेलाई नै मृत्यु भइसकेको प्रमाणपत्र बनाउनेसम्मको तहमा पुगिसकेका छन् मान्छेहरु । यस्ता घटना भित्रभित्रै भइरहेका छन् अनगिन्ती । खासगरी, छोराछोरी शहर गएपछि उतै भेट्न गएका बाआमाका घरजग्गा, विदेश गएका बाआमाका जग्गाजमिन, शहरमै बसोबास गरी गाउँ नफर्कने मानिसहरु आदिका जमिनहरु किर्ते कागजात बनाउनेदेखि मृत्यु भएको घोषणा गरेर हडप्नेसम्मका कामहरु भइरहेका छन् ।
भारतका कोठीसम्म पुर्याएर आफ्नी श्रीमती र छोरीसम्म बेच्न पछि नपर्ने बाबुले अहिले बढी पैसा आउने लोभमा विदेशका कोठीहरुसम्म पुर्याउने तहसम्म पुगेको छ । सदैव आदर्शशील समाजको महान् यात्रामा अग्रसर रहँदै आएको समाज केही दशकयता झन्झन् क्रुर र बर्बर बन्न थालेको छ ।
यि सब हुनुको कारण नै अध्यात्मिक ज्ञानको कमी हो। यस्तो समाजलाई पुरानै अवस्थामा व्युताउनको लागि अध्यात्म ज्ञानको अती आवश्यक छ ।
जहाँसम्म बच्चाहरुमा लागू पदार्थजन्य समस्याहरु देखिने गर्छन्, त्यसमा पारिवारिक समस्या जोडिने गर्छ । त्यहाँ कि मातापिताका बीचमा सुमधुर सम्बन्ध छैन । धनसम्पत्ति अथाह छ तर बाको कुशल अभिभावकत्व छैन । आमाको डाँटफटकार र उसका गतिविधिमा आवश्यक लगामसहितको मातृवात्सल्यको अभाव छ । दुवै विदेश छन् र उसलाई उनीहरुको डर छैन । बरू भनेको मानोस्, नरोओस्, नसुर्ताओस् आदि इत्यादि भनेर प्रशस्त पैसा दिइरहेका छन् र उनिहरुको प्रतेक मागलाई पुरा गरिरहेका हुन्छन । छात्रावासमा बस्छ, तर त्यहाँ उपयुक्त निगरानी छैन भने त्यस्ता बच्चाहरुमा पनि देखिरहेको छ लागू पदार्थको दुव्र्यसन ।
समाजमा छुवाछुत, बोक्सीहरु सम्बन्धी घटनाहरु यदाकदा मात्र सुनिन्छन्, त्योभन्दा अहिले बिहेका अनावश्यक ढर्रा र ढाँचाहरु देखिन थालेका छन् । हिजो बिहे, व्रतबन्ध आदि इत्यादि कर्म गर्न निकै सस्तो र सरल पनि थियो । कोही बिरामी परे रातभर जाग्राम बस्थ्यो । कसैको निधन हुँदा पनि सिङ्गो समाज रून्थ्यो । उसका घरका समस्या समाजका समस्या बन्थे । सारा समाज जुट्थ्यो र समाधान गर्थे ।
जुनसुकै जाति र संस्कृति बोकेको मानिस किन नहोस्, सबै सरिक हुन्थे त्यहाँ । चाहे दुःख चाहे सुख । हरेक मान्छे–मान्छेका बीच सामाजिक भावना धेरै मजबुत थियो । मानवता र मानवीय संवेदना पनि उत्तिकै संवेदित थियो । एकले अर्कालाई पर्दा ज्यान दिएर गर्थे सहयोग । समाजलाई विभाजित गर्न खोज्ने शक्तिहरु स्वतः हुन्थे पराजित । अहिले त दल दल को विचको तिक्तताले वलियो सामाजिक सम्रचनालाई धुजा धुजा बनाउन काम भईरहेको छ ।
यतिमात्र होइन, युवकहरु बिदेसिने क्रमले नेपालको शैक्षिक, सामाजिक, सांस्कृतिक तथा सहकारीजस्ता क्षेत्रमा महिलाहरुको योगदान र नेतृत्व स्थापित हुँदै गएको छ । हिजो वैदेशिक अध्ययनका लागि बाहिरिनेमा अधिक छात्रहरु नै हुन्थे । स्वदेशमा पढ्थे । अहिले छात्राहरु पनि जान थाले उत्तिकै संख्यामा र पनि महाविद्यालयहरुमा छात्राहरु नै हुने गर्छन् धेरै ।
केटाहरुको बाहुल्य हुँदा जुन हर्कत गर्थे उनीहरुले, अहिले त्यस्तै हर्कत गर्ने गर्छन् छात्राहरु । छात्रहरु निकै डराएका र लजाएका मुद्रामा देखिन्छन् उनीहरु । अहिले केटी माग्न जाने क्रममा एउटा सामान्य रीतमा मात्रै जीवित रहन पुग्दै छ । पहिले नै बनिसकेका विपरीत लिङ्गीबीचको मायापिरतीजन्य सम्बन्धलाई वैधता दिने काम मात्र भइरहँदा यस्तो बिहेपूर्व नै मायापिरती नगाँस्ने वा गाँस्न नचाहने युवकको बिहे हुने सम्भावना नै घट्तो क्रममा पुगिसकेको छ ।
हिजो छोराले आमाबाको सेवा गर्थे, अहिले सासूससुराको गर्नमा अधिक रूचि राख्छन् । त्यसको ठाउँ छोरी र ज्वाइँले गर्न थालेका छन् । यस्तो परिवर्तन सहज र सरल पनि देखिन थालेको छ । समाजमा क्रमिकरुपमा भइरहेको छ परिवर्तन । यसलाई अन्यथा मानिहाल्न त मिल्दैन, तर यसले हिजोको पारिवारिक संरचना परिवर्तित भइरहेको अनुभूति हुन्छ ।
एक्जना बुवाको मोटरसाइकल दुर्घटनामा परी ज्यान गयो । उनका छोराछोरीहरु अस्ट्रेलिया थिए । उनीहरुलाई ३ दिन कुरेपछि बल्ल सद्गति भयो । यस्तो स्थिति हरेक घर–घरमा छ । गाउँ होस् या शहरमा समेत १२ उत्तीर्ण हुन् वा नहुन्, विदेश पुगिरहेछन् । घरमा बूढाबूढीको मात्र छ उपस्थिति । तिनीहरु बिरामी भए हेरचाह गर्ने कुरा त परै जाओस्, मृत्यु हुँदा सद्गति गर्न समयमै आउन त सकिरहेका छैनन् ।
भोलि परिस्थिति यस्तो आउँदै छ, उनीहरु मातापिताको मृत्यु हुँदासमेत आउन सक्ने देखिन्नन् । त्यसमा एक जनाको मृत्यु भएको स्थितिमा त झन् अवस्था नाजुक हुने गरेको छ र यो स्थिति झन्झन् बढ्दै जाने क्रममा छ । उनको सम्पत्ति र त्यसको उपभोग आदिका सन्दर्भमा पनि निकै असहज परिस्थिति बन्दै गएको छ ।
हजुरआमासहितको परिवार नै स्वर्गसमान हुन्छ भन्ने ठान्ने समाज अहिले बिस्तारै वृद्धवृद्धालाई भार सम्झिन थालेका छन् । उनीहरुकै कारण कमाइ गर्न जान बाधा भइरहेको सम्झने, खर्चबर्च बढी लागेको सम्झेर उपचार नै गर्न नलैजाने, टार्ने आदि इत्यादि गर्ने प्रवृत्ति, उनीहरुले भनेको राम्रा अर्ती र उपदेशलाई पनि कचकच गरेको सम्झनेहरुको पनि ठूलै ताँती बढ्दो क्रममा छ ।
ट्रयाक्टरले जोत्ने चलन नहुँदा वर्षौंअघिदेखि नै महिलाले हलो जोत्न र आली लगाउन थालिसकेका थिए । लास बोकेर घाट लैजाने र जलाउने काम गर्न थालिसकेका थिए । अहिले पेसाकै रुपमा पनि लास जलाउन थालेका छन् । यी र यस्ता घटनाहरुले समाज परिवर्तनतिर उन्मुख तुल्याइरहेको छ । त्यतिमात्र होइन, समाज सकारात्मकभन्दा नकारात्मक बन्दो छ । सहनशीलता र हार्दिकता शून्यमा विलय हुँदै गएको छ । यी र यस्ता समस्या समाधान गर्ने भनेको अध्यात्म शिक्षा हो । यसलाई प्रश्रय दिएर सिकाइको एउटा अभिन्न विषय बनाउनु अपरिहार्य बन्न पुगिसकेको छ । नत्र समाज छिटै अवसानमा परिणत हुने निश्चित छ ।
वर्तमान युगको द्रुत परिवर्तन र चुनौतीहरूको बीचमा, आध्यात्मिकताको सारले ठूलो महत्व राख्छ। यो माइंडफुलनेस, सहनशक्ति, समुदाय, र नैतिक आधारको दिशामा एक पथ प्रदान गर्दछ। जब व्यक्तिहरू आधुनिक जीवनको जटिलताहरूले सामना गर्छन्, ती आध्यात्मिकताको पीड़ी बन्छ, जुन आन्तरिक यात्रा बन्छ, अर्थ र संबन्धको लागि एक प्रश्न हो, जुन बाह्य दुनियाको सतहलाई पार कर्छ। आध्यात्मिकताको सारले अपनाउँदा, व्यक्तिहरू समयसारी र सार्वजनिक मार्गप्रदर्शक पाइन्छ, जसले आधुनिक परिदृश्यलाई उद्दीपन र वास्तविकतासँग नेभिगेट गर्नुहोस्।
निष्कर्ष :
त्यसैले यो वैश्ययुगको अफरातफरी , परिवर्तन र चुनौतिहरुको बिचमा आध्यात्मिकताको ठुलो महत्व हुन्छ । यसले सहनशक्ती , धैर्यता , आदर, सत्कार, शिष्टाचारिता र नैतीक आधार स्तम्भलाई दरिलो बनाउने काम गर्छ । नकारात्मकतातिर वराल्ली रहेको समाजलाई एउटा पथप्रदर्शन गर्न ठुलो मद्दत्त गर्ने कुरालाई नकार्न सकिदैन ।
अन्त्यमा : समाजसँग गासिएका प्रतेक तह र तप्काका व्यक्तिहरु यो सामाजिक विश्रिन्खलतालाई कसरी जोगाउन सकिन्छ भनी चिन्ता र चिन्तन गर्नु आजको अपरिहार्यता हो । समाज छ अनी हामी छौ , समाज नै नरहे हामी कहाँ रहन्छौ होला र .........
(राजेन्द्र प्रसाद कोइराला (पीएचडी) वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ ।)