व्यक्तिगत सरसफाइ कायम राख्न धेरै कारणहरूको लागि आवश्यक छ; व्यक्तिगत, सामाजिक, स्वास्थ्य, मनोवैज्ञानिक वा केवल जीवनको तरिकाको रूपमा। स्वच्छताको राम्रो मापदण्ड राख्नाले सङ्क्रमण, रोग र दुर्गन्धको विकास र फैलावट रोक्न मद्दत गर्दछ ।
सानै उमेरमा व्यक्तिगत सरसफाइ सिकाउनु स्वस्थ जीवनको अभिन्न अङ्ग हो । धुने जस्ता आधारभूत कुराहरू जस्तै नियमित रूपमा हात धुने, दिनमा दुई पटक दाँत माझ्ने आदी इत्यादि । अर्थात् हाम्रा बालबालिकामा आजीवन सरसफाइ बानी बसाल्नु हामी अभिभावक र शिक्षकहरूको परम जिम्मेवारी हो । विद्यालयमा विद्यार्थी र सम्पूर्ण समुदायको हितका लागि सरसफाइलाई गम्भीरतापूर्वक लिनुपर्छ । विद्यालयहरूले विद्यालय भवन भरि हात धुने सुविधा उपलब्ध गराउनुपर्छ ।
विद्यार्थीहरूलाई सही तरिकाले हात धुने महत्त्वको बारेमा शिक्षित गरेर र बगिरहेको पानी र साबुनले सिङ्कहरूमा नियमित पहुँच प्रदान गरेर, विद्यालयहरूले विद्यार्थीहरूलाई स्वस्थ र सिकाइमा सक्रिय राख्न मद्दत गर्न सक्छन् ।
सरसफाइलाई प्राथमिकता दिने विद्यालयहरूले आफ्ना विद्यार्थीहरूमा बढेको शैक्षिक प्रदर्शन अनुभव गर्न सक्छन् । अध्ययनले देखाएको छ कि स्वच्छ र सुरक्षित वातावरण प्रदान गर्नाले सिकाइलाई प्रोत्साहन गर्छ । एकै समयमा, फोहोर र असुरक्षित ठाउँहरू विद्यार्थीहरूको लागि एक ठुलो विचलन हुन सक्छ किनकि विद्यार्थीहरूले स्वास्थ्य समस्याहरू वा असहज भावनाहरू सामना गर्छन् । विद्यालयको बाथरुम, कक्षा कोठा र अन्य क्षेत्रहरू नियमित रूपमा स्क्रब र सेनिटाइज राख्दा कीटाणु वा फोहोरको कारणले शारीरिक असहजताको भावना उत्पन्न हुने वातावरणको सट्टा सबैले सहज महसुस गर्ने वातावरण सिर्जना गर्न मद्दत गर्छ ।
जब शिक्षकहरूले सफा वातावरणमा पढाउँछन्, त्यहाँ सामान्यतया बढी विद्यार्थी सहभागिता हुन्छ, जसले उच्च संलग्नता निम्त्याउँछ जुन राम्रो शैक्षिक नतिजाहरूको अभिन्न अङ्ग हो ।
‘जसले सरसफाइ कायम राख्छ, ऊ समस्त रोगहरूबाट मुक्त हुन्छ’ भनेर विद्वान्हरूले भनेका छन् । जोन वास्ले भन्ने व्यक्तिले ‘शूचिता (सरसफाइ) देवत्वको अर्को रूप हुनुपर्दछ’ भनेर भनेका छन् । ‘शुद्धता तिम्रो घरबाट सुरु हुन्छ’ भनेर विशिष्ट व्यक्तिहरूले बताएका छन् । ‘भगवान्ले हामीलाई हरियाली दिनुभएको छ, त्यसैले यसलाई बचाऊ’ भन्ने भनाइ पनि छ । सफा ठाउँ नै सुरक्षित ठाउँ हो भनेर भनिन्छ । जइ राम रमेश भन्ने विचारकले भनेका छन्— ‘मलाई लाग्छ, मन्दिरभन्दा शौचालयहरू धेरै महत्त्वपूर्ण छन् । थाहा छैन, मन्दिर गएर हामी कतिलाई मुक्ति मिलेको छ । हामीले शौचालय र शूचितालाई महत्त्व दिनुपर्दछ ।’
प्रिय विद्यार्थी भाइबहिनी, हाम्रा लागि सरसफाइको निकै ठुलो महत्त्व छ । सरसफाइका बारेमा विभिन्न व्यक्तिले भनेका केही प्रतिनिधि विचारहरू हामीले सुन्यौँ । यी सबै विचारहरूले सरसफाइको महत्त्व बयान गरेका छन् । जीवनमा धेरै कुरा सिक्न बाँकी रहे पनि आफू सधैँ सफा रहनुपर्दछ, शुद्ध र पवित्र रहनुपर्दछ भन्ने मात्र सिकियो भने पनि निकै महत्त्वपूर्ण हुन्छ । यस्तो भावना राख्ने व्यक्तिले आफ्नो व्यक्तिगत सरसफाइ त गर्दछ नै, आफू वरपर पनि सफा र स्वच्छ राख्ने प्रयास गर्दछ ।
विद्यार्थी सबैभन्दा पहिले सफा र शुद्ध हुनुपर्दछ । जहाँ सरसफाइ छ त्यहाँको वातावरण त्यसै रमाइलो हुन्छ । हामी नदीका किनारहरूमा जान मन पराउँछौँ, हिमाल घुम्न मन पराउँछौँ । पार्कहरूमा बसेर रमाउन मन पराउँछौँ । यी सबै ठाउँमा सरसफाइ कायम भएको हुन्छ । जब ती सफा र स्वच्छ ठाउँ देख्छौँ, हाम्रो मन पनि गद्गद हुन्छ । आनन्दको दिव्यतम अनुभूति हुन्छ, हामीलाई ।
यदि घर वरपर फोहोर छ, पानी जमेको छ, लामखुट्टे र माखाको नाच चलिरहेको छ, कागजका टुक्रा टुक्री फ्याँकिएको छ । त्यस्तो ठाउँमा बस्दा पनि पीडा हुन्छ, देख्दा पनि हृदयमा आनन्द आउँदैन । कतिखेर यो ठाउँबाट मुक्त होऊँ भन्ने लाग्दछ । यसैले, सरसफाइ हाम्रो पहिलो आवश्यकता हो भन्ने प्रमाणित हुन्छ ।
सरसफाइ बाहिरको फोहोरको व्यवस्थापन गर्नु मात्रै होइन । यसका अनेक प्रकारका आयामहरू छन् । हामी जहाँ बस्छौँ, जहाँ काम गर्दछौँ अथवा जेजस्ता विषयको उपयोग गर्दछौँ, ती सबैलाई सफा राख्नु, स्वच्छ र पवित्र राख्नु हाम्रो कर्तव्य हो ।
आफू र आफ्नो वातावरणलाई सफा र पवित्र राख्नुको लाभ अर्काले पाउँछन् भन्ने होइन, सबैभन्दा पहिले हामीले पाउँछौँ भन्ने हो । हाम्रो घरमा हामी बस्ने हो, त्यसैले घर सफा हुँदा हामीलाई पहिलो फाइदा भयो । त्यसपछि हाम्रो घरमा कहिलेकाहीँ आउने पाहुनालाई फाइदा हुन्छ ।
जसरी नाकभरि सिँगान लिएको, मैला कपडा लगाएको, नुहाई धुवाइ नगरेको, हेर्दै कालो मैलो देखिने मान्छे हामीलाई मन पर्दैन । हामी पनि त्यस्तै भयौँ भने अरूलाई पनि मन पर्दैन भन्ने कुरालाई प्रत्येकले ध्यान दिनुपर्ने हुन्छ । अझ विद्यार्थी भनेका त झन् भोलिको भविष्य हातमा लिएर बसेको मानिस हुन् । आज सरसफाइ गर्न हुँदैन, जस्तो भए पनि चल्छ अथवा फोहर नै ठिक छ भन्ने विद्यार्थी भोलिका दिनमा गएर रोगी, दुःखी र पीडित भएर सकिन्छ ।
विद्यार्थीले कसरी सरसफाइमा ध्यान दिने ? सरसफाइ कायम गर्न विद्यार्थीले कसरी भूमिका निर्वाह गर्न सक्छन् ? समग्रमा कसरी एउटा सफा, सुग्घर र स्मार्ट विद्यार्थी बन्न सकिन्छ ? आउनुस्, यिनै प्रश्नका उत्तर खोज्ने प्रयास गरौँ ।
१. व्यक्तिगत सरसफाइ
विद्यार्थीले आफ्नो व्यक्तिगत सरसफाइलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ । व्यक्तिगत सरसफाइ नै व्यक्तिलाई स्मार्ट बनाउने माध्यम हो । व्यक्तिको बाहिरी व्यक्तित्व नै बाहिरका मानिसको मूल्याङ्कनको कसी हो । तपाईँले लगाउनुभएको कपडा, कोर्नुभएको कपाल, गर्नुभएको शृङ्गारलाई सबैले ध्यान दिने भएका हुनाले आफूलाई सोहीअनुसार तयार पार्नुपर्दछ । दैनिक स्नान गर्ने बानीले हाम्रो व्यक्तिगत सफाइलाई कायम राख्दछ । हातका नङ काट्ने, कपाललाई विद्यालयले तोकेको मापदण्डका आधारमा काँटछाँट गर्ने, दैनिक दाँत माझ्ने, सफा र स्वच्छ कपडा लगाउने विद्यार्थीको व्यक्तिगत स्वच्छता बलियो भएर जान्छ । बाहिर हेर्दा पनि विद्यार्थी आकर्षक देखिन्छ । आकर्षक विद्यार्थीलाई सबैले माया र स्नेह गर्दछन् । तपाईँले बाहिर गर्ने सफाइको प्रभाव हाम्रो आन्तरिक जीवनमा पनि पर्दछ ।
२. आन्तरिक सरसफाइ
तपाईँले बाहिरको शरीर सफा गर्ने कुरामा जति ध्यान पुर्याउनु हुन्छ, उति नै ध्यान आन्तरिक सफाइमा पनि पुर्याउनुपर्ने हुन्छ । दैनिक रूपमा हामीले खाएको खाना केही समयपछि मलमा परिणत हुन्छ । हामीले खाएको भोजनबाट शरीरलाई चाहिने रस शरीरले ग्रहण गरिसकेपछि बाँकी रहेको पदार्थलाई मल भनेर भनिन्छ, जसलाई छिटोभन्दा छिटो शरीरबाट बाहिर निकाल्न जरुरी छ । मल जति लामो समयसम्म शरीरभित्र बस्छ उति नै यसले विभिन्न प्रकारका रोगहरू निम्त्याउँछ । असल विद्यार्थीले कहिल्यै पनि शरीरभित्र सडेको मल लिएर लामो समय बस्दैन । मल मात्रै होइन, मूत्र पनि छिटोभन्दा छिटो निष्कासन गर्नुपर्दछ । जब शरीरभित्रको मलमूत्र समयमै विसर्जन गर्ने विद्यार्थीको आन्तरिक सफाइ अत्यन्त राम्रो हुन्छ । यसका लागि रेसादार फलफूल, तरकारी, खाद्यान्नमा जोड दिनुपर्ने हुन्छ ।
३. सफा घर आँगन
हामी बस्ने घर सफा, स्वच्छ र सुन्दर हुनुपर्दछ । स्वच्छ वातावरणमा मन र मस्तिष्क पनि प्रसन्न र आनन्दित हुन पुग्दछ । घरको वरपर रहेका झारपात गोड्ने, गमलामा फुलेका फूलको रेखदेख गर्ने, आँगनमा भएका धुलो मैलो सफा गर्ने गर्नुपर्दछ । घरलाई विभिन्न तरिकाले सफा, स्वच्छ र सुन्दर राख्न सकिन्छ । घरमा राम्रा–राम्रा फूल—तुलसीजस्ता बिरुवा रोपेर हराभरा बनाउन सकिन्छ । राम्रो रङ रोगन गरेर पनि चिटिक्क पार्न सकिन्छ । घरमा अनावश्यक सर सामग्रीलाई एउटा छुट्टै ठाउँमा स्टोर बनाएर राख्न सकिन्छ । घरको सरसफाइ प्रायः घरकी आमाले अथवा बूढा बाबाले गर्ने गरेको देखिन्छ । आफूचाहिँ स्मार्ट बन्ने तर आफू बस्ने घर आँगनलाई अव्यवस्थित राख्ने विद्यार्थीको कहिल्यै उन्नति हुँदैन । तसर्थ, घर वरपरको वातावरणलाई सुन्दर तुल्याउनु पनि विद्यार्थीको दायित्व हो ।
४. आफ्नो कोठाको सरसफाइ
हामी जुन कोठामा बस्छौँ, पढ्छौँ, सुत्छौँ अथवा आराम गर्दछौँ, त्यस कोठाको सजावट गर्नु पनि विद्यार्थीको दायित्व हो । कोठाको ओछ्यान आमा आएर मिलाइदिनुपर्ने, किताब कापी अर्कैले मिलाइदिनुपर्ने, सरसामानलाई ठिक ठाउँमा राखिदिनुपर्ने विद्यार्थीको भविष्य कस्तो होला ? के तपाईँले आफ्नो कोठाको सरसफाइ आफैँ गर्नुभएको छ ? यदि गर्नुभएको छ भने धन्यवाद ! गर्नुभएको छैन भने अब गर्नुस् । बिहान उठ्नासाथ ओछ्यानका कपडा राम्ररी मिलाएर राख्नुस् । आफूले लगाउने कपडा चिटिक्क पारेर ह्याङ्गर अथवा दराज, कता राख्ने हो उतै राख्नुस् । किताबहरू टेबलमा मिलाएर राख्नुस् । दैनिक कुचोले कसिङ्गर निकाल्नुस् । सफा कोठा देख्नासाथ हाम्रो मन पनि सफा हुन्छ, खुसी हुन्छ । खुसी हुन ठुलो कुरा गर्नै पर्दैन नि । यस्तै साना–साना कुराबाट नै खुसी हुँदै जाने हो ।
५. डस्टबिनमा मात्रै फोहर
कति विद्यार्थीको बानी जहाँ पायो उहीँ दिसा पिसाब गर्ने, थुक्ने, फोहोर फ्याँक्ने खालको हुन्छ । राम्रो बानी सिक्न विद्यालय जाने विद्यार्थीको यस्तो बानी भयो भने के होला ? यो धरती, यो संसार र यो वातावरण हामी मानिसकै कारणले दूषित भएको छ, फोहोर भएको छ । यो फोहोरलाई हटाउने हामी मानिसले नै हो । हामीले सफा गर्दागर्दै पनि फोहोर हुन्छ, तर फोहोरसित रिसाउने होइन । विकसित देशमा फोहोरलाई पनि ‘मोहर’ अर्थात् पैसा मान्दछन् । फोहोरलाई पुनः प्रयोग गरिन्छ । तसर्थ, हामी विद्यार्थीले पनि फोहोरलाई त्यसरी प्रयोग गर्न मिल्ने गरी राखिएका डस्टबिनमा मात्रै फ्याँक्नुपर्दछ । घरका प्रत्येक कोठामा र आँगनमा, भान्सामा अथवा जतातता आवश्यक पर्दछ उतै उतै डस्टबिन राखेर फोहोरलाई फाल्ने काम गरियो भने राम्रो हुन्छ । घरमा मात्रै होइन, बाहिर निस्कनासाथ कुनै होटेलमा गइयो र खाना खाइयो । फोहोर फाल्नुपर्यो भने निर्धारित ठाउँमा अथवा डस्टबिनमा मात्रै फोहोर फ्याँक्ने बानी गर्नुपर्दछ । हस्पिटलमा जाँदा अथवा विद्यालयमा जाँदा होस्, आफूले जहिले पनि डस्टबिनकै प्रयोग गर्छु भन्ने सङ्कल्प गर्नुपर्दछ । विद्यालयमा जताततै कागजै कागज, काठका टुक्रा, चकलेटका खोल असरल्ल फ्याँकिएको राम्रो हुँदैन । विद्यालयको वातावरणलाई सुन्दर राख्न कक्षामा, चौरमा अथवा क्यान्टिन आदि जतातता फोहोर फाल्ने भाँडो अथवा डस्टबिन राखिएको छ त्यहीँ मात्रै फोहोर फालौँ । यसले पनि विद्यार्थीको असल संस्कारको परिचय दिन्छ ।
६. शौचालय र स्नान घरको सरसफाइ
हामीले माथि पढेका थियौँ— ‘मन्दिरभन्दा शौचालयहरू धेरै महत्त्वपूर्ण छन् । थाहा छैन, मन्दिर गएर हामी कतिलाई मुक्ति मिलेको छ । हामीले शौचालय र शूचितालाई मह¤व दिनुपर्दछ ।’ यो जइ राम रमेश भन्ने व्यक्तिको विचार हो । उनको यो विचारले शौचालयको सफाइ कति महत्त्वपूर्ण हुँदो रहेछ भनेर झकझक्याउँछ । शौचालय आफैँमा फोहोर हुने ठाउँ हो । त्यस्तो ठाउँलाई चिटिक्क पारिएन भने झन् कति फोहोर होला ? घरमा छोराछोरी छन्, शौचालय जान्छन् तर पानी हाल्दैनन्, सफा गर्दैनन् भने ती छोराछोरीको कुनै अर्थ छ ? घरको शौचालय के घरकी आमाले मात्रै सफा गर्ने हो ? अथवा ठूला मान्छेले मात्रै सफा गर्ने हो ? आफूले फोहोर गर्ने, तर सफा अर्कैले गरे हुन्थ्यो भनेर सोच्ने ? यस्तो कहिल्यै गर्नुहुँदैन । कतिपयले शौचालय सफा गर्नुलाई अत्यन्त निकृष्ट काम ठान्दछन् । ती मान्छेले ‘मैले पनि ट्वाइलेटमा भएर दूषित मल फाल्ने निकृष्ट काम गर्छु’ भन्ने किन बिर्सन्छन् ? यदि दिसा पिसाब गर्ने काम निकृष्ट हो भने हामी सबै निकृष्ट भयौँ नि, होइन र ? चाहे विद्यालयमा होस्, चाहे घरमा होस्, चाहे बाहिर होस्, जहाँ गए पनि यदि हामी शौचालय गएका छौँ भने त्यो शौचालयलाई सफा गरेर छोड्नु हाम्रो कर्तव्य हो ।
घरको शौचालय सफा गर्ने काम त झन् हाम्रो कर्तव्य हो । विद्यालय हामी सबैको सम्पत्ति हो । विद्यालयका शौचालयहरू पनि हामी सबैले प्रयोग गर्ने भएपछि हामी सबै मिलेर तिनलाई सफा गर्ने गर्नुपर्दछ । हामी शौचालयमा अर्थात् ट्वाइलेटमा २ मिनेट, पाँच मिनेट जति समय बस्छौँ, त्यति समय सफा ठाउँमा बस्न पाउनुपर्दछ । यदि ट्वाइलेट सफा छैन भने विभिन्न प्रकारका कीटाणु हावामार्फत हामीभित्र प्रवेश गर्ने खतरा हुन्छ । तसर्थ, शौचालयलाई सफा गर्नुपर्दछ भन्ने विचार असल विद्यार्थीमा सधैँ रहेको हुन्छ ।
शौचालयसँगै हामीले दैनिक स्नान गर्ने र कपडा धुने ठाउँलाई पनि सफा राख्नुपर्दछ । त्यहाँ फोहोर भयो भने हामीले नुहाउँदा अथवा कपडा धुँदा लामखुट्टे आउने, गन्हाउने अथवा कपडा धुन नमिल्ने अवस्था पनि आउन सक्छ । तसर्थ, राम्रो स्नान घर छ भने हामीले हाम्रो फोहोरलाई पनि आरामले सफा गर्न सक्दछौँ ।
७. किताब कापी, झोला र टिफिनको सफाइ
असल विद्यार्थीले प्रयोग गर्ने किताब एक वर्षपछि पनि पुराना हुँदैनन् । यसको अर्थ उनीहरूले नपढीकन झोलामा जस्ताको त्यस्तै राख्छन् भनेको होइन । असल विद्यार्थीले किताब र कापीको राम्रोसित जतन गर्दछन् भनेको हो । उनीहरूले किताबमा जहाँ पायो त्यहीँ केरमेट गर्ने, च्यात्ने, झोला बिगार्ने काम कहिल्यै गर्दैनन् । सबै किताब पढ्छन्, दोहोर्याएर, तेहर्याएर पढ्छन् । कापी पनि निरन्तर लेखेर उपयोगमा ल्याउँछन् । तर, कुनै किताब च्यात्दैनन् । कापी किताबलाई धेरै माया गर्दछन् । उनीहरूको लभ कुनै केटा वा केटीसित भन्दा धेरै कापी र किताबसित पर्दछ । सफा किताब र कापी देखेपछि विद्यार्थीको मन पनि प्रसन्न हुन्छ ।
किताब कापी मात्रै हो र ? झोलाको जतन पनि राम्रोसित गर्दछन् । आफूले खाजा लिएर जाने, खाजाको बाकस जसलाई टिफिन बक्स भनेर पनि भनिन्छ त्यसलाई खाजा खाएपछि राम्ररी साबुन पानीले माझेर अथवा सफा गरेर झोलामा राख्ने काम असल विद्यार्थीले सधैँ गर्दछन् । हेर्नुस्, यदि तपाईँले आफ्नो कापी किताब, झोला, टिफिन आदिको राम्रो हेरचाह गर्नुभएको छ, तिनलाई फोहोर नबनाई सफा र स्वच्छ राख्नुभएको छ भने तपाईँ असल विद्यार्थी हो ।
८. सार्वजनिक सफाइ अभियानमा सहभागिता
हामीले व्यक्तिगत रूपमा घरलाई सफा राखे पनि, आँगनलाई सफा राखे पनि आफूलाई स्वच्छ र सफा राखे पनि अथवा विद्यालयलाई सफा राखे पनि हाम्रो छिमेकमा अथवा टोलमा र गाउँघरमा अथवा भनौँ मठमन्दिर, पाटी पौवाजस्ता सार्वजनिक ठाउँमा जताततै फोहरहरू फ्याँकिएका हुन्छन् । झारपातहरू बढेर जङ्गल भएको हुन सक्छ । ‘सार्वजनिक ठाउँ त हो नि’ भनेर फ्याँकिएका फोहोरहरू यत्रतत्र छरिएका हुन सक्छन् । त्यस्तो अवस्थामा विद्यार्थीले विद्यालयका साथीहरू सबै मिलेर त्यस्ता सार्वजनिक ठाउँका सरसफाइ गर्नुपर्दछ । यो एउटा समाजसेवा पनि हो । हाम्रो घर अथवा हाम्रो विद्यालय जुन ठाउँमा छ अथवा जुन गाउँमा छ त्यसलाई सफा र स्वच्छ राख्ने काम पनि हाम्रै हो । हाम्रो टोलमा फोहोर गन्हायो भने त्यसको दुर्गन्ध त हाम्रो घरसम्म पनि आउँछ नि । सबै मिलेर सफा गर्यौँ भने सबैका लागि राम्रो हुन्छ । असल विद्यार्थीले आफूलाई, आफ्नो घरलाई र आफ्नो विद्यालयलाई मात्रै सफा राख्ने होइन, टोल, सहर, गाउँ र सार्वजनिक स्थलहरू पनि स्वच्छ र पवित्र राख्नुपर्दछ भन्ने सोचेको हुन्छ । के तपाईँ पनि यसरी नै सोच्नुहुन्छ त ? सोच्नुहुन्छ भने अति सुन्दर । छैन भने यस्ता सफाइ अर्थात् स्यानिटेसन कार्यक्रममा सहभागी हुन थाल्नुस् ।
९. सफा र स्वस्थ आहार विहार
असल विद्यार्थीले आफूले खाने खानामा पनि अत्यन्तै सचेतना अपनाउने गर्दछन् । उनलाई थाहा छ : फोहोर, दुर्गन्धित, बासी र सडे गलेका खाना, खाजा अथवा नास्ता खाइयो भने जति नै सुकै राम्रो कपडा लगाए पनि र जति नै सुकै राम्रो घरमा बसे पनि हामीलाई रोग लाग्नबाट कसैले रोक्न सक्दैन । आजभोलि धेरै विद्यार्थी सार्वजनिक ठाउँमा उभिएर पानी पुरी, चटपट, मम, चाउमिन खाँदै गरेका अनेक दृश्य देखिन्छन् । हावाले उडाएर ल्याएको धुलो, धुवाँ, मैलो र कीटाणुहरू ती खाने कुरामा पर्छन् र दूषित खानेकुरा पेटमा पुगेर स्वास्थ्यमा नोक्सान पुर्याउँछु भनेर सामान्य विचार पनि गर्न नसक्ने विद्यार्थीलाई कसरी असल विद्यार्थी भन्न सकिन्छ ? असल विद्यार्थीले खाने कुरा जहाँ पायो त्यहीँ, जसले दियो उसैले दिएको खाँदैनन् । उनीहरू पहिला त्यो आहारको गुणस्तर विचार गर्दछन् र सफा, सुग्घर, हाइजनिक र स्वास्थ्यका लागि लाभदायक छ भने मात्रै प्रयोग गर्दछन् ।
आहारपछि विहारको कुरा आउँछ । विहार भनेको घुमफिर हो । घुमफिर गर्दा पनि हामीले हावाका माध्यमले धेरै प्रकारका कुरा श्वासप्रश्वासका माध्यमले ग्रहण गर्ने भएका हुनाले सफा ठाउँमा मात्रै हिँड्ने, प्रातः भ्रमण गर्दा अथवा सन्ध्या भ्रमण गर्दा सफा, स्वच्छ र सुन्दर स्थानमा मात्रै गर्ने गर्नुपर्दछ । असल विद्यार्थीले सफा आहार र विहारमा पनि उत्तिकै विचार गर्दछन् ।
प्रिय भाइबहिनी, तपाईँ सिकारु हुनुहुन्छ । यसर्थ, सरसफाइको संस्कारलाई जसरी पनि सिक्नुहोला । जोसित सरसफाइ अर्थात् शूचिताको संस्कार छ, उसको शरीर मात्रै होइन मन, बचन र कर्म सबै सफा, सुन्दर र स्वच्छ हुन्छन् । आशा छ, तपाईँले यी पङ्क्तिहरू पढिरहनुभएको छ भने सधैँ सफा, स्वच्छ र आकर्षक बन्नका लागि सक्दो प्रयास गर्नुहुने छ । तपाईँ सधैँ स्वच्छ हुनुस्, पवित्र हुनुस्, तपाईँको विचार सधैँ सुन्दर र पवित्र होस् । धेरै धेरै शुभकामना !
(लेखक वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ ।)